एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो । त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए । सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गरे । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा पन्त चयन

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कमलादेवी पन्त सर्वसम्मत रुपमा निर्वाचित भएकी छिन् । समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले सांसद पन्तलाई सभापतिमा चयन गरेको हो । नवनिर्वाचित सभापति पन्तलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराए । उनले नवनिर्वाचित सभापति पन्तलाई बधाई तथा शुभकामनासमेत दिए। राष्ट्रियसभा नियमावलीअनुसार समितिको सभापति पदमा निर्वाचित सदस्यले राष्ट्रियसभाका अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ । नवनिर्वाचित सभापति पन्तले शपथ लगत्तै पद बहाली गरिन् । समितिको सभापतिको कार्यकाल दुई वर्षको हुन्छ । सो अवसरमा सभापति पन्तले समितिको कार्यक्षेत्रबमोजिम सुशासन कायम गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् । उनले दिगो विकासका लक्ष्य हासिल गर्न आर्थिक सबलीकरण, जलवायु परिवर्तनको जोखिम न्यूनीकरणलगायत महत्वपूर्ण विषयलाई प्रभावकारी रुपमा उठाउने बताइन् । सभापति पन्तले समितिको कार्यक्षेत्रसँग जोडिएका विषयलाई ‘टिमवर्क’ (समूहमा मिलेर गरिने काम) मार्फत प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई समितिकातर्फबाट सहजीकरण गर्ने बताइन्यो । भ्रष्टाचार न्यूनीकरण नभएसम्म सुशासन प्रवर्द्धन नहुने भन्दै उनले त्यसतर्फ समिति क्रियाशील रहने बताइन् ।

एनडीपीसीको अध्यक्षमा झबिन्द्रलाल उपाध्याय नियुक्त

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) को अध्यक्षमा झबिन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गते बसेको ६३औं बोर्ड बैठकले उपाध्यायलाई एनडीपीसीको अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्षले गत फागुन ३० गते नै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन् । शपथ लिँदै अध्यक्ष उपाध्यायले वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको पहलहरूले आफू उत्साहित भएको बताए । ‘नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र यूएसएसडी (अफलाइन) मोड जस्ता सुविधाहरूद्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरूले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ। हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोगद्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं ।’ उनले भने । नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्न यस वालेट सेवाको उद्देश्य रहेको छ ।