गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय

काठमाडौं । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको चैत १४ गते बसेको बैठकले उपाध्यायलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ गोविन्द प्रसाद ढकालको कार्यकाल चैत ३० गते सकिँदैछ । त्यसैले २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी उपाध्यायलाई बैंकको सीईओमा नियुक्त गरेको कम्पनी सचिव अनिल रेग्मीले जानकारी दिए । उनका अनुसार उपाध्यायलाई आगामी ४ वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको हो । हाल उपाध्याय नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर काम गरिरहेका छन् । स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरेका उपाध्यायसँग १५ वर्षको अध्यापन/प्रध्यापक अनुभव छ । उनले बैंकमा हुँदा कम्पनी सचिव, शाखा प्रमुख, प्रशासन प्रमुख तथा क्रेडिट रिकभरी समितिको संयोजक भएर काम गरेका छन् ।

शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित

काठमाडौं । शिखर इन्स्योरेन्सको सञ्चालकमा चार जना निर्वाचित भएका छन् । हालै सम्पन्न कम्पनीको १९औं वार्षिक साधारण सभाबाट चार जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । जसमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.ब. राणा रहेका छन् । उनीहरु आगामी चार वर्षको कार्यकालको लागि निर्वाचित भएका हुन् ।

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाडौं । सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोककुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको उक्त पद रिक्त रहेको थियो ।