इजरायल पठाउन आवेदन खुला, नौ वर्षदेखि रोकिएको रोजगारी खुल्यो
काठमाडौं । इजरायलमा ६० नेपाली केअरगिभर लान प्रक्रिया अघि बढेको छ। करिब ९ वर्ष रोकिएर केहीअघि मात्र ‘केअरगिभर’ लान थालिएको इजरायलमा दोस्रो समूह लान आवेदन खुला गरिएको छ। यसअघि असोजमा ६० नेपाली केअरगिभर इजरायल गएका थिए। वार्षिक १ हजारभन्दा बढी नेपालीलाई केअरगिभरका रूपमा रोजगारी दिने इजरायलले बताउँदै आएको छ। हाल त्यहाँ ६ हजार नेपाली केअरगिभरका रूपमा कार्यरत छन्। यीमध्ये ८० प्रतिशत महिला छन्। म्यानपावर कम्पनीहरूले निकै बढी शुल्क लिएको भन्दै इजरायल सरकारले सरकारीस्तरबाटै कामदार लैजाने बताउँदै आएको थियो। म्यानपावर कम्पनीले यसलाई रोक्न राजनीतिक नेतृत्वलाई दबाब दिएका कारण यो रोकिएको थियो। गत वर्ष कोरियाझैं इजरायलमा पनि परीक्षणका लागि भन्दै सरकारीस्तरमै कामदार लैजाने सहमति भएपछि पहिलो समूह गएको थियो। नौ वर्षबीचमा जम्मा डेढ सय नेपाली मात्र केअरगिभरका रूपमा इजरायल गएका छन्। कैयौं नेपाली भारतीय बनेरसमेत पुगे। गत वर्ष पाइलट प्रोजेक्टमा सहमति भएर दुई वर्षभित्र तीन सय नेपाली लैजाने सहमति भएको थियो। यो प्रोजेक्ट सफल भए यही मोडलबाट इजरायलमा नेपाली नियमित जान पाउने नेपालका लागि इजरायलका राजदूत यारोन मायरले बताएका छन्। उनले नेपालीहरू इजरायलीको रोजाइमा रहेको पनि बताउने गरेका छन्। इजरायलमा भारत, फिलिपिन्स, थाइल्यान्ड, पूर्वी युरोपका कामदारहरू छन्। नेपाली र फिलिपिनो इजरायलीको पहिलो रोजाइमा पर्दै आएका छन्। केअरगिभरका रूपमा जान आवश्यक न्यूनतम योग्यता पूरा भएकामध्येबाट छनोट हुनेहरूले भाषा परीक्षा पनि पास गर्नुपर्ने छ।केयरगिभरको अन्तिम छनोट वैदेशिक रोजगार विभाग र इजरायलस्थित पीआईबीए (जनसंख्या तथा अध्यागमन निकाय) ले गर्नेछन्। छनोट भएका आवेदकले इजरायलमा वृद्ध, अपांग तथा अशक्तको स्याहारसुसार गर्नुपर्छ। यस्तो काममा एक लाखदेखि दुई लाखसम्म पारिश्रमिक पाइने बताइन्छ। कान्तिपुर दैनिकबाट ।
मलेसिया जाने कामदारको १३ हजार जोगिने, व्यवसायीले लिने अतिरिक्त शुल्क कामदारले तिर्नु नपर्ने
काठमाडौं । विगत केही महिनादेखि मलेसिया जाने कामदारसँग विभिन्न शिर्षकमा असुल भइरहेको रकम अब रोजगारदाता कम्पनीले नै बेहार्ने भएका छन् । लामो समयदेखि मलेसिया जाने कामदारले विभिन्न संस्थाका नाममा तिर्दै आएका करिब १३ हजार एक सय रुपैयाँ रोजगारदाता कम्पनीले बेहोर्ने गरी सरकार र व्यवसायीबीच सहमति भएको छ । लामो समयदेखि नेपालमा विभिन्न संस्था खोलेर मलेसिया जाने कामदारसँग १३ हजारभन्दा बढी असुल भइरहेको थियो । कामदारले वान स्टेप सेन्टर (ओएससी() इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) र माइग्रामका नाममा अतिरिक्त रकम तिर्दै आएका थिए । अन्नपूर्ण पोस्टबाट ।
दक्षिण कोरियाले कामदारको कोटा बढायो, आगामी वर्ष १० हजार नेपाली लैजाने
काठमाडौं । इपीएस अन्तर्गत तीन महिनापछि हुने भाषा परिक्षाबाट १० हजार नेपालीलाई रोजगारीका लागि छनोट गर्ने भएको छ । आगामी जेठमा सञ्चालन गरिने आठौं भाषा परीक्षामार्फत उत्कृष्ट भएका १० हजार युवायुवतीलाई कोरियाले रोजगारीका लागि छनोट गर्ने भएको हो । भाषा परिक्षा पास गर्ने कामदारको माग सन् २०१७ को अन्त्यबाट सुरु हुने जनाइएको छ । यो संख्या गत बर्षको तुलनामा तेब्बर हो । गत बर्षको भाषा परिक्षामा सामेल भएका ६० हजारमध्ये ३ हजार ५ लाई मात्र रोजगारीका लागि छनोट गरेकोमा यो पटक भाषा परिक्षामा सो संख्या भन्दा तीन गुणा बढी कामदार लैजाने कोरियाको योजना छ । कोरियाले सन् २०१८ मा ईपिएस भाषा परीक्षामा ६ हजार दुई सय कृषि क्षेत्रका लागि र चार हजार उत्पादनमुलक क्षेत्रमा लैजाने गरी परीक्षा लिनेछ। भाषा परीक्षामा पास हुने सन् २०१८ मा कोरिया जाने ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । यसका लागि अब फागुन २४ गते सूचना प्रकाशन हुनेछ। परीक्षमा सामेल हुनेले अनलाइन प्रणालीबाटै फारम भर्न पाउने छन्। फारम भने चैत ९ देखि १८ गतेसम्म भर्न पाउने खतिवडाले बताए। अनलाइन फारम भर्ने व्यवस्थाले रातभर लाइन बस्नु समस्याको पनि समाधान हुने उनको भनाइ छ। परीक्षा भने जेठको अन्तिम सातामा हुने ईपीएस शाखाले जनाएको छ। फारम भर्नका लागि तोकिएको बैंकमा आवेदन शुल्क बुझाएको कोड राखेपछि मात्रै अनलाइन फारम समायोजन गर्न पाइने उनले बताए। मेसिन रिडेबल पासपोर्ट ९एमआरपी० अनिवार्य चाहिने शाखाले जनाएको छ। फेरी दोस्रो पल्ट धेरै संख्यामा कामदार लाने तयारी भएको हो। यसअघि सन् २०११ मा करिब ११ हजार भन्दा नेपाली कामदार कोरिया पुगेको थिए। शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको हो। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए। कारोबार दैनिकबाट ।