१ लाख ३३ हजार निर्वाचन प्रहरीका लागि आवेदन खुल्यो, के-के चाहिन्छ योग्यता ?
काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन (म्यादी) प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले बिहीबार सूचना जारी गर्दै निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ । निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ ।
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार र रजिस्ट्रारमा खेमराज नियुक्त
काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका छन् । उपकुलपति नियुक्तिका लागि मापदण्ड कडा भएकाले उम्मेदवारी नपरेको भन्दै पहिलो पटक सूचना जारी गर्दा आवेदन नपरेपछि पुनः दरखास्त आह्वान गरिएको थियो । दोस्रो पटक सूचना जारी गर्दा पनि उम्मेदवारी नपरेपछि तेस्रो पटक सूचना प्रकाशित गरिएको थियो । तेस्रो पटकको सूचनामा दुई जनाको मात्र नामावली दर्ता भएको थियो । तीमध्ये एक जनाको योग्यता मापदण्डअनुसार नपुगेकाले उपकुलपति पदमा प्रा.डा. सुनिलकुमार जोशी नियुक्त भएका हुन् । यस्तै, सोही विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त भएका छन् । रजिस्ट्रार पदका लागि भने १० जनाको आवेदन परेको थियो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको विश्वविद्यालयको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति र डा. जोशीलाई रजिस्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । उपकुलपतिमा नियुक्त जोशी काठमाडौं मेडिकल कलेजमा कम्युनिटी मेडिसिन विषयका प्राध्यापक हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ असार ४ गते प्रमाणीकरण गरेसँगै उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।
एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका खतिवडा चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिस्ट (सीएचई) हुन् । उनी पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक–निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा बढी व्यावसायिक अनुभव भएका वित्त तथा व्यवस्थापन विज्ञका रूपमा परिचित छन् । खतिवडाले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, विद्युत नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को वित्तीय विश्लेषक तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायत विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेका छन् । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएको अवसरमा बैंक परिवारले खतिवडालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हार्दिक स्वागत तथा बधाई ज्ञापन गरेको छ ।