फेरिएका प्रतिनिधि, नेफेरिएको काठमाडौं (फोटोफिचर)

टुडिखेलमा राखिएको निर्माण सामाग्री । काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ । कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन् । तीनकुनेस्थित ढल मिसिएको वागमती नदि । आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासीहरुसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन् । अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ । आम जनताहरु देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ । गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ । जनताले विकास चाहेका छन् त्यो पनि तिब्र गतिमा । तर राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरु आशावादी छन् । तर निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन । विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । नयाँ सडकमा मोटर साइकल पार्क गरिदै । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ । तर काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन् । मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरुमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् । न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ । सिहदरवारको पश्चिम ढोका अगाडिको झुपडी । एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरुले खासै चासो दिएको देखिँदैन । आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ । तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरुले जनतालाई भmुटो आश्वासनहरु दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरुको भविष्य धरापमा पर्ने निश्चित छ । फोटो : न्युज एजेन्सी नेपाल ।

बैंकहरुको विरोधमा गाडी व्यापारीको आन्दोलन (फोटोफिचर)

काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारको विरुद्धमा आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नाडाले सरकार तथा राष्ट्रिय बैंकबाट जारी नीतिका विरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शन आज एकै साथ ७ वटै प्रदेशमा भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए । आयतको प्रतिबन्ध खुलाए पनि नेपाल राष्ट्र बैंकले अटोमोवाइल व्यवसायसँग सम्बन्धित विषयहरूमा एकपछि अर्को व्यवसाय अमैत्री नीति नियमहरू ल्याएको विरोधमा नाडाले आन्दोलन गरेको उनले बताए । ‘पुँजी कर्जा तथा बैंकको व्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यो व्यवसाय तहस नहस हुने अवस्थामा पुगेको छ, सयौं अटोमोवाइल शोरुमहरु बन्द भइसकेका छन् भने थप अन्य शोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन्, यस्तो स्थितिका कारण यस व्यवसायमा आश्रित हजारौं कर्मचारीहरू समेत बेरोजगार बन्न पुगेका छन्,’ उनले भने । नाडाले विभिन्न १० बुँदे माग राख्दै आन्दोलन गरेको हो । माग पुरा नभए अझै कडा रूपमा प्रस्तुति हुने अध्यक्ष थापाले बताए ।

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र प्रतिष्पर्धा गरेका थिए । जसमा हालसम्म प्रि क्वाटर फाइनलमा पुग्ने १६ राष्ट्रको टुंगो लागिसकेको छ भने बाँकी १६ राष्ट्र प्रतियोगिताबाट बाहिरिसकेका छन् । साथै आजबाट प्रि क्वाटर फाइनलका खेलहरु शुरु हुँदैछन् । विश्वकप फुटबल मध्यपूर्वमा र यस समयमा हुन लागेको यो पहिलो पटक हो । यससँगै कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश बनेको छ । सन् २०२२ को विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा मतदानमा कतारले बाजी मारेको थियो । उसले अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछाडि पारेर यो अवसर आफ्नो पोल्टामा पारेको थियो । यतिबेला कतारमा भइरहेको फिफा विश्वकप हेर्नेहरुको भीड विश्वभर नै छ । नेपालमा पनि फिफा विश्वकप हेर्नका लागि होटल, रेष्टुराँहरु राति प्रायः बुक हुने गरेका छन् । यतिसम्मकी होटल, रेष्ुटराँ मात्रै होइन, सडकमै प्रोजेक्टर राखेर विश्वकप हेर्ने जमात पनि कम छैन । यस पटकको विश्वकप विगतको भन्दा धेरै नै रोचक बनिरहेको पनि छ । किनभने फुटबलका महारथी मानिने देशहरु कमजोर मानिएका देशहरुसँग पराजित भइरहेका छन् । जसकारण नकआउट चरणमा पुगेका देशहरुको समीकरण पनि हेर्न लायक बनिरहेको छ । आफ्नो मन परेको टिमलाई साथ, सहयोग गर्न रातभर जागा बसेर भएपनि समर्थकहरु विश्वकपका हरेक खेलहरु हेर्न छुटाउँदैनन् । घरमा ल्यापटप, कम्प्युटर, मोबाइलमा हेर्नुभन्दा कतै नजिकको होटलमा गएर प्रोजेक्टरमा खेल हेर्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले पनि होला आजभोलि काठमाडौं उपत्यकाका विभिन्न होटलहरु राति पर्यटकहरुले होइन, विश्वकप हेर्नेहरुले भरिभराउ देखिन्छन् । होटलमै पार्टी, होटलमा नै रमाइलो साथमा विश्वकपको मज्जा लिन युवाहरु चुक्दैनन् । होटलहरुले पनि विश्वकपका लागि छुट्टै प्याकेज निकालेका छन् । यतिबेला होटलमा मात्रै विश्वकप सिमित भने छैन । जाडोमा घरको आँगनमा नै प्रोजेक्टर राखेर हेर्नेहरुको जमात पनि बाक्लै छ । फोटो : न्युज एजेन्सी नेपाल ।