दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं संस्करणमा दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ताहरू सम्मानित भएका छन् ।  काठमाडौंमा आइतबार सुरु भएको तीन दिने सम्मेलनमा अभियन्ताहरू सम्मानित भएका हुन् । सम्मेलनमा इन्टरनेट सेवालाई सार्वजनिक पहुँचमा विस्तार गर्न योगदान दिएका नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र भुटानका अभियन्ताहरु सम्मानित भएका हुन् ।  सम्मानित अभियन्ताहरुमा नेपालका दीलिप अग्रवाल, भारतका नीरज सोनकर र सूचित नन्दा, पाकिस्तानका तारिक मुस्तफा, बंगलादेशका सुमोन अहमद साबिर र भुटानका जिचेन थिन्ले छन् ।  इन्टरनेट इनेबलर्सद्वारा जारी विज्ञप्तिअनुसार यी अभियन्ताहरूले इन्टरनेट दैनिक जीवनको हिस्सा बन्नुअघिदेखि नै सर्वसाधारणमा इन्टरनेटको पहुँच पुर्‍याउन र इन्टरनेटको व्यावसायिक सेवा बिस्तारमा महत्त्वपूर्ण योगदान दिएका छन् ।  इन्टरनेट इनेबलर्सले यसअघि नै नेपालका गौरवराज उपाध्यायलाई एसिया प्रशान्त क्षेत्रका अभियन्ताका रूपमा सम्मानित गरिसकेको छ । उपाध्याय सानोगका संस्थापक हुन्।  भारतका निरज सोनकरले सन् १९९५ मा भीएसएनएलमार्फत प्रथम व्यावसायिक इन्टरनेट सेवा जिआइएएस सुरु गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।  भारतकै सूचित नन्दाले व्यावसायिक इन्टरनेट सेवा सुरु हुनुअघि नै बुलेटिन बोर्ड सिस्टममार्फत हजारौं प्रयोगकर्तालाई अनलाइन सञ्चार परिचित गराएका थिए ।  त्यसैगरी, बंगलादेशका सुमोन अहमद साबिरलाई बिडिकमको विकासलगायत तीन दशक लामो योगदानका कारण सम्मानित गरिएको हो ।  भुटानका थिन्लेलाई प्रारम्भिक इन्टरनेट तथा जिएसएम मोबाइल नेटवर्क बिस्तारमा गरेको दीर्घकालीन योगदानका निम्ति सम्मान दिइएको विज्ञप्तिमा जनाइएको छ । नेपालको पहिलो इन्टरनेट इनेबलर्स अवार्ड पाएका दीलिप अग्रवालले सन् १९९५ मा एउटा व्यक्तिगत कम्प्युटर र मोडेमबाट वर्ल्डलिंकको सुरुवात गरेका थिए । छोटो समयमै उनले कम्पनीलाई नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकका रूपमा स्थापित गरेका छन् ।  आज वर्ल्डलिंकको सेवा देशका अधिकांश जिल्लामा पुगेको छ र नेपालमा हुने करिब आधा इन्टरनेट ट्राफिक यसैको सञ्जालमार्फत प्रवाह हुने गरेको छ ।  उनको योगदानलाई नेपालमा दक्षिण एसियामै उच्च ब्रोडब्यान्ड पहुँच हासिल गर्न मद्दत पुर्‍याउने प्रमुख आधारहरूमध्ये एक मानिन्छ । इन्टरनेट इनेबलर्सको अवधारणा कोभिड महामारीपछि पहिलो क्षेत्रीय इन्टरनेट सम्मेलनमा जन्मिएको हो ।  इन्टरनेट इनेबलर्सले यसकै लागि एसिया प्यासिफिकमा इन्टरनेटको इतिहास संरक्षण गर्ने उद्देश्यसहित आफ्नो प्राविधिक नेतृत्व, दूरदृष्टि र समर्पणमार्फत डिजिटल पूर्वाधार निर्माण गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ ।

राजीनामाको मागबीच उपकुलपति जोशीको अडान– जिम्मेवारीबाट पछि हट्दिनँ

काठमाडौं । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलराज जोशीले आफू विश्वविद्यालय सञ्चालनको जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।  उनको राजीनामाको माग गर्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी धनगढीमा २४औं आमरण अनशनमा रहेका बेला जोशीले सामाजिक सञ्जालमार्फत आफ्नो अडान सार्वजनिक गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै उपकुलपति जोशीले सुदूरपश्चिमका नागरिकबाट प्राप्त समर्थन र विश्वासप्रति कृतज्ञता व्यक्त गरेका छन् ।  उनले विश्वविद्यालयलाई सफलतापूर्वक सञ्चालनमा ल्याउने आफ्नो संकल्प अझ बलियो बनेको उल्लेख गर्दै लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेशका सम्पूर्ण आदरणीय जनसमुदायबाट प्राप्त अपार माया, अटुट समर्थन र विश्वासप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौं । यहाँहरूको स्नेह र साथले यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्ने हाम्रो दृढ संकल्पलाई अझ सशक्त बनाएको छ ।’ जोशी विश्वविद्यालयको उपकुलपतिमा दुई पटक नियुक्त भएका व्यक्ति हुन् । विश्वविद्यालयका लागि पटक–पटक आवेदन आह्वान गर्दा पनि योग्य उम्मेदवार नपाइएपछि उनलाई पुनः उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।  यसअघि तत्कालीन सरकारले उनलाई पदबाट हटाएको थियो भने पछि फेरि सोही पदमा नियुक्त गरिएको थियो । विश्वविद्यालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेका बेला डा. केसीले जोशीको नियुक्ति खारेज गर्नुपर्ने मागसहित आमरण अनशन थालेका छन् ।  केसीको मुख्य मागमध्ये गेटास्थित विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने विषय पनि रहेको छ । यता, विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढ्न लागेका बेला त्यसलाई अवरोध गर्न खोजिएको भन्दै सुदूरपश्चिमका केही स्थानीयवासीले असन्तुष्टि जनाएका छन् ।  धर्मशालामा अनशनरत डा. केसीमाथि दबाब बढेपछि उनलाई सेती प्रादेशिक अस्पताल सारिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हाल उनी अस्पतालको आईसीयूमा उपचाररत छन् । सरकारी वार्ता टोली र डा केसी पक्षबीच छलफल जारी प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा‍. विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ ।  डा. केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उनका प्रतिनिधि डा अमृत जैसी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिए । पहिलो चरणमा डा. केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्षअनुसार डा. केसीसँग थप वार्ता हुने उनले बताए । डा. केसी विभिन्न पाँचबुँदे माग राखेर गत बिहीबारदेखि अनशनमा छन् । स्वास्थ्यमा समस्या देखिएपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको छ ।  डा. केसीले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलगायत चिकित्सा शिक्षा आयोगमा स्वार्थ बाझिने गरी भएका नियमविपरितका नियुक्ति बदर गरी ऐनका विवादित प्रावधान शीघ्र संशोधन, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारविना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेजीको माग गरेका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुका साथै विगतमा सरकारसँग भएका लिखित सहमतिहरूको पालना, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार तथा सेवा प्राथमिकताका साथ विस्तार गर्नुपर्ने माग गरिएको छ ।  यसैगरी गत भदौ २३ र २४ गते भएका जघन्य हत्या, आगजनी, लुटपाटलगायत घटनाका दोषीलाई कारबाही तथा २०४६ सालदेखि हालसम्मका उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने डा. केसीको माग छ ।

सरकार र केसी आईसीयूमै संवाद हुँदै, सहमतिको खोजीमा दुवै पक्ष

काठमाडौं । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै २४औँ आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता थालेको छ । सरकारको उच्चस्तरीय वार्ता टोली शनिबार धनगढी पुगेर उपचाररत केसीसँग संवादमा जुटेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार वार्ता टोलीमा शिक्षा सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा तथा प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल सहभागी छन् । शिक्षा सचिव पौडेल शनिबार नै धनगढी पुगिसकेका छन् । अनशनका क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ । उनी चिकित्सकहरूको निगरानीमा उपचाररत रहँदै वार्तामा सहभागी भएका छन् । सरकार र डा. केसी पक्षबीच पाँच बुँदे मागबारे छलफल भइरहेको छ । स्रोतका अनुसार केसीले अघि सारेका पाँचमध्ये दुई मागमा सकारात्मक सहमतिको संकेत देखिए पनि गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पदमुक्त गर्नुपर्ने मागमा भने सहमति जुट्न सकेको छैन । विवादित बुँदामा सहमति खोज्न आज पनि दुवै पक्षबीच थप छलफल जारी रहने जनाइएको छ । सरकारले संवादमार्फत निकास निकाल्ने प्रयास गरिरहेको जनाएको छ भने डा. केसी पक्षले मागहरूको स्पष्ट कार्यान्वयनको सुनिश्चितता खोजिरहेको छ ।