नेता बजगाईंले छाडे कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान सांसद राजेन्द्र बजगाईंले पार्टीभित्रका केही व्यक्तिसँग असन्तोष राख्दै पार्टी छोड्ने निर्णय गरेका छन् ।  बजगाईंले सामाजिक सञ्जालमा लैख्दै केही व्यक्तिका गलत गतिविधिका कारण कांग्रेसबाट अलग हुने सोचमा पुगेको बताए । सामाजिक सञ्जाल एक्समार्फत उनले भारी मनले यस्तो निर्णयको नजिक पुगेको उल्लेख गरे ।  कांग्रेस आफैमा दोषी नभए पनि केही सीमित पात्रको व्यवहार र प्रवृत्तिले आफूलाई पार्टी छाड्ने अवस्थासम्म पु‍र्‍याएको बजगाईंको भनाइ छ । सुुरुदेखि नै सभापति देउवाको विपक्षमा रहेका बजगाईं २०७९ मा गोरखावाट प्रतिनिधि सभा सदस्यमा समेत निर्वाचित भएका थिए ।

नवलपरासी-१ मा ‘हेभीवेट’ भीडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा ‘हेभीवेट’ उम्मेदवारले उम्मेदवारी दर्ता गरेसँगै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त देखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या बुझिरहेका छन् । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका यसअघिका प्रतिनिधिसभा सदस्य एवं डलर अर्बपति व्यवसायी विनोद चौधरी प्रतिस्पर्धामा छन् भने उनीसँगै यसअघि पनि प्रतिस्पर्धा गरेका जनता समाजवादी पार्टीबाट अनुभवी नेता पूर्वमन्त्री हृदयश त्रिपाठी चुनावी मैदानमा छन् । यसैगरी, नेकपा एमालेबाट पूर्वसुस्ता गाउँपालिकाका अध्यक्ष एवं विद्यालय सञ्चालक रामप्रसाद पाण्डे, नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धु जलेसा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्व नेपाली कांग्रेसका नेता एंव व्यवसायी विक्रम खनाल, राष्ट्रिय जनमोर्चाबाट निर्माण व्यवसायी ढुण्डिराज पोखरेल प्रतिस्पर्धामा छन् ।  नवलपरासी सुस्ता पश्चिममा ६ वटा राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।  उम्मेदवारहरू टोलटोलमा मतदाता रिझाउन व्यस्त छन् भने आफ्नो चुनावी एजेण्डा सहित बस्ती-बस्तीमा पुगिरहेका छन् ।  विगतमा गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरू अहिले एक्लाएक्लै चुनावी मैदानमा होमिएका हुन् । यसअघिको निर्वाचनमा व्यवसायी विनोद चौधरीले हृदयश त्रिपाठीलाई ७ हजार १९१ मतले पराजित गरेका थिए ।  चौधरीले २९ हजार ५१९ मत पाउदा त्रिपाठीले २२ हजार ३२८ मत ल्याएका थिए । अघिल्लो पटक चौधरीलाई नेकपा माओवादी केन्द्र र त्रिपाठीलाई नेकपा एमालेको साथ थियो तर अहिले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा कडा चुनावी भीडन्त हुने देखिएको छ । चौधरीले विगतमा गरेका कामको फेहरिस्त सुनाउँदै अधुरा योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् भने त्रिपाठीले आफ्नो राजनीतिक अनुभव र स्थानीय मुद्दालाई मुख्य एजेन्डाको रुपमा राखेका छन् ।  त्यस्तै, रास्वपाका विक्रम खनाल ‘घण्टी’ लिएर युवा पुस्ता र असन्तुष्ट मतदाताको घरमा पुग्दै नयाँ नेतृत्वको आवश्यकता औंल्याएका छन् । एमालेका पाण्डेले पनि विकास र समृद्धिको नारासहित मतदाताको आँगनमा पुग्ने उद्घोष गरेका छन् ।  जनमोर्चाका उम्मेदवार पोखरेलले भ्रष्टाचारविरुद्धको दृढ लडाइँ, प्रदेश संरचनाको पुनरावलोकन तथा स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले विगतदेखि नै स्वच्छ राजनीति, राष्ट्रहित र जनताको पक्षमा आवाज उठाउँदै आएकोले यस पटक गिलास चिन्हमा मतदान गरेर भ्रष्टाचारमुक्त र आत्मनिर्भर नेपाल निर्माणमा सहयोग गर्न मतदातालाई आग्रह गरेका छन् । उम्मेदवारहरू घरदैलोमा पुग्दा मतदाताहरूले भने पुरानै समस्याहरू दोहोर्‍याइरहेका छन् । किसानहरूले समयमै मल र बीउको उपलब्धता, डुबानको समस्या, सुकुम्वासी समस्याको समाधान र युवा स्वरोजगारका विषयमा उम्मेदवारहरूको ध्यानाकर्षण गराइरहेका छन् ।

काठमाडौं उपत्यकामा कति मतदाता र मतदान केन्द्र थपिए ?

काठमाडौं । काठमाडौं उपत्यकामा ११ लाख ८५ हजार ३७४ मतदाता पुगेका छन्, जसमध्ये काठमाडौंमा ७ लाख १० हजार ७०८, ललितपुरमा २ लाख ६९ हजार २५६ र भक्तपुरमा २ लाख ५ हजार ४१० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा यसअघि प्रतिनिधिसभाको निर्वाचनमा ६ लाख ५३ हजार ९९८, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ९४ हजार ४३९ मतदाता रहेका थिए । आयोगका अनुसार काठमाडौंमा ५४ हजार ७१०, ललितपुरमा २५ हजार ३७२ र भक्तपुरमा १० हजार ९७१ जना मतदाता थपिएका छन् । काठमाडौंमा पुरुष मतदाता ३ लाख ४४ हजार १९९, महिला ३ लाख ६६ हजार ५०७  र अन्य ७ जना मतदाता छन् । ललितपुरमा महिला १ लाख ३७ हजार ७०७ र पुरुष १ लाख ३१ हजार ५४९ जना मतदाता रहँदा भक्तपुरमा पुरुष ४८ हजार ७४, महिला ५० हजार २७७ र अन्य ५ जना मतदाता रहेका छन् । यसैगरी, काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ५० वटा मतदान केन्द्र थप भएको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । यसअघि काठमाडौंमा ७ सय ७६ मतदान केन्द्र रहेको थियो । ललितपुरमा कुल १ सय ३१ मतदान स्थल रहेको छ । मतदान केन्द्र ३१८ रहेको यसपटक भने २८ वटा मतदान केन्द्र थप गरिएको ललितपुर जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमला घिमिरेले जानकारी दिइन् । भक्तपुरमा जम्मा ७६ मतदान स्थल रहेका छन् । मतदान केन्द्र २ सय ३३ रहेको र ११ मतदान केन्द्र थप गरिएको भक्तपुर जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरले जानकारी दिए । निर्वाचन आयोगका अनुसार देशभर फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन् । ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २ सय मतदाता छन् । यस वर्ष आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।