दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप लागेका ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको आरोप लागेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनी मंगलबार हर्क राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आफू स्वास्थ्य मन्त्री बनेपछि सहयोग गर्ने आश्वासनसहित प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले उनलाई पार्टीबाट निस्कासन गरेको थियो । उनलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरी कारबाहीसमेत गरेको थियो । यो आरोपका विषयमा भने साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मौन बसेको छ ।
डोल्पामा दुई प्रतिनिधि सभा सदस्य उम्मेदवार कांग्रेसमा प्रवेश
काठमाडौं । डोल्पामा विभिन्न राजनीतिक दलका प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दिलबहादुर विष्ट र जुनु भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। मंगलबार सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै विभिन्न दल त्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नेको संख्या बढिरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । पार्टीमा नयाँ प्रवेशको लहर चलेको बताए । ‘अन्य दलका उम्मेदवार, समर्थक तथा कार्यकर्ताहरूको पार्टी प्रवेश निरन्तर बढिरहेको छ,’ प्रवक्ता चालिसेले भने । निर्वाचन प्रचारमा पार्टीका नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकता दिएर जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिने उनको भनाइ छ । त्यसैगरी, कांग्रेसले पार्टी कार्यालयमा निर्वाचन प्रचारप्रसारको विषयलाई लिएर नियमित पत्रकार सम्मेलन गर्ने भएको छ । दुई दिनमा अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार संवाद कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने भएको हो ।
प्रचण्ड भन्छन् : गगन, ओली र बालेन प्रधानमन्त्री बन्दैनन्
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म घोषणा भएकामध्येबाट चुनावपछि कोही प्रधानमन्त्री नहुने बताएका छन् । मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले उनले हालसम्म घोषणा भएका कुनै पनि व्यक्ति प्रधानमन्त्री नबन्ने बताएका हुन् । भावी प्रधानमन्त्रीको रूपमा कांग्रेसले सभापति गगन थापा, एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । ओली र बालेन झापा-५ बाट चुनावी प्रतिस्पर्धा गर्दैछन् भने थापा सर्लाही-४ पुगेका छन् ।