कबिन्द्र बुर्लाकोटी बने रास्वपाको मुख्य सचेकत, परियार र धिताल सचेतक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकमा चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले उनलाई मुख्य सचेतकमा चयन गरेको हो । यस्तै, बैठकले पार्टीको सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।
११ वटा संसदीय समितिका सभापति रास्वपाबाट, सार्वजनिक लेखा समिति कांग्रेसलाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिका उम्मेदवार टुंग्याएको छ । बिहीबार संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवारको नाम टुङ्गो लगाएको हो । रास्वपाले कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथगा सामाजिक मामिलामा आकृति अवस्थी, राज्य निर्देशक सिद्धान्तमा गणेश कार्की, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल उम्मेदवार बन्ने भएका छन् । यस्तै, संसदीय सुनुवाइमा बोधनारायण श्रेष्ठ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटनमा सुम्निमा उदास, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, अर्थ समितिमा कृष्णहरी बुढाथोकी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिमा ओजस्वी शेरचनलाई सभापतिको उम्मेदवार बनाउनेछ । सार्वजनिक लेखा समितिको सभापतिमा भने कांग्रेसलाई दिने तयारी भइरहेको छ । सो समितिको सभापति प्रमुख प्रतिपक्ष दल रहने अभ्यास छ । समितिका सभापतिको निर्वाचन शुक्रबार हुनेछ । आजै समितिका सभापतिहरूको मनोनयन हुनेछ ।
विपक्षी दलहरूको संयुक्त बैठक सुरु, संसदीय समितिका सभापतिमा साझा उम्मेदवारबारे छलफल
काठमाडौं । संसदीय समितिका सभापतिहरूको चयनका लागि विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिका सभापतिमा साझा उम्मेदवार तय गर्ने उद्देश्यसहित विपक्षी दलहरू छलफलमा जुटेको एमाले नेता गुरु बरालले जानकारी दिए । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा कांग्रेसका अर्जुननरसिंह केसी, एमालेका बराल र नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल लगायतका विपक्षी दलका नेताहरू सहभागी रहेका छन् । बैठकमा संसदीय समितिहरूको नेतृत्वमा विपक्षी दलको उपस्थितिलाई प्रभावकारी बनाउने रणनीतिसहित साझा उम्मेदवार चयनबारे गहन छलफल भइरहेको बरालले बताए ।