माईतीघरमा जेनजी पुस्ताको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धकाे विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । देशमा बढ्दै भएको बेथिती, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धकाे विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो ।  काठमाडौंको माईतीघर मण्डलामा भेला भइ उनीहरुले यतिबेला प्रदर्शन गरिरहेका छन् । भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ छ । जेन–जीले प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरेको छ । यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई नेपालको भविष्यका लागि भएको उनीहरुको दाबी छ ।  

साल्ट ट्रेडिङको ६३औं वार्षिकोत्सवको अवसरमा खुला रक्तदान कार्यक्रम (तस्बिरसहित)

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ६३औं वार्षिकोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । मिर्गौला रोग समाजको सहयोगका लागि कम्पनीले विगतका वर्ष झैं यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो । आज कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौंको कालीमाटीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए ।  उनका अनुसार आज ७३ जनाले रक्तदान गरेका थिए । उनका अनुसार नेपालको रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा मृगौला रोग समाजको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कम्पनीले वार्षिकोत्सव तथा विभिन्न अवसरमा सामाजिक कार्य गर्दै आइरहेको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

पोर्चुगलमा स्याउ स्याउ टिप्न व्यस्त नेपाली (फोटोफिचर)

काठमाडौं । पोर्चुगलको स्याउ खेतीको इतिहास निकै लामो र समृद्ध मानिन्छ । विशेष गरी मिन्हो, ट्रास–ओस–मोंन्तेस र रिबाटेजो ई ओएस्टे क्षेत्रहरूमा स्याउ खेतीको पुरानो परम्परा पाइन्छ । यी क्षेत्रहरूको अनुकुल जलवायु र माटोले स्याउ उत्पादनलाई मजबुत बनाउँदै आएको छ । ऐतिहासिक विवरणअनुसार पोर्चुगलमा स्याउ खेती १२ औं शताब्दीको मध्यतिर शुरू भएको हो ।  अल्कोबासा क्षेत्रमा सिस्टरियन भिक्षुहरूले मठीय कृषि अभ्यासको रूपमा स्याउका बोट रोपेका थिए । त्यसै अभ्यासलाई आधार बनाउँदै स्याउ खेती विस्तार हुँदै देशको कृषि परम्परामा गहिरो रूपमा स्थापित भयो । सन् १९६० को दशकमा भने स्याउ खेतीमा औद्योगिकीकरण शुरू भएपछि उत्पादन मात्र नभई गुणस्तरमा पनि उल्लेखनीय सुधार आएको थियो । सन् २०२३ मा पोर्चुगलले करिब २९२.२३ मिलियन किलोग्राम स्याउ उत्पादन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा अलिकति वृद्धि हो । रिबाटेजो ई ओएस्टे क्षेत्रले कुल उत्पादनको करिव ४० प्रतिशत योगदान दिएको छ भने ट्रास–ओस–मोन्तेसले ३० प्रतिशत, बीरा लिटोरलले १३ प्रतिशत र बीरा इन्टेरियोले १२ प्रतिशतको योगदान दिएका छन्। स्याउ मुख्यतया अक्टोबरदेखि डिसेम्बरसम्म फल्छ, जस समयमा बजारमा ताजा स्याउ आपूर्ति हुने गर्दछ र किसानहरूले भण्डारण तथा निर्यातका लागि तयारी गर्छन् । स्याउ खेतीले पोर्चुगलको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ ।  सन् २०२३ मा मात्रै पोर्तुगलले ७०.६९ मिलियन किलोग्राम स्याउ निर्यात गरेको छ भने ६४.७९ मिलियन किलोग्राम आयात पनि गरेको छ । यसले कृषकलाई रोजगारी सिर्जना गर्नुका साथै कृषि निर्यातमा महत्त्वपूर्ण स्थान दिलाएको छ । बजार मूल्य प्रतिकिलोग्राम एकदेखि दुई युरोसम्म हुने गरेको छ, जुन प्रजाति र गुणस्तरअनुसार फरक–फरक पर्छ । पोर्चुगलमा अहिले स्याउ टिप्न नेपालीहरु व्यस्त छन् । नेपाली र बङ्गाली कामदारसँगै पोर्चुगली किसानलाई स्याउ टिप्न भ्याई नभ्याई छ। हालैका तथ्याङ्क अनुसार पोर्चुगलको कृषि क्षेत्रमा मात्रै करिव ३० हजार नेपाली श्रमिक संलग्न रहेका छन् । उनीहरू प्रायः दक्षिणी क्षेत्रका ओडेमिरा, साओ टियोटोनियो र अल्मेइरिम जस्ता स्थानहरूमा स्याउ मात्र नभई बेरी, टमाटर, अंगुर तथा अन्य फलफूलको खेतीमा समेत व्यस्त रहेका छन् ।