विशाल बिल्डिङ, कंक्रिटको काठमाडौं (फोटोफिचर)

काठमाडौं । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीब्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा विकास भएको देखिन्छ । अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौँ मानिसको बसोबास पनि भइरहेको देखिन्छ । पूरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ । पूरानो काठमाडौंको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं सहरलाई कंक्रिटको सहर भनिएको होइन । पूरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो । तर, अहिले कंक्रिटको पहाड बनेको छ । तस्बिर न्यूज एजेन्सी नेपाल  

नेप्से प्राङ्गणमा १२ सय किलोको ‘बुल’ निर्माण हुँदै, फोटो फिचर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको प्राङ्गणमा बुलको संकेत जनाउने साँढेको प्रतिमा तयार हुँदैछ । सेयर बजारमा बुल अर्थात् बढेको बजारलाई साँढेले र बियर अर्थात् घटेको  बजारलाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्राङ्गणमा बन्ने भएको हो । उक्त बुल ८ फिटको उचाइ र १२ फिटको लम्बाई भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । उनका अनुसार बुल ६ सय केजीको बन्नेछ । ‘यसको उचाइ ८ फिट र लम्बाई १२ फिट हो,’ उनी भन्छन्, ‘६ सय केजीको बनाउने भनिएको हो तर काम गर्दै जाँदा दोब्बर अर्थात् १२ सय केजीसम्मको बन्ने जानकारी कालिगढहरूले हामीलाई दिएका छन् ।’ पराजुलीले उक्त प्रतिमा दशैं अगाडि नै निर्माण सक्ने गरी काम भइरहेको बताएका छन् । उक्त बुल धलोट (पहेलो देखिने धातु) बाट निर्माण भइरहेको उनले बताए । उनका अनुसार हाल सो बुल ललितपुरका कालिगढले निर्माण गरिरहेका छन् । बुल निर्माण मात्रै छुट्टै ‘प्रोजेक्ट’ नभएको उनी बताउँछन् । बुल निर्माण नेप्सेको पुरानो भवन भत्काउन, गाडेर्न बनाउन, नेप्सेको गेट बनाउन, नेप्से सप्लाई हुने बत्तीको काम लगायतका सबै काम एउटै प्रोजेक्ट रहेको उनले बताए । उनका अनुसार सो प्रोजेक्ट १ करोड ४८ लाखमा ठेक्का लागेको हो । बुल निर्माण पनि सोहीअन्तर्गत रहको पराजुलीले जानकारी दिए । बुल निर्माण गरिरहेका कालिगढका अनुसार भने ७० प्रतिशत काम सम्पन्न भएको छ । दशैं अघिसम्म नै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको कालिगढले पनि बताएका छन् । ‘साँढेको माथिल्लो भाग जोड्न बाँकी छ’, कालिगढले भने, ‘पूरै साँढेको पिस जोडिएपछि त्यसलाई सफा गरेर पोलिस गरिन्छ र त्यसपछि फिनिसिङ गरेपछि मात्रै बल्ल काम पूरा हुन्छ ।’ काम अगाडि नै सकिनु पर्ने भए पनि बुल बनाउने काम निकै कठिन भएकाले त्यो काम पूरा हुन केही समय लागेको नेप्सेका प्रवक्ता पराजुलीले बताएका छन् ।

यस्ताे छ नाडा अटो शोको तयारी (फोटो फिचर)

काठमाडौं । भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोका लागि आयोजक टिमले तीव्र रूपमा तयारी सुरु गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसनले प्रदर्शनीस्थलमा स्टल बनाउने काम ७० प्रतिशतभन्दा बढी सकिएको बताएको छ । भोलिसम्म अटो शोका लागि सम्पूर्ण तयारी पूरा भइसक्ने आयोजकले जनाएको छ । यस पटकको अटो शोमा चारपांग्रे २४, दुईपांग्रे १९ र हल्का व्यावसायिक सवारी साधनका १२ गरी ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिनेछन् । गाडी विक्रेता बाहेक लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरणका स्टल पनि राखिनेछन् । अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाले पनि सहभागिता जनाउने नाडाले जनाएको छ । तस्बिरहरू ः साैगात पुडासैनी