कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बुधबार केन्द्रीय कार्यालय, सानेपामा बैठक सुरु भएको हो । बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यता लगायत विषयमा छलफल हुने जनाइएको छ । त्यसैगरी, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमा भइरहेका साइबर बुलिङलगायत विषयमा छलफल गर्ने दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ ।
कांग्रेसले पूर्णबहादुरलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । कांग्रेसको लेटरप्याड दुरुपयोग गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो । समितिको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०७२/१२/१८ गतेको निर्णयानुसार विभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छ भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले एक पटकका लागि सचेत गराउने निर्णय भएको थियो। यसरी अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’
कांग्रेसले चुनावमा अन्तर्घात गर्ने विरुद्ध उजुरी दिने समय थप्यो
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि निर्वाचनमा पार्टीलाई अन्तर्घात गर्नेलाई कारवाही गर्नका लागि उजुरी दिन एक महिना समय थप गरेको छ । बुधबार बसेको पार्टीको अनुशासन समितिको बैठकले पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी दिन तोकिएको समय एक महिना थप गरेको जानकारी दिएको हो । यसअघि २०८२ चैत मसान्तसम्म उजुरी पेश गर्न दिएको समयावधि बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्याउने निर्णय गरेको अनुशासन समितिका अध्यक्ष तारामान गुरुङले बताए । गुरुङका अनुसार बैशाख मसान्तसम्म पार्टीले कारवाही अगाडि बढाउनेछ । वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि कुनै पनि कारबाही नहुने बताए ।