‘हुन्डाई फेस्टिभ डिलाइट’ को विजेता घोषित, क-कसले पाए आई-२० र क्रेटा गाडी
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ । तीनकुने स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालले पुरस्कार हस्तान्तरण गरेका हुन् । यस अफर अन्तर्गत, कुपन नम्बर ११०१ का क्रिएटिभ टच गार्मेन्ट ईन्डस्ट्रिज, नयाँ बजार, काठमाडौंले हुन्डाई इलाईट आई२० प्राप्त गरेका छन् । साथै कुपन नम्बर १७६८ का श्री नेत्र बहादुर खड्का, धरानले हुन्डाई क्रेटा प्राप्त गरे । साथै, १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्धारा कनज्युमर आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै १०० जना भाग्याशाली विजेताहरुले एक(एक तोला सुन र बम्परमा दुई जना भाग्याशाली विजेताहरुले एक/एक थान हुन्डाई इलाईट आई२० र हुन्डाई क्रेटा जित्ने अवसर प्राप्त गरेका थिए । सो योजना २०७३ भाद्र १३ गते देखि २०७३ कात्तिक २२ गते सम्म लागु गरिएको थियो ।
नयाँ बर्ष २०७४ मा ‘आहा दामन’
काठमाडौं । दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टले नयाँ बर्षको अवसरमा ‘आहा दामन’ अफर ल्याएको छ । बैशाख एक महिना भरि लागु हुने ‘आहा दामन’ अफर रिसोर्टले २०६८ सालदेखि सुरु गरेको थियो । यो अफरका अनुसार एक जनाले २०७४ रुपैंयाँ(कर बाहेक)मा एक रातको बास, ब्रेकफास्ट, डिनर र लञ्चको सुबिधा पाउनेछन् । न्युनतम २ जनाको समुह हुनुपर्नेछ । पाँच बर्ष भन्दा कम उमेरका बालबालिकालाई शुल्क लाग्ने छैन भने पाँच देखि १२ बर्ष उमेरका बालबालिकालाई ५० प्रतिशत छुटको सुबिधा पनि रहेको छ । तर उनीहरुले कोठा भने सेयर गर्नुपर्नेछ । सो शुल्कमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सर्भिस चार्ज भने जोडिनेछ । २५०० मिटरको उचाईमा रहेको एभरेष्ट पानोरमा रिसोर्टबाट संसारका १० अग्ला हिमालमध्ये नेपालमा रहेका ८ वटाको अवलोकन गर्न सकिन्छ । ३६० डिग्रीको कोणबाट सगरमाथा, अन्नपूर्ण, मनास्लु, गणेश हिमाल, लाङटाङ, दोर्जेलाक्पा, गौरीशंकर, धवलागीरी, कञ्चनजंघा लगायतका हिमश्रृंखलाको अवलोकन गर्न पाइन्छ । रिसोर्टमा ३० वटा सुबिधा सम्पन्न कोठा रहेका छन्, जसमा स्वदेशी तथा विदेशी पर्यटकले लक्जरीको अनुभव सहित समय कटाउन सक्नेछन् । ७० रोपनी जमिनमा फैलिएको रिसोर्टमा सोना बाथ, चिल्ड्रेन पार्क, टेबल टेनिस कोर्ट, डिस्को तथा ५० जना क्षमताको कन्फ्रेन्स हलको सुबिधा सहित इण्डियन कन्टिनेण्टल र नेपाली खानाको स्वाद लिन सकिन्छ । रिसोर्टमा बर्षेनी १० हजार स्वदेशी तथा विदेशी पर्यटक आउछन् । तीमध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत विदेशी हुने गरेको रिसोर्टका कार्यकारी निर्देशक सुदेश गौतम क्षेत्रीले बताए ।‘कुनै बेला ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपाली आउँथे अहिले अवस्था फेरिएको छ, ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी आउँछन’, गौतम क्षेत्रीले भने । रिसोर्टले काठमाडौंबाट दामन जान चाहनेहरुका लागि यातायातको व्यवस्था पनि गरेको छ । सुदेश गौतम नै प्रबन्ध निर्देशक रहेको इजी ट्रिप प्रालीले काठमाडौं–दामन–काठमाडौंका लागि सुबिधा सम्पन्न सवारी साधनको व्यवस्था मिलाउँछ । २५ बर्ष अघि टेण्ट टाँगेर सुरु गरिएको एभरेष्ट पानोरमा रिसोर्टले यतिबेला बर्षेनी १० हजार पर्यटकलाई सेवा दिन सक्ने पुर्वाधार र ब्राण्ड इमेज बनाउन सकेकोमा कार्यकारी निर्देशक गौतम क्षेत्री आफैं दंग पर्छन् । ‘२५ बर्ष अघि टेण्ट टाँगेर यसको सुरुवात भएको थियो अहिले यो पुर्वाधार र गुडविल कमाउन सफल भएका छौं’, क्षेत्रीले भने ।
नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले उक्त अस्पतालका आर्थिक अवस्था कमजोर भएका ४३ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि १ लाख ०७ हजार ५०० बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले उक्त अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाई हस्तान्तरण गरेका छन् । बैंकको ४३औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमका बीच उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।