१५० प्रतिशत उत्पादन क्षमता बढाउँदै अर्घाखाँची सिमेन्ट, ४ अर्ब १३ करोड थप लगानी गर्न बैंकसँग सम्झौता
काठमाडौं, २७ साउन । अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन क्षमता १५० प्रतिशतले बृद्धि गर्ने भएको छ । हालको दैनिक १२ सय मेट्रिकटन सिमेन्ट उत्पादन क्षमता भएको उक्त कम्पनीले दैनिक ३ हजार मेट्रिकटन उत्पादन गर्ने गरी क्षमता वृद्धि गर्न लागेको जनाएको छ । उत्पादन क्षमता वृद्धिको लागि कम्पनीले ४ अर्ब १३ करोड भन्दा बढीको लगानी थप गर्ने भएको छ । थप लगानी गर्ने क्रममा उद्योगको प्रर्वधकहरुले १ अर्ब २४ करोड रुपैयाँ थप लगानी गर्ने र बाँकी रकम बैंकहरुबाट कर्जा स्वरुप लगानी गर्ने भएका छन् । कर्जा लगानी गर्न नबिल बैंकको अगुवाईमा अन्य ६ वटा बैंकले २ अर्ब ८९ करोडको लगानी गर्ने सम्झैता भएको छ । कर्जा लगानी गर्ने अन्य बैंकहरुमा नेपाल बैंक लिमिटेड, एनआईसि एसिया बैंक, ग्लोवल आइएमई बैंक, प्राइम बैंक, सानिमा बैंक र सेन्चुरी बैंक रहेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा अर्घाखाँर्ची सिमेन्टका निर्देशक मनोज केडिया र नवील बैंकको सिईओ सशीन जोशीबीच क्षमता बृद्धिको लागि लगानी थप गर्ने सम्झैता भएको छ । सो कार्यक्रममा अन्य बैंकहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिद्धार्थ गु्रप, मुरारका अर्गनाइजेशन, केडिया अर्गनाइजेशन र भारतको उमा सिमेन्ट इन्टरनेशनलको संयुक्त लगानी रहेको अर्घाखाँची सिमेन्टको क्षमता वृद्धिपछि नेपालको सबैभन्दा ठूला सिमेन्ट उद्योग बन्ने कम्पनीले जनएको छ । कम्पनीले उत्पादन क्षमता विस्तारको काम साढे एक वर्षसम्ममा पुरा गर्ने लक्ष्य रहेको छ । यसका लागि कम्पनीले विश्वको उच्च प्रविधिको एफएलस्मित कम्पनीको भीआरएम प्रविधिको मिल खरिद सम्झैता गरी एलसी पनि खोली सकेको जानकारी कम्पनीले दिएको छ ।
हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा
विर्तामोड, २७ साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले हुन्डाइको नयाँ थ्री एस् सेन्टर विर्तामोडमा स्थापना गरेको छ । कम्पनीले आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा.लि. संगको सहकार्यमा विर्तामोडमा सो सेन्टर सञ्चालन गर्न लागेको हो । उक्त थ्री एस् सेन्टर मार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छाना मुनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस नव निर्मित थ्री एस् सेन्टर श्रीमती चन्द्रमाया थापा, न्यु अटो प्लाजा कन्सर्न प्रा. लि. र श्रीमान् निराकार श्रेष्ठ (कार्यकारी निर्देशक) लक्ष्मी इन्टर कन्टिनेन्टल प्रा.लि बाट संयुक्त रूपमा उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको यस सोरुममा एकैचोटि ५–६ वटा हुन्डाइ ब्रान्डका विभिन्न मोडेलका गाडी अटाउन सक्छन् । ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालिम प्राप्त बिक्री परामर्शदाताहरूको व्यवस्था गरिएको छ । आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने हेतुले निर्मीत अत्याधुनिक सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको छ । कम्पनीका अनुसार एयरकन्डिसन तथा वाईफाई युक्त ग्राहक आराम कक्ष, पर्याप्त पार्किङको व्यवस्था तथा मासिक ४५० गाडि मर्मत तथा सर्भिस गर्ने क्षमता युक्त यो सर्भिस सेन्टर आफैमा विश्वस्तरीय छ । यसको साथै यहाँ हुन्डे जेनुयिन स्पेर पार्टस्को पर्याप्त मौज्दातको साथै बिक्री सेवाको पनि व्यवस्था छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि. ले सन् २००९ फेबु्रअरी देखि नेपालमा हुन्डाइ ब्रान्डका सवारी साधन आयात र बिक्री गर्दै आएको हो । कम्पनीको मुख्य उद्देश्य हुन्डाइ गाडी बिक्री मात्र नभई, आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् उपलब्ध गराउनु पनि हो । यही उद्देश्य पूर्तिका लागि कम्पनीले नेपालको विभिन्न शहरहरुमा हुन्डे सोरुम, सर्भिस सेन्टर तथा स्पेर पार्टस् बिक्री कक्ष स्थापना गर्दै आएको छ । विर्तामोडमा निर्माण गरिएको यस नयाँ थ्री एस् सेन्टरले ग्राहकलाई उच्चस्तरीय सेवा दिने र ग्राहकको पहुँचका निम्ति सञ्जाल विस्तार गर्ने कम्पनीको प्रयासमा नयाँ आयाम थप्नेछ । कम्पनीले निकट भविष्यमै काठमाडौं तथा नेपालका अन्य शहरहरुमा थप सोरुम तथा सेवा विस्तार गर्ने लक्ष लिएको छ । विर्तामोडको नयाँ थ्री एस् सेन्टरले अन्तर्राष्ट्रिय स्तरको ग्राहक सेवा दिनुका साथै गाडी खरिदको नौलो अनुभूति प्रदान गर्नेछ ।
ग्लोबल आइएमई बैंकद्धारा विद्यालयलाई कम्प्युटर सहयोग
काठमाडौं, २७ साउन । ग्लोबल आइएमई बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसंगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयहरुमा १२ थान कम्प्युटर सहयोग गरेको छ । बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा विद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरेका छन् । बैंकले विशुद्ध बैंकिङ्ग सेवा मात्र नभएर स्थापना काल देखि नै अन्य क्षेत्रहरुमा पनि सहयोग गर्दै आएको छ । विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी पहिरो, भुँईचालो लगायतका अन्य विपतको समयमा सहयोग गर्दै आएको बैंकले जनाएको छ । हाल सम्म बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।