फर्निचर उद्योगमा ५० हजारलाई रोजगारी
काठमाडौं । मुलुकमा प्रयोग हुँदै आएका काष्ठजन्य सामग्री (फर्निचर) बजारको लगभग ५० प्रतिशत मात्र आन्तरिक उत्पादनबाट पूर्ति हुँदै आएको छ । चीन, भारत, सिंगापुर, मलेसिया लगायतका मुलुकबाट करोडौँ मूल्यका फर्निचरका सामग्री आयात गर्दै आएको सम्बद्ध व्यवसायीले बताउँदै आएका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभामा वार्षिक २० अर्ब रुपैयाँको फर्निचर र फर्निसिङ सामग्री आयात हुँदै आएका छन् । महासंघका अध्यक्ष सुरेन्द्रकुमार शारदाले नेपाली बजारमा फर्निचरको माग बढ्दै गएको फर्निचर खरिदमा अर्बौं रुपैयाँ विदेशिने गरेको बताए । स्थानीय आवश्यकतालाई पूरा गर्न नेपाली फर्निचर व्यवसायले विदेशी फर्निचरसँगको प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फर्निचर तथा फर्निसिङमा भएको परनिर्भरता हटाउन स्वेदेशी उद्योगलाई वढावा दिनुपर्ने बताए । महासंघका अनुसार सम्पूर्ण व्यवसायको एक भाग ओगटेको फर्निचर उद्योगमध्ये काठमाडौं उपत्यकामा १० हजार हाराहारीमा सञ्चालित छन् । जसबाट ५० हजारले रोजगारी पाएका छन् । रासस
प्रदेश सरकार सञ्चालनका लागि करिब दुई हजार कर्मचारीको विवरण तयार
काठमाडौं । सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचारी आवश्यक पर्ने भन्दै विवरण तयार पारेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । “सातवटै मन्त्रालयका दरले ४९ मन्त्रालयमा चाहिने कर्मचारीको विवरण तयार पारेका छौँ”, उनले भने, “प्रदेश प्रमुख नियुक्त हुनासाथ काम गर्नका लागि ती कर्मचारी खटाउन सकिन्छ ।” अहिले प्रदेश सरकार सञ्चालनका लागि अस्थायी व्यवस्थापन गरी कर्मचारीको विवरण तयार पारिएको हो । पछि कर्मचारी समायोजन भएपछि स्थायी रुपमा नै ती प्रदेशका मन्त्रालयमा कर्मचारी पठाइनेछ । उनका अनुसार सचिवदेखि श्रेणीविहीन कर्मचारीसम्मको विवरण तयार पारिएको हो । प्रदेश मन्त्रिपरिषद्मा सचिव र मन्त्रालयमा सहसचिव हुने व्यवस्था मिलाइएको उनले बताए । मन्त्रालयले कर्मचारीको विवरण तयार पारेर सम्बन्धित केन्द्रीय मन्त्रालयसँग के कस्ता कार्य सञ्चालन गर्नुपर्दछ भनेर कामको विवरण पनि माग गरेको छ । प्रवक्ता न्यौपानेले सेवा सञ्चालन गर्ने मन्त्रालयले कामको विवरण उपलब्ध गराएपछि सो बमोजिम ती कर्मचारीलाई पठाइने बताए । रासस
एनबीआईले एनसीसी बैंकका कर्मचारीलाई तालिम दिने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि(एनबीआई)ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । मंगलबार यी दुई संस्थाबीच उक्त तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनसीसी बैंकले एनबीआईबाट ५० लाख रुपैयाँ बराबरको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।