लोक सेवाको तयारी गर्दैँ हुनुहुन्छ ? ‘समायोजन लगत्तै १५ देखि २० हजारसम्म नयाँ भर्ना खुल्छ’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औँ आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहमा उहाँले समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना शुरु गरिने बताए । ‘‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ’’ उनले भने, ‘‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना शुरु हुनेछ ।’’ मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसद्बाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने बताए । उनले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाउनेसमेत बताए । उनले मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने बताए । ‘‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु’’ उनले भने, ‘‘सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेको छु ।’’ मन्त्री पण्डितले प्रविधिको प्रयोग गरेर निष्पक्षतापूर्वक जिम्मेवारीअनुसार काम सम्पन्न गर्नेलाई पुरस्कृत र अल्छी मान्नेलाई दण्ड सजाय दिने बताए । उनले मुलुक परिवर्तन भएसँगै कर्मचारीमा पनि परिवर्तन हुनुपर्ने बताए । ‘‘मुलुकमा भएको परिवर्तन कर्मचारीमा परिवर्तन हुनुपर्दछ । अहिले मुलुक सङ्घीयतामा गएको छ । कर्मचारी पनि सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा जानुपर्दछ’’ उनले भने । नवनियुक्त कर्मचारीलाई हसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न समेत आग्रह गर्नुभयो । उनले राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताए । मन्त्री पण्डितले कर्मचारीलाई अनुशासन र जिम्मेवारी बनाउने गरी नयाँ कानूनमा प्रस्ताव ल्याएको समेत जानकारी गराए । कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक ईश्वर नेपालले तालीममा सिकेका आचरण र व्यवहार आफनो कार्यक्षेत्रमा राम्रोसँग लागू गर्नुपर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले तीन महीनामा सिकेका कुरालाई व्यवहारमा उतारेर जनतालाई सेवा दिनुपर्ने बताए । उक्त प्रशिक्षणमा १७२ जनालाई नवनियुक्त अधिकृत सहभागी रहेका थिए । कार्यक्रममा मन्त्री पण्डितले ती नवनियुक्त अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

नेप्सेले खुलायो १० जनालाई जागिर, २१ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले १० जनालाई जागिर खुलाएको छ । नेप्सेले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर आन्तरिक र खुलातर्फ गरी सो मात्रामा दरखास्त आव्हान गरेको हो । आन्तरिक तर्फ उपप्रबन्धकमा २, सहायक प्रबन्धकमा २, सहायक आईटी प्रबन्धकमा १ र वरिष्ठ अधिकृत तहमा २ जना मागेको छ । त्यसैगरी, खुलातर्फ उपप्रबन्धक, वरिष्ठ अधिकृत र खुला/आधिवासी जनजातितर्फ वरिष्ठ अधिकृतमा १/१ जना गरी कुल ३ जना मागेको छ । उक्त सम्बन्धित तहको लागि आवश्यक न्युनतम शैक्षिक योग्यता प्राप्त गरेको र एक तह मुनिको पदमा कम्तीमा ३ वर्ष सेवा गरेको हुनुपर्ने छ । नेप्सेको सूचना हेर्न यसमा क्लिक गर्नुहोस्) योग्यता पुगेका उम्मेदवारले न्युनतम दस्तुर तिरेर यस सूचना प्रकाशित भएको मितिले २१ दिनभिन र दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र फारम भर्न सकिनेछ । योग्य उम्मेदवारले फागुन ३ गतेदेखि बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म भद्रकालीस्थित नेप्सेको कार्यालयमा पेश गर्न सक्नेछन् ।

युरोपेली संघको विना सम्झौता ब्रेजिक्टले ६ लाख रोजगारी सङ्कटमा, जर्मनी प्रभावित

काठमाडौं । युरोपेली संघकाे सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै ६ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ । सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले विना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ । जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा रहेको आइडब्लुएच इन्स्टिच्युटका अध्ययनकर्ताहरुले यस्तो निस्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार युरोपको सवैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा १ लाख ३ हजार रोजगारीलाई चुनौती हुनेछ भने दोस्रोमा फ्रान्सको ५० हजार रोजगारी खतरामा पर्नेछ । यसले युरोपेली मुलुकहरुमा मात्रै नभई अन्य मुलुकहरुमा पनि असर पर्ने अर्थशास्त्रीहरुको अध्ययनले देखाएको छ । चीनका ६० हजार र जापानका ३ हजार जनाको रोजगारीमा पनि समस्या पर्न सक्ने बताएका छन् । रासस/एएफपी