दाउरा थकालीमा लागेको आगलागी नियन्त्रण (तस्बिरसहित)

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा आएको छ ।  मंगलबार (आज) पुल्चोकको इञ्जिनिरियङ क्याम्पस अगाडि रहेको दाउरा थकालीमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको ललितपुर प्रहरी परिसरका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । ‘आगलागीले थकाली पूर्ण रूपमा क्षति भएको छ । क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन, उनले भने । आठौं तलाको भवनमा रहेको दाउरा थकालीमा विद्युत सर्ट भएर आगलागी भएको मिश्रले जानकारी दिए । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)

काठमाडौं । आराध्य देव भगवान पशुपतिनाथमा अहिले दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल  बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले रौनकता बढाएको छ । महाशिवरात्रिको पूर्वसन्ध्यामा शनिबार पशुपतिनाथ मन्दिरलगायत आसपासका क्षेत्रमा देश विदेशबाट आउने साधुसन्त तथा भक्तजनको आगमनसँगै मन्दिर आसपास क्षेत्र यतिबेला निकै व्यस्त देखिएको छ । यस वर्षको महाशिवरात्रिका दिन कम्तीमा पनि ८ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको र करिब चार हजार साधुसन्तको उपस्थिति रहने अपेक्षा गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले जानकारी दिए । उनले भने, ‘दर्शनार्थीको अत्यधिक भीड व्यवस्थापन गर्न हामीले चारवटा छुट्टा छुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाएका छौँ । सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ ।’ दर्शनार्थीको सहजताका लागि पशुपतिनाथका चारवटै ढोका खोलिएकाे पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिको दिन पशुपति क्षेत्र आसपास सवारी आवागमनमा विशेष व्यवस्थापन गरिएकाे छ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसिटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको जनाइएको छ । पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदल मार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन सवारीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ । दर्शनलाई सहज बनाउन चारवटा लाइन व्यवस्थापनका साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विशिष्ट अतिथिका लागि छुट्टै व्यवस्था मिलाइएको प्रवक्ता जोशीले बताए । उनका अनुसार खानेपानी, शौचालय, विश्राम स्थल र प्राथमिक उपचार केन्द्रहरूको सङ्ख्या बढाइएको छ । स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ । कोषले स्वयंसेवक परिचालन गरी दर्शनार्थीलाई आवश्यक सूचना, सहजीकरण र मार्गनिर्देशन गर्ने व्यवस्था गरेको छ । माइकिङ प्रणालीमार्फत भीडको अवस्था र सुरक्षासम्बन्धी सूचना निरन्तर प्रसारण गरिन थालिएको छ ।  काठमाडौं जिल्ला प्रहरी परिसरले महाशिवरात्रि पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ । दर्शनार्थी तथा उनीहरूले साथमा ल्याउने सरसामानको सुरक्षाका लागि १३ बुँदे अनुरोध जारी गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषले यस वर्षको पर्वलाई व्यवस्थित, सुरक्षित र श्रद्धालु मैत्री बनाउन बहु आयामिक योजना कार्यान्वयनमा ल्याएको जनाएको छ ।  महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तका लागि अस्थायी आवास, भोजन तथा सुरक्षा व्यवस्था मिलाइएको छ । उनीहरूलाई तोकिएको स्थानमा बसोबासको व्यवस्था गरी मन्दिर परिसरको अनुशासन कायम राखिएको छ । कोषले श्रद्धालुहरूलाई धैर्यतापूर्वक लाइनमा बसी दर्शन गर्न, सरसफाइमा सहयोग गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ । महाशिवरात्रि पर्वलाई शान्त, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गरिएको जनाइएको छ ।

देशकै पहिलो बलम्बु ‘फ्लाइओभर’ तयार (फोटो फिचर)

काठमाडौं । नेपालको सडक सञ्जालमा बहुप्रतीक्षित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आयोजना अन्तर्गत बलम्बुस्थित ‘फ्लाइओभर’ को निर्माण सम्पन्न भएको छ । मुलुककै पहिलो आधुनिक फ्लाइओभरका रूपमा रहेको यस संरचनाले काठमाडौंको प्रवेशद्वारमा हुने ट्राफिक जामको समस्यालाई सदाका लागि अन्त्य गर्ने विश्वास गरिएको छ । आयोजनाका अनुसार फ्लाइओभरको कालोपत्रे गर्ने काम सकिएसँगै सडक बत्ती, ट्राफिक लाइट, सडक चिह्न र डिभाइडर राख्ने जस्ता सबै फिनिसिङका कामहरू सम्पन्न भइसकेका छन् । अहिले यो फ्लाइओभर सञ्चालनका लागि पूर्ण रूपमा तयारीअवस्थामा रहेको छ । १८० मिटर लम्बाइ र ७ मिटर चौडाइ रहेको यस फ्लाइओभरले त्रिभुवन राजमार्गलाई सुरुङमार्गसँग सिधा जोड्नेछ । यसले गर्दा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू कुनै अवरोध बिना सुचारु रूपमा गुड्न पाउनेछन् । नागढुङ्गाको घुमाउरो र जोखिमपूर्ण सडकको विकल्पका रूपमा तयार भइरहेको सुरुङमार्ग आयोजनाको यो एउटा महत्वपूर्ण हिस्सा हो । फ्लाइओभर सञ्चालनमा आएपछि थानकोट-बलम्बु क्षेत्रमा हुने सवारी चाप उल्लेख्य रूपमा घट्ने र इन्धन तथा समयको समेत ठुलो बचत हुने अपेक्षा गरिएको छ ।