खुला प्रतिस्पर्धाबाट बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरिने, ७ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । खुला प्रतिस्पर्धाबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति गरिने भएको छ । बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको हो । प्राधिकरणको अध्यक्षका लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन भने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा बुझाउनुपर्ने सिफारिस समितिले जनाएको छ । सिफारिस समितिका अनुसार बीमा ऐन, २०७९ को दफा ६ को उपदफा (१) (क) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन पाउने छन् । यस्तै, उच्च नैतिक चरित्र भएको, बीमा ऐनको दफा ८ को उपदफा (३) बमोजिम अयोग्य नभएको, ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यक्ति आवेदन दिन पाउनेछ । आवेदन दिँदा दस्तुर बापत ७ हजार ५ सय रुपैयाँ भौचर बुझाउनुपर्नेछ । अध्यक्षले पाउने मासिक पारिश्रमिक, भत्ता, सुविधा तथा सेवाका अन्य सर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनोटका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । प्राधिकरणको अध्यक्ष सिफारिस समितिको सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन् ।
नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा, कोषाध्यक्षमा समान मत
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुल बहादुर गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ३४२ मत र गुरुङले २८८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन् । त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहुलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको जिम्मेवारी प्रदान गरेको छ । संस्था सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि कार्यरत प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा समाप्त भएको थियो । लघुवित्तले साहुको नेतृत्वमा संस्थाको कार्य सञ्चालन निरन्तर गतिशील र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।