नेपाली महिलालाई खाडी बेच्न १२१ मानव तस्कर, पहिचान खुलेका तस्कर सबै नेपाल

काठमाडौं । नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याइ घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ । घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दुतावास पुगेकी महिलाले तस्करको पहिचान गरेका हुन् । पहिचान खुलेका सबै नेपाली छन् । पीडित महिलाको बयानका आधारमा खाडी राष्ट्र कुबेत, साउदी अरब, युनाइटेड अबर इमिरेट्स र ओमनस्थित नेपाली दूतावासले तस्कर तथा एजेन्टको नाम कारवाहीका लागि नेपाल पठाएका हुन् । परराष्ट्र मन्त्रालयले ती नाम कारवाहीका लागि श्रम मन्त्रालयमा पठाएको छ। तस्करले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतको विमानस्थलमार्फत खाडी राष्ट्रमा पुर्‍याएर घरेलु कामदारको रुपमा बेचिएका महिला नारकीय जीवन बिताउन बाध्य छन् । घर मालिकले बढी काम लगाउने, पिट्ने, खान नदिने, कोठामा थुनेर राख्ने, यौन दुर्व्यवहार गर्ने, शरीरमा तातो पानी खन्याइदिने, आइरनले डाम्ने, घरको तला माथिबाट फ्याँकिदिने, फ्रिजमा थुनेर राख्ने जस्ता यातना नेपाली महिला कामदारलाई दिने गरेका छन्। घर मालिकले दिने हदैसम्मको यातना सहन नसकेपछि उनीहरु भागेर नेपाली दूतावास पुग्छन् । यसरी दूतावास पुग्न सक्नेको संख्या निकै सानो छ । पहिल्लो केही साता भागेर दूतावास आइपुगेका ७५ महिलाले नेपालमा रहेका १ सय २१ तस्करको नाम र ठेगाना खुलाएका हुन् । नागरिक दैनिकबाट ।

वैदेशिक रोजगारको नाममा नयाँ धन्दा, मिर्गौलाको अवैध कारोबार

काठमाडौं । नेपालमा मानव अङ्ग मिर्गौला (किड्नी)को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ । वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै मिर्गौला पनि विक्री वितरण हुने पाइएको छ। विशेष गरी समाजका अशिक्षत, गरिब तथा मजदुरहरूलाई आर्थिकलगायत विभिन्न प्रलोभन देखाई दलालहरूले नै वैदेशिक रोजगारका नाममा भारत पुर्‍याई मिर्गौला विक्री गर्न लगाउने गरेको सम्बद्ध अधिकारीहरूले बताएका छन् । जनअधिकार संरक्षण मञ्च नेपाल (पीपीआर) र दिगो विकासका लागि सञ्चारमाध्यमको परिचालन (एमएमएसडी)ले आइतबार आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचविखन’ विषयक छलफल कार्यक्रमका सहभागीहरूले मिर्गौला कारोबारमा संलग्न दलालहरूको सञ्जाल मुलुकभर फैलिँदै गएको बताउ। ‘केही वर्ष पहिलेसम्म मिर्गौला विक्री वितरणको समस्या काभ्रे जिल्लामा मात्र सीमित थियो’, पीपीआरका कार्यक्रम निर्देशक सतिशकुमार शर्माले भने, ‘अहिले काठमाडौंको काँठक्षेत्रदेखि सुदूरपश्चिमको बर्दिया र बैतडीसम्म यो समस्या फैलिएको छ । ’ काभ्रेमा विभिन्न गैरसरकारी तथा सरकारी सङ्घसंस्थाको सक्रियता बढेपछि दलालहरूले स्थान परिवर्तन गरेको उनले बताए। पछिल्लो समय काभ्रे र सिन्धुपाल्चोकभन्दा पनि दलालहरूले काठमाडौँको काँठक्षेत्र, धादिङ, गोरखा, बर्दिया र बैतडीलाई लक्षित गरेको सूचना प्राप्त भएको उनले बताए। वैदेशिक रोजगारको नाममा आर्थिक लोभ देखाई फकाई फुलाई भारत लैजाने र त्यहाँ होटलमा राखी खानामा बेहोस हुने पदार्थ खुवाई किड्नी झिक्ने गरेको पाइन्छ । यस्तै, घटनाबाट पीडित गोरखा भच्चेकका १९ वर्षीय दीपक नेपालीले मिर्गौला झिकिएको कुरा छ महिनापछि थाहा पाएका थिए। काभ्रेमा सक्रिय दलालहरूको समूहले पोखरामा मजुदरी गरिरहेका बेला आकर्षक तलब पाइने लोभमा जागिर लगाइदिने भन्दै रातारात दिल्ली पुर्‍याइएका नेपाली आफूलाई एक्कासि दिल्लीको अस्पतालमा पाएका थिए। शर्मा भन्छन्, ‘मिर्गौला कारोबारीको जालो तोड्न गैरसरकारी सङ्घसंस्थासँगै पत्रकार, प्रहरी र अदालतको महत्वपूर्ण भूमिका आवश्यक छ, मानव अङ्ग विक्री वितरणमा सक्रिय आपराधिक समूहको अन्तर्राष्ट्रिय सञ्जाल छ । ’ यस समूहले मिर्गौला मात्र नभई महिलाको डिम्ब, स्कीन, ब्लटको प्लाज्मा नामक तत्वसमेत विक्री वितरण गर्ने गरेको पाइएको छ । मानव बेचबिखन तथा ओसारपसारको समस्या त छँदैछ त्यसमा मानव अङ्ग बेचबिखनको समस्या झन् जटिल बन्दै गएको भनाइ उनको छ । त्यस्तै, नेपाल प्रहरीका प्रहरी उपरीक्षक किरण वज्राचार्यले मानव बेचबिखनको सञ्जाल र मानव अङ्ग बेचबिखनको सञ्जाल उस्तैउस्तै हुने भएकाले कानुनी कारबाहीमा केही जटिलता आउने गरेको बताइन्। ‘यस्तो अपराधमा संलग्न व्यक्तिहरू अप्रत्यक्षरूपमा मतियार तथा सहयोगीको रूपमा मात्र संलग्न हुन्छन्, बढीजसो आफन्तलाई नै प्रयोग गराउँछन्’, उनले थपिन्, ‘पीडितहरू पनि समाजको डरले खुलेर भन्न सक्दैनन्।’ नेपाली समाजमा अझै पनि देहव्यापारका लागि महिलामात्र बेचिन्छन् भन्ने भ्रम छ तर अवस्था त्यति मात्र होइन, उनले भनिन्, ‘पुरुष मान्छे पनि विक्री भएको घटना सार्वजनिक भएका छन् । गरिबी र अशिक्षासँगै सङ्गठित अपराधको सञ्जाल विस्तारै फैलिनु मुख्य कारण पनि हो । ’ बा–आमा तथा आफन्तले कहिल्यै पनि नराम्रो कामका लागि छोरी चेली बेच्दैनन्, प्रहरी उपरीक्षक बज्राचार्यले भनिन्, ‘आफन्तलाई दलालहरूले घुमाउरो शैलीमा प्रयोग गरेका हुन्छन्, पैसाको लोभमा छोरी बेच्न बुबालाई नै प्रयोग गरिदिन्छन्। गोरखापत्र दैनिकबाट ।

विदेशमा नेपाली नेपालीबाटै असुरक्षित, आफ्नै साथिको हत्या गर्ने १५ जना जेलमा

काठमाडौं । देशमै रोजगारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन्। यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगाना बताउँछन् । रोजगारीकै लागि मलेसिया र खाडीका देशमा वार्षिक पाँच लाखको हाराहारीमा नेपाली पलायन भइरहेका छन् । त्यसमा पनि मासिक १० हजारदेखि १५ हजार संख्यामा कामकै लागि साउदी अरब पुग्ने गरेका छन् । साउदीमा रोजगारीकै लागि पुगेका नेपालीमध्ये अहिले साउदीको जेलमा १५ नेपाली हत्या अभियोगमा जेल जीवन बिताइरहेका छन् । जेलमा रहेका १५ जनामध्ये तीन जनालाई त्यहाँको अदालतले मृत्युदण्ड सुनाइसकेको छ । हत्या अभियोगमा जेल जीवन बिताइरहेका १५ जनामध्ये ५ जनालाई नेपाली दाजुभाइ नै हत्या गरेको अभियोग छ । अन्नपूर्ण पोस्टबाट ।