ऋतु प्रधान मल्ल एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा नियुक्त

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन् । मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त लगायतका क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर्नेछिन् । कम्पनीका अनुसार उनले ईएसजी (पर्यावरण, सामाजिक र शासन) एकीकृत लगानी ढाँचाको विस्तार र पोर्टफोलियो निगरानीमा महत्वपूर्ण भूमिका निभाउनेछिन् । क्लाइमेट फाइनान्स, प्राइभेट इक्विटी र उद्यम विकासको क्षेत्रमा १४ वर्षभन्दा बढी अनुभव संगालेकी मल्लले यसअघि बिजनेस अक्सिजन, क्रस बाउन्ड्री एडभाइजरी र यूएसएआईडी अन्तर्गतका परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् । उनले हाल घामपावरको स्वतन्त्र सञ्चालक र इम्प्याक्ट हब काठमाडौंको सल्लाहकार बोर्ड सदस्यको रूपमा पनि काम गरिरहेकी छिन् । एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्त बहादुर पाँडेले मल्लको अनुभवले कम्पनीको लगानी रणनीति र नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।  ऋतु प्रधान मल्लले भनिन्, 'नेपालको पुँजी बजार तीव्र रूपमा विकास हुँदै गर्दा म एनआईबिएल इक्विटी पार्टनर्समा सामेल हुन पाउँदा सम्मानित अनुभव गरिरहेकी छु । कम्पनीमा योगदान पुर्‍याउन र नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्यायको विकासमा सहयोग गर्न तत्पर छु ।'

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा अनिल जोशी नियुक्त

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी तोकेको छ । कम्पनीका अनुसार मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । पूर्व प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेको दोस्रो कार्यकाल मंसिर २२ गतेदेखि सकिएको छ । अर्को व्यवस्था नहुँदासम्म वा अधिकतम ३ महिनासम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत अनिल जोशीलाई सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । निर्णय अनुसार जोशीको कायम मुकायम सीईओको कार्यभार मंसिर २३ गतेदेखि लागू हुनेछ ।  

सिटिजन लाइफको सीईओमा पौडेल पुनः नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल पुनः नियुक्त भएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी पौडेललाई पुनः नियुक्त गरिएको हो ।  पौडेलको दोस्रो कार्यकाल यही पुस मसान्तबाट सकिँदैछ । उनी सिटिजन्स लाइफमा २०७४ सालमा सीईओमा नियुक्त भएका थिए। पौडेलले आफ्नो नेतृत्वमा कम्पनीलाई अब्बल संस्था बनाउन विशेष भूमिका निर्वाह गरेका छन् ।