सहकारी क्षेत्रमा पारदर्शिता र सुशासनका लागि आइक्यान र प्राधिकरणको हातेमालो
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरण (एनसीआरए) ले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आइक्यानका अध्यक्ष सीए नीलबहादुर सारु मगर र प्राधिकरणका अध्यक्ष, डा. खगराज शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे। हस्ताक्षर कार्यक्रममा प्राधिकारणका तर्फबाट सदस्य (सहकारी विज्ञ), डा. रमेश चौलागाईं, सदस्य, महेश खनाल र कार्यकारी निर्देशक, डा. शेषनारायण पौडेल, आइक्यानका तर्फबाट उपाध्यक्ष, सीए आनन्द राज शर्मा वाग्ले, कार्यकारी निर्देशक, सीए विमल डंगोल, प्रशासन निर्देशक, विनोदप्रसाद न्यौपाने, प्राविधिक निर्देशक, सीए किरणकुमार खत्री र उपनिर्देशक, सीए सन्तोष विष्टको सहभागी थियो । सहकारी ऐन, २०७४ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुरूप सहकारीहरूको नियामकीय र सुपरिवेक्षयकीय संयन्त्रलाई अझ प्रभावकारी बनाउने उद्देश्यले गरिएको हो । यो सहकार्यले प्राधिकरणमा नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट), नियामक मापदण्डको विकास, अनुगमन र सुपरिवेक्षणको लागि प्राविधिक सहयोग र नेपाली वित्तीय प्रतिवेदन मानक (एनएफआरएस), एनएफआरएस फर एसएमईजफर एमईइज र अन्य वित्तीय मानकहरु लागू गर्ने लगायतका क्षेत्रहरू समेट्नेछ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियामकीय परीक्षण (प्रुडेन्सियल अडिट) को लागि रोस्टर तयार गर्न प्राधिकरण र आइक्यानबीच समन्वय कायम गर्ने, प्राधिकरणको नियामकीय परीक्षण प्रभावकारी बनाउन विभिन्न मापदण्ड, विनियम, मार्गदर्शन आदि तर्जुमा गर्न संस्थाले सहयोग गर्ने र सहकारी संस्थाहरुको नियमन, अनुगमन र सुपरिवेक्षण गर्ने सम्बन्धमा सहकार्य गर्ने यस समझदारीपत्रका प्रमुख उद्देश्यहरू रहेका छन्। सो अवसरमा प्राधिकरणका अध्यक्षले यो सहकार्यले सहकारी क्षेत्रको सुरक्षा गर्ने प्राधिकरणको क्षमतालाई बलियो बनाउने र सदस्य र निक्षेपकर्ताको हितको रक्षा गर्ने कुरामा जोड दिएका छन् । उनले अर्थतन्त्रमा वित्तीय स्थिरता कायम राख्न सहकारीको प्रभावकारी नियमन महत्त्वपूर्ण हुने बताए । त्यस्तै, आइक्यानका अध्यक्षले सहकारी क्षेत्रमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न, तथा सहकारी ऐनमा तोकिए बमोजिम नियामकीय परीक्षण (पुडेन्सियल अडिट) गर्न रोस्टर तयार गर्न सहयोग गर्न, लेखापरीक्षण र वित्तीय प्रतिवेदन मापदण्डहरूमा आफ्नो प्राविधिक विशेषज्ञता योगदान गर्न आइक्यान प्रतिबद्ध रहेको बताए । उनले यो साझेदारी नेपालको अर्थतन्त्रमा सुशासन र वित्तीय अनुशासनलाई प्रवधर्न गर्ने आइक्यानको भूमिकासँग गाँसिएको पनि उल्लेख गरे ।
नख्खु कारागारबाट भागेका शिव शिखर सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ
काठमाडौं । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका प्रतिवादी पक्राउ परेका छन् ।भक्तपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक ५० वर्षीय केदारनाथ शर्मा पक्राउ परेका हुन् । कारागारबाट भागी फरार भएका उनलाई असोज ८ गते ललितपुर महानगरपालिका–२, सानेपाबाट सशस्त्र प्रहरी ब्यूरोको टोलीले पक्राउ गरी नख्खु कारागार बुझाएको हो । शर्मालाई सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको थियो । बाँके जिल्लाको उठारापुर गाविस–२ स्थायी घर भएका शर्मा हाल काठमाडौं महानगरपालिका–४, सुकेधारामा बस्दै आएका थिए । प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता धर्मराज भण्डारीका अनुसार शर्मा पक्राउ परेसँगै आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।
सिद्धि गणेश सहकारीको एकैचोटि ३ ठाउँमा साधारणसभा, नाफा साढे ४ करोड रुपैयाँ
भक्तपुर । नेपालकै अधिक सदस्य रहेको संस्थाको रूपमा रहेको सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । संस्थाले पहिलो पटक संस्था बाहेकका अन्य व्यक्तिलाई अतिथि नबनाइकन साधारणसभा सम्पन्न गरेको हो । १७ हजार ८ सय सदस्य रहेको भक्तपुरको सिद्धि गणेशले अजिमा पार्टी महल, स्टार बैंक्वेट र महेश्वरी बैंक्वेटमा गरी ३ ठाउँमा एकै दिन एकै समयमा शनिबार क्षेत्रगत रूपमा साधारणसभा गरेको हो । संस्थाको ३१ औं साधारणसभाले कोषाध्यक्ष जयराम गोर्खालीद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को स्रोत तथा उपयोगतर्फ ३ अर्ब २६ करोड ३१ लाख ४३ हजार १०९ रुपैयाँ र आय तथा व्ययतर्फ २५ करोड ४० लाख ९७ हजार ८५५ रुपैयाँको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको थियो । आव २०८२/०८३ को स्रोत तथा उपयोग तर्फ ३ अर्ब ३६ करोड रुपैयाँ र आय तथा व्ययतर्फ २१ करोड ७८ लाख १२ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रमहरू पारित गरेको थियो । सभाले सञ्चालक समितिको तर्फबाट सचिव विष्णुप्रसाद दुमरुद्वारा प्रस्तुत आव २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आव २०८२/०८३ को प्रस्तावित कार्यक्रमहरू पनि सर्वसम्मतले पारित गरेको छ । सभाले लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक रामप्रसाद लाखाजुद्वारा प्रस्तुत आव २०८१/०८२ को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गर्ने निर्णय गरेको थियो । संस्थाको सञ्चालक समितिको निर्णय अनुसार आव २०८१/८२ को सेयर पूँजीमा ६ प्रतिशत कर कट्टीसहितको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि गरेको छ । यसैगरी, संस्थाका सञ्चालक समितिको निर्णय अनुसार आव २०८१/८२ को संरक्षित पुँजी फिर्ता कोषमा रहेको रकम मध्ये ५० लाख रकम नियमानुसार वितरण गर्ने प्रस्ताव पारित गर्ने निर्णय पनि साधारणसभाले गरेको छ । संस्थाका अध्यक्ष रुद्र नारायण लाखाले ३१ जनाबाट सुरु भएको सिद्धि गणेशमा हाल १७ हजार ६ सय सदस्य पुगेकोमा खुसी प्रकट गरे । विगतमा साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलाई सम्मान गर्दै आएकोमा अहिले राष्ट्रिय सहकारी प्राधिकरणले कुनै पनि किसिमको उपहार, सम्मान, भोजभतेर र परिवहन खर्च नदिनु भनेकाले सोहीअनुरुप साधारणसभा मितव्ययिता पूर्वक सम्पन्न गरेको जानकारी दिए । सहकारीका कोषाध्यक्ष जयराम गोर्खालीले बदलिँदो परिस्थिति र लगानीमा भएको कमीले गर्दा ७ करोड ८७ लाख नाफा कमाउने लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ६४ लाख ३२ हजार रुपैयाँ मात्र नाफा आर्जन भएको जानकारी दिए । यसवर्ष खुद नाफा लक्ष्यभन्दा धेरै कम हुनुमा ऋण नोक्सानी व्यवस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम ऋण नोक्सानी व्यवस्थामा १ करोड ६९ लाख ७ हजार व्यवस्था गर्नुपरेका कारणले पनि भएको स्पष्ट पारे । संस्थाका सञ्चालक रत्नश्वरी चवालले सचिवको प्रतिवेदन पेश गर्दै संस्थाको सेयर पुँजी २६ करोड २५ लाख ४५ हजार रुपैयाँ बचत तथा निक्षेप २ अर्ब ६४ करोड २० लाख ५६ हजार, जगेडा कोष २७ करोड ५८ लाख ४५ हजार, संरक्षित पुँजी फिर्ता कोष ८२ लाख ४९ हजार ६१३, सहकारी प्रवर्द्धन कोष १ लाख ६४ हजार, अन्य कोषहरू २ करोड ४५ लाख, सदस्य ऋण लगानी १ अर्ब ८२ करोड ६८ लाख २३ हजार गरी कुल ३ अर्ब २६ करोड ३१ लाख ४३ हजारको सम्पत्ति रहेको विवरण पेश गरे । सिद्धि गणेश सहकारी संस्थाको ३१औं वार्षिक साधारणसभा अन्तर्गत कमल विनायक स्टार बैंक्वेटमा संस्थाका सचिव विष्णुप्रसाद दुमरुको सभापतित्वमा कार्यक्रम सम्पन्न गरी १० बुँदे निर्णयसमेत पारित गरेको छ। कार्यक्रममा पूर्व अध्यक्ष तथा बचत उपसमितिका संयोजक कृष्ण गोविन्द लाखाजुले आव २०८१/८२ को आर्थिक प्रगति प्रतिवेदन र आव २०८२/८३ को अनुमानित बजेट प्रस्तुत गरेका थिए । उनले गत आवमा सेयर अन्तर्गत ७२ लाख १५ हजार ५ सय रुपैयाँ कमी आएको उल्लेख गर्दै, उपयोग सम्पत्ति तर्फ १३ करोड ५० लाख रुपैयाँ छुट्याइएको जानकारी दिए । साथै, १७ हजार शेयर बाँकी रहेकाले आवश्यक परे थप सेयर निकाल्न सकिने जानकारी बताए । सञ्चालक समितिका सदस्य तुल्सिदास दुमरुले आव २०८१/८२ को प्रगति प्रतिवेदन र आव २०८२/८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गरे । उनले सम्पत्ति शुद्धीकरण निवारण निर्देशिकाको पालना, नीतिगत संशोधन तथा आगामी गतिविधिहरूबारे स्पष्ट पारे । यसैबीच संस्थाको क्षेत्र नं ५ र ६ को साधारणसभा महेश्वरी बैक्वेट थुसाचामा सम्पन्न भयो । साधारणसभामा उपाध्यक्ष विष्णुराम दुमरुले सरकारमा बसेकाहरूको राम्रो सुझबुझ नभएका कारण सहकारी संस्थाहरू समस्यामा पर्दै आएको बताए ।