दक्षिण कोरियामा नेपालीको आत्महत्या बढ्दो, मालिकको व्यवहार र अत्याधिक वितृष्णा मुख्य कारण
काठमाडौ। वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान युवाहरुको आकर्षण बढेपनि त्यहाँ गएका नेपालीले आत्महत्या गर्ने घटना बढ्दै गएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा तथा अंकुर नेपालको संयुक्त आयोजनामा शुक्रबार राजधानीमा आयोजित ‘गणतन्त्र कोरियामा नेपालीको आत्महत्याको कारण र समाधान’ विषयको कार्यशाला गोष्ठीका सहभागीले पछिल्लो दिनमा कोरियामा आत्महत्याका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । कोरियामा काम गर्दै गरेका नेपाली श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले कोरियामा नेपालीको आत्महत्याका घटना बढ्नु संवेदनशील भएको भन्दै यसलाई घटाउन नेपाल सरकारले आवश्यक पहल गर्ने बताए । कार्यक्रममा कोरियाको मानव संशाधन विभागका निर्देशक किम कि उक्ज्युले कोरियामा नेपालीको आत्महत्या दर बढ्दो रहेको स्वीकार गर्दै कोरिया प्रस्थान पूर्व स्वास्थ्य परीक्षण गरिएता पनि मनोवैज्ञानिक परीक्षण नगरिँदा समस्या आएको बताए । विदेशको जीवन र काम स्वदेशको भन्दा बिल्कुल फरक हुने तथ्यलाई आत्मसात् नगर्दा रोजगारीमा गएकाले आत्महत्याको बाटो अँगालेको हुनसक्ने उनको भनाइ छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाका नेपाल निर्देशक बाबुराम खतिवडाले सन २००८ देखि २०१७ अगस्टसम्म १३८ नेपालीको कोरियामा मृत्यु भएको जानकारी दिए । मृत्युहुने मध्ये इपिएस भाषा परीक्षामार्फत गएका ७७ जना रहेको त्यसमध्ये ठूलो संख्या आत्महत्या गर्ने रहेको बताए । उनका अनुसार सन् २०१७ मा मात्रै १६ को मृत्यु भएको र तीमध्ये आधाभन्दा बढी आत्महत्या गर्ने रहेका छन् । कोरियामा नेपाल सरकारका तर्फबाट श्रमसहचारीका रुपमा काम गरेर एक वर्षअघि फर्केका अनिल गुरुङले आफ्नो चार वर्षे कार्यकालमा १३० जनाको मृत्यु भएको र तीमध्ये ३६ जनाले आत्महत्या गरेको विवरण दिए । उनका अनुसार अत्यधिक वितृष्णा, घरपरिवारको व्यवहार, उच्च महत्वाकांक्षा, सहकर्मी एवं मालिकको व्यवहार, मानसिक तनाव जस्ता कारण आत्महत्या गर्नेको संख्या बढेको हो । रासस
ठगी धन्दाको अर्को शृंखला: भिजिट भिसाको नाममा प्रलोभनमा पारी रकम असुल
काठमाडौं । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ । वैदेशिक रोजगारीमा जान ईच्छुक ब्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो रकम असुल्न गरिरहेको तत्य भेटिएको हो । पछिल्लो तीनदेखि पाँच महिनाको अविधमा भिजिट भिसा प्रयोग गरी रोजगारीका लागि संयुक्त अरब ईमिरेट्रस युएई पुगेका १९ जना युवा त्यहाँबाट पर्केपछि ठगी धन्दाको नयाँ शृखला बाहिर आएको हो । भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीले रोकेको खण्डमा अध्यागमनकै आठ न. गेटमा कर्मचारीलाई सम्पर्क राख्न दलालको सल्लाह । नागरिक दैनिकबाट ।
स्थानीय तहमा आफैँ कर्मचारी भर्ना गर्ने गाउँपालिका संघको चेतावनी
काठमाडौं । गाउँपालिकाका जनप्रतिनिधिहरूको छाता संगठन गाउँपालिका संघले भदौ महिनाभरि पनि केन्द्रबाट स्थानीय तहमा कर्मचारी नपुगे गाउँपालिका आफैँले कर्मचारी भर्ना गर्ने चेतावनी दिएको छ । गाउँपालिका संघको तर्फबाट प्रदेश समन्वय कमिटी प्रदेश नं. ३ र ४ का गाउँपालिकाका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेर सरकारलाई त्यस्तो चेतावनीपूर्ण निर्णय सार्वजनिक गरेका हुन् । गाउँपालिकामा निकै न्युन संख्यामा कर्मचारी रहँदा काम गर्न नसकेको र भएका कर्मचारीमा समेत विषयगत ज्ञानको अभाव रहेको उनीहरुको गुनासो छ । यस्तै भएका कर्मचारी समेत कार्यकारीबाट विदा स्वीकृत गराएर बाहिर बस्दा समस्या भएको उनीहरुको चिन्ता छ । सरकारले स्थानीय तहमा कर्मचारीलाई काजमा खटाउने प्रयास गरेपनि विभिन्न माग राख्दै कर्मचारी स्थानीय तहमा खटिन मानेका छैनन्। नयाँ पत्रिका दैनिकबाट ।