हिरक जयन्तीका अवसरमा होटल एक्स्पो– २०२६ आयोजना हुने

काठमाडौं । होटल संघ नेपाल स्थापनाको ६०औं वर्ष पुगेको अवसरमा आगामी २०८२ माघ २ गते शुक्रबार काठमाडौंमा संघले हिरक जयन्ती मनाउने भएको छ ।  उक्त अवसरमा विगतदेखि हालसम्म पर्यटन तथा होटल क्षेत्रमा भए गरिएका सफलता, सम्भावना र चुनौतीहरूका बारेमा चर्चा हुनेछ । संघको स्थापना दिवसका अवसरमा विगत २ वर्षदेखि मनाइँदै आएको सत्कार दिवस समेत मनाइनेछ । सो अवसरमा माघ २ र ३ गते दुई दिने होटल एक्स्पो–२०२६ को आयोजना हुनेछन् । उक्त एक्स्पोमा होटलहरूमा आवश्यक पर्ने ५० भन्दा बढी विभिन्न सर सामानहरूको स्टलहरू रहनेछन् भने विभिन्न कम्पनीहरूले उक्त कार्यक्रमलाई प्रायोजनको समेत भूमिका निर्वाह गर्ने होटल संघ नेपालले जनाएको छ । ‘टेक पावरर्ड हस्पिटालिटी’ थिममा आयोजित हिरक जयन्तीका अवसरमा ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरूले आतिथ्य उद्योगमा भए गरेका असल अभ्यासहरुको जानकारी रहनेछ भने होटलहरूमा प्रयोग भइरहेका अटोमेसन, प्रविधिमैत्री व्यवसाय सञ्चालन तथा एआई सहितको सेवा प्रवाह लगायतका विषयलाई कार्यान्वयनमा ल्याउन प्रोत्साहित गरिने जनाएको छ । यसैगरी, नेपाल होटल इएर बुक–२०२६ का साथै सातै प्रदेशका विभिन्न ६० थरिका मौलिक रैथाने खानाहरूको संग्रह फुड बुक सार्वजनिक गरिनेछ भने उक्त अवसरमा आमन्त्रित स्वदेशी तथा विदेशी पाहुनाहरूलाई उक्त मौलिक परिकारबाट सत्कार गरिने पनि होटल संघ नेपालले जनाएको छ । कार्यक्रममा मुलुकलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने होटल तथा पर्यटन उद्योगले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदान, यसबाट सृजित रोजगारी चर्चा गरिनेछ । पर्यटनको व्यापक सम्भावना बोकेको हाम्रो मुलुकमा पछिल्लो समयमा देशैभरि द्रुत गतिमा नयाँ ठूला होटलहरू खुल्ने क्रमले यसलाई व्यापकता दिएको छ । अन्तर्राष्ट्रिय चेन ब्राण्डका होटलहरुको आकर्षणले अझ यसलाई उजागर गरेको छ । मुलुकका केही गन्तव्यहरू मात्र नभएर सातै प्रदेशमा पर्यटन चलायमान बनाउन पनि यस कार्यक्रमले मद्दत गर्नेछ । कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मानित गरिने पनि संघले विज्ञप्तिमार्फत जनाएको छ । यस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न संघसंस्थाहरूलाई संघले अपिल गरिसकेको छ ।

कहाँ एपले सार्वजनिक गर्‍यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ यस्ता छन् विशेषता

काठमाडौं । डिजिटल ठेगाना तथा लोकेसन प्रविधिमा पछिल्ला वर्षहरूमा अग्रणी बनेको कहाँ एपले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ ।  कम्पनीका अनुसार उक्त प्रणालीले होस्टल सञ्चालनसँग सम्बन्धित दैनिक प्रशासनिक कामलाई डिजिटल, पारदर्शी र सहज बनाउनेछ ।  यसले देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ । पहिले नै कहाँ ट्यागमार्फत नेपालभरका घर, संस्था तथा व्यवसायहरूको डिजिटल ठेगाना व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गर्दै आएको कहाँ एपले विभिन्न सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्दै प्रविधिक सेवाको दायरा विस्तार गर्दै आएको छ ।  कम्पनीले ललितपुर महानगरपालिका, अन्य सरकारी तथा निजी निकायसँगका परियोजनासँगै नेपाल पर्यटन बोर्डसँग सहकार्य गरी १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन र लिस्टिङ समेत सम्पन्न गरिसकेको छ । प्रविधि क्षेत्रमा यसको अनुभवलाई आधार मानेर कहाँ एपले अब होस्टल सेवालाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको हो । परीक्षणकालमै आधा दर्जनभन्दा बढी होस्टलले यो फिचर प्रयोग गरिसकेका छन् । नयाँ फिचरका प्रमुख पक्षहरू विद्यार्थीको डिजिटल आवागमन ट्र्याकिङ विद्यार्थी कहिले होस्टल प्रवेश गर्छन् वा निस्कन्छन् भन्ने विवरण एपमा स्वचालित रूपमा अभिलेख हुने व्यवस्था गरिएको छ । यसले सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुका साथै व्यवस्थापन र अभिभावक दुवैलाई विश्वसनीय जानकारी प्रदान गर्छ । स्वचालित हाजिरी व्यवस्थापन दैनिक हाजिरी अब कागजी दर्ता हटाई पूर्ण रूपमा एपमै सुरक्षित रूपमा राखिनेछ । आवश्यक रिपोर्ट व्यवस्थापकले एक क्लिकमै पाउने हुँदा समय र स्रोत दुवै बचत हुने कम्पनीले जनाएको छ । सूचना तथा नोटिफिकेशन प्रणाली होस्टलका महत्वपूर्ण सूचना, नियम, शुल्क विवरण तथा आपतकालीन जानकारी विद्यार्थीले वास्तविक समयमा एपमार्फत प्राप्त गर्न सक्नेछन् । यसले सूचनाको पहुँच र पारदर्शिता दुवैलाई सुदृढ बनाउँछ । साथै सूचनाप्रणालीलाई निरन्तर सशक्त रूपमा सञ्चार हुने गरी विकास गरिएको छ । अटोमेटिक बिलिङ र हिसाबकिताब होस्टल शुल्क, खाने–बस्ने खर्च तथा अन्य सेवासम्बन्धी बिल स्वतः तयार भई एपमै उपलब्ध हुन्छ । विद्यार्थीले तिर्न बाँकी शुल्क तथा भुक्तानी विवरण तत्काल हेर्न सक्ने सुविधा समावेश गरिएको छ । भर्चुअल ३६० डिग्री टुर तथा बेड बुकिङ विद्यार्थीले होस्टलको कोठा तथा बेडको ३६० डिग्री दृश्य हेरेर उपलब्ध बेडको वास्तविक समय जानकारी प्राप्त गर्न सक्छन् । मनपर्ने कोठा वा बेड एपमै बुक गर्न सकिने भएकाले होस्टल खोज्ने प्रक्रिया झनै सहज हुने कम्पनीको दाबी छ । स्टुडेन्ट बुकिङ सिस्टम एपमा नजिकका तथा मनपर्ने होस्टलहरू खोज्न, विवरण हेर्न र अनलाइनकै माध्यमबाट बेड बुक गर्न सकिने सुविधा थप गरिएको छ । स्मार्ट डुअर बेल प्रणाली डिजिटल डुअर बेलमार्फत होस्टलमा प्रवेश गर्ने पाहुना वा विद्यार्थीको गतिविधि व्यवस्थापकको एपमा वास्तविक समयमा सूचित हुन्छ, जसले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँछ । कहाँ के हो ? मानिसहरूलाई हरेक स्थानको जानकारी दिन लोकेशन नेभिगेशनसहित विस्तृत विवरण दिन पृथक सोचेर सुरु गरीएको कहाँले विभिन्न स्थान, पर्यटन तथा सेवासम्बन्धी सम्पूर्ण जानकारी एउटै ठाउँमा उपलब्ध गराउने उद्देश्यसहित ‘कहाँ’ एप सार्वजनिक गरिएको थियो । एपले लोकेशन, नेभिगेसनदेखि विस्तृत विवरणसम्म सहज रूपमा प्रदान गर्ने भएकाले प्रयोगकर्ताले कुनै पनि स्थान वा सेवासम्बन्धी आवश्यक जानकारी तुरुन्तै पाउन सक्नेछन् । यस एपमा रहेको ‘च्याट एन्ड बुक’ सुविधामार्फत रेस्टुरेन्ट, होटल तथा होस्टलसँग प्रत्यक्ष रूपमा सम्पर्क गरी तत्काल बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, रेस्टुरेन्टहरूको मेनु लिस्टिङ र अनलाइन अर्डर प्रणालीले भोजन सेवाको पहुँचलाई थप आधुनिक बनाएको छ । प्रयोगकर्ताले कुनै स्थानमा जाने अघि नै भर्चुअल टुर र फोटो भ्यूमार्फत सम्पूर्ण दृश्यात्मक जानकारी प्राप्त गर्न सक्छन् । साथै, एपले नेपाली भाषामा विभिन्न हेरिटेज तथा सम्पदाका आधिकारिक विवरण उपलब्ध गराउँछ, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई ठोस र विश्वसनीय सामग्री प्रदान गर्छ । स्क्यान प्रणाली  मार्फत कुनै स्थान वा सेवासम्बन्धी क्यूआर कोड स्क्यान गरेलगत्तै सम्बन्धित विवरण देखिनेछ भने जिओफेन्सिङ अलर्ट सुविधाले प्रयोगकर्ता निश्चित स्थानमा पुगेपछि स्वत: सूचना प्रदान गर्नेछ । कहाँ एपमा व्यवसाय, होटल, होस्टल, सम्पदा तथा सेवा प्रदायकहरूको डिजिटल प्रोफाइलिङ समेटिएको छ, जसले सम्पूर्ण सेवा क्षेत्रलाई एकीकृत डिजिटल प्लेटफर्ममा ल्याउने अपेक्षा गरिएको छ ।

आन्दोलनपछि थप संकटमा शिक्षा क्षेत्र, जेनजीकै प्राथमिकतामा परेन

काठमाडौं । ‘आजभोलि विद्यार्थीलाई ठूलो स्वर गरी बोल्न नै नहुने, गृहकार्य किन नगरेको, किन विद्यालय नआएको ? भन्दा खाउँला जस्तै घुरिएर हेर्छन्, हेर्नेमात्र होइन, म जेनजी हो, गर्न पनि सक्छु, नगर्न पनि सक्छु ।’ ‘अहिले विद्यार्थी  किन हो डराइरहेको महसुस गर्छन्, ठूलो स्वरमा बोल्दा होस् वा कोही मान्छे जम्मा हुँदा होस् उनीहरू आत्तिन्छन्, विद्यार्थीमात्रै होइन कतिपय शिक्षकहरूमा पनि यस्तै त्रास पैदा भएको छ ।’  ‘पहिले डर मानेरै पढाइमा ध्यान दिने विद्यार्थी अहिले म नै हो भन्ने अहंमता देखाउँछन् ।’   आजभोलि प्रायः शिक्षकहरूबाट सुनिने गुनासा यस्तै खालका छन् ।  भदौमा भएको जेनजी आन्दोलनपछि नेपालको शिक्षा क्षेत्रमा आएको परिवर्तन यही हो । सामाजिक सञ्जाल नै हेर्ने हो भने युवाहरूले जेनजी हौं भन्दै विभिन्न कार्यालयमा सिधै गएर हप्काइदप्काइ गरेको, विद्यालयमा शिक्षकलाई थर्काएका भिडियोहरू देख्न सकिन्छ । यस्ता गतिविधिले शिक्षा क्षेत्रमा नकारात्मक असर परिरहेको छ ।   नेपालमा बेथिति र भ्रष्टाचार बढ्दै गएको असन्तुष्टिले जन्मेको थियो जेनजी आन्दोलन । गत भदौ २३ र २४ गते भएको आन्दोलनले ठूलो जनधनको क्षति भयो ।  आन्दोलनमा सरकारले चलाएको गोलीबाट विद्यार्थीहरू विद्यालय पोसाकमै प्राण त्यागे । कतिपय विद्यार्थीहरू अहिले पनि दिनहुँ अस्पताल धाइरहेका छन् ।   आन्दोलनको उद्देश्य सही भए पनि शिक्षा क्षेत्रमा यसले ठूलो प्रभाव पारेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । जेनजी आन्दोलनले शिक्षा क्षेत्रलाई अझै पछाडि धकेलेको र अझै नेपाली विद्यार्थी विदेश पलायन हुने डर बढेको विज्ञहरूको भनाइ छ ।   आन्दोलनमा धेरै शैक्षिक संस्थामा समेत आगजनी भयो । कतिपय शैक्षिक संस्था अहिले पनि अनलाइनमार्फत शिक्षा दिन बाध्य छन् भने कतिपय शैक्षिक संस्थाले भवन भाडामा लिएर सञ्चालन गरिरहेका छन् ।  जेनजी आन्दोलनमा पूर्णरूपमा ध्वस्त भएको युलेन्सले भवन भाडामा लिएर विद्यार्थीलाई शिक्षा दिइरहेको छ ।  बाँसबारीमा रहेको युलेन्सले आफ्नै जलेको भवन पुनःनिर्माण गरी विद्यार्थीलाई भौतिक रूपमा शिक्षा दिइरहेको छ भने खुमलटारमा रहेको युलेन्सले घरभाडामा लिएर शिक्षा दिइरहेको छ । यद्यपि मन्टेश्वरीका बालबालिकालाई घरमै राख्न अभिभावकसँग अनुरोध गरिएको छ ।  बस जल्दा विद्यार्थीसमेत विद्यालय पुग्न समस्या भएको छ ।   जोरपाटीमा रहेको नामी कलेजको पनि यस्तै अवस्था छ । यो आन्दोलनले शिक्षा क्षेत्रलाई अस्तव्यस्त पार्नु निकै दुःखद रहेको प्याब्सनका पूर्वअध्यक्ष डीके ढुंगाना बताउँछन् ।  ‘विद्यालयलाई शान्ति क्षेत्र हो भनिन्छन्, तर यहाँ हरेक आन्दोलनको मारमा सबैभन्दा पहिले विद्यार्थी, शिक्षक र विद्यालय पर्छन्,’ उनी भन्छन्, ‘विद्यालय क्षेत्रमा ठूलो मिहिनेत गरेर नेपाली विद्यार्थी नेपालमै रोक्ने कोसिस गरेका छौंं, यस्ता आन्दोलनले कतै फेरि विद्यार्थी बाहिर जाने त होइनन् भन्ने पीर परेको छ ।’  शिक्षा जेनजीको प्राथमिकतामा नै परेन   शिक्षाविद डा. विष्णु कार्की जेनजी आन्दोलनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराखेको बताउँछन् । ‘जेनजीले आन्दोलन गरे, सरकार परिवर्तन गरे,’ उनी भन्छन्, ‘नयाँ सरकारपछि पटकपटक प्रधानमन्त्री तथा मन्त्रीहरू भेटेको देखिन्छ, तर शिक्षाको सवाल लिएर शिक्षामन्त्रीलाई भेटेको देखिँदैन ।’  कार्की आफैले माग राखेर गरेको आन्दोलनका विषयमा आफैले कुरा नउठाउनु दुःखद रहेको बताउँछन् । अहिले जेनजीले शिक्षा क्षेत्रमा राम्रो काम गर्न सक्ने अवसर रहेको बताउँदै यो विषय प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ । ‘पटकपटक शिक्षकहरू सडकमा जान्छन्, अब जेनजीले त्यो समस्या समाधानका लागि पनि शिक्षामन्त्रीलाई भेट्नुपर्छ,’ कार्की भन्छन्,‘ जेनजीले शिक्षामन्त्रीसँग हातेमालो गर्दै गर्न सकिने सुधारका विषयमा काम गर्न सक्ने यो सुन्दर अवसर हो ।’  ‘नेपालमा समस्या हरेक क्षेत्रमा छन् तर सबैभन्दा धेरै समस्या शिक्षा क्षेत्रमा छ । नेपालका शिक्षालयमा विद्यार्थीको आकर्षण नभइरहेको, आवश्यकता अनुसार शिक्षक नभएको लगायतका विभिन्न समस्या शिक्षा क्षेत्रमा छन् । जेनजीहरूले यी विषयलाई उठाएर काम गर्नुपर्छ,’ कार्कीले जेनजीलाई सुझाव दिए ।  बुढानीलकण्ठका आभास कार्की अहिले तीनकुनेमा रहेको आईएसएमटी कलेजमा बीएचएम तेस्रो वर्षमा अध्ययन गर्दैछन् । उनी पढाइ सकिएपछि विदेश जाने सोंचमा छन् । उनी भन्छन्, ‘अहिले पढ्दैछु, नेपालका होटेल रेस्टुरेन्टमा काम पनि खोजिरहेको छु । पाइयो भने केही समय यतै गर्छु, अन्तिममा जाने भनेको विदेशमै त होला नि ।’  अभास नेपालमा पढ्ने र काम गर्ने दुवै माहोल नदेखेको बताउँछन् । ‘कहिले विद्यालयमै आगो लाग्छ, कहिले विद्यार्थीमाथि गोली चल्छ, यस्तो अवस्थामा यहाँ कसरी बस्न सकिन्छ ?,’ उनले भने ।  सोही कलेजमा अध्ययनरत अर्का विद्यार्थी स्नेहा डंगोल विद्यार्थीका लागि नेपालमा  राम्रो अवसर नभएको बताउँछिन् । उनी पनि नेपालमा राम्रो अवसर नपाए विकल्प विदेश नै हुने बताउँछिन् । नेपालकै बैंकिङ क्षेत्रमा काम गर्ने रुचि राखेकी उनले सके नेपालमै प्रयास गर्ने र नसके विदेश जाने योजना सुनाउँछिन् ।   विदेश जाने विद्यार्थीको संख्या अझै बढ्नसक्ने जेनजी आन्दोलनपछि विदेश जाने विद्यार्थीको संख्या अझै बढ्न सक्ने विज्ञहरू बताउँछन् । नेपालको शिक्षा क्षेत्र लामो समयदेखि राजनीतिक अस्थिरता, नीतिगत अनिश्चतता, भ्रष्टाचारबाट जेलिएको छ । जेनजी आन्दोलनपछि देखिएको शून्यता र अस्थिरताले शिक्षा क्षेत्रमा थप संकट थपिएको छ ।  जेनजी आन्दोलनमा सहभागी धेरै युवा अहिले विदेश गइसकेका छन् ।  शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले दिनहुँ विदेश जाने विद्यार्थीको संख्या बढ्दै गएको बताएको छ । आजभोलि विदेश अध्ययन गर्न चाहिने नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या बढ्दै गएको जनाएको छ ।   अनुमति शाखाका अनुसार अहिले प्रत्येक दिन ३ सय ५० देखि चार सय विद्यार्थी एनोओसी लिन पुग्ने गर्छन् । जेनजी आन्दोलन पछि बढेको अन्यौलताले नेपाली विद्यार्थीहरू विदेश जानेक्रम अझ बढ्न थालेको छ ।   अन्तिम अवस्थामा आएको ऐन रोकियो, शिक्षा क्षेत्रमा ऐन नहुँदा धेरै कुराहरू रोकिएका छन् । शिक्षा क्षेत्रको अधिकार स्थानीय तह, प्रदेश र संघ कसले राख्ने भन्ने स्पष्ट छैन । जवसम्म ऐन पारित हुँदैन तबसम्म तीन तहबीचको अधिकारको अस्पष्ट हुन्छ । जसले शिक्षा सञ्चालन र समन्यवमा  कानुनी खाल्डो सिर्जना गरेको छ ।  नेपालको संविधानले शिक्षा स्थानीयतहलाई दिएको भएपनि व्यवहारिक रूपमा लागू हुन सकेको छैन ।  शिक्षकहरू स्थानी तहअन्तर्गत नरहने भन्दै पटकपटक आन्दोलन गरिरहेका छन् ।  शिक्षा ऐन नहुँदा शिक्षा प्रशासन व्यवस्थापनले स्पष्टता गुमाएको छ भने शिक्षक अधिकार र करियर संरचना अस्पष्ट बनेको छ । यस्तै, शिक्षा गुणस्तर र समान पहुँचमा असमानता फैलिएको, आधुनिक शिक्षा योजनाहरूमा ढिलाइ भएको र अन्य नीतिगत सुधारमा ढिलाइ भएका छन् ।    ५४ वर्ष अगाडि बनेको शिक्षा ऐन, २०२८ ले नेपालको शिक्षा क्षेत्रमा काम गर्दा गुणस्तर नभएको प्रसंग धेरै पहिलेदेखि उठ्दै आएको हो । २०७४ सालपछि नयाँ शिक्षा ऐनका विषयमा छलफल भए पनि अहिलेसम्म ऐन बन्न सकेको छैन ।  निकै दौडधूपपछि गत भदौमा पारित हुन लागेको थियो । एक्कासि भएकोे राजनीतिक घटनाक्रमले सरकार परिवर्तन भएसँगै अहिले ऐन स्वतः निष्कृय बनेको छ । अब तत्काल ऐन पारित हुने सम्भवना देखिँदैन।    शिक्षाविद् डा. विष्णु कार्की ऐन आउन अझै समय लाग्दा शिक्षा क्षेत्रमा थप अन्यौलता थपिएको बताउँछन् ।   ‘सबै निकाय, व्यक्तिसँग छलफल गरेर ऐन आउनै लाग्दा भएको आन्दोलनले ऐन नै आउन सकेन, अब निर्वाचन हुन्छ, नयाँ व्यक्ति आउँछन्, यसोउसो गर्दा ६–७ महिना लाग्छ, यो भनेको शिक्षा क्षेत्रमा परेको असर नै हो,’ उनले भने ।  शिक्षाका जानकार जिलसेन शाह जेनजी आन्दोलनले शिक्षा क्षेत्रमा सकारात्मकसँगै नकारात्मक दुवै असर पारेको बताउँछन् । सकारात्मक पक्षमा पहिले विद्यार्थी केही जान्दैनन्, बुझ्दैनन् भन्ने भ्रम अहिले हटेको उनको भनाइ छ ।  ‘पहिले विद्यार्थीलाई जसरी पढाए पनि हुन्छ भन्ने सोंच शिक्षकमा हुन्थ्यो भने अहिले परिर्वतन आएको छ । शिक्षकमा पनि अब मिहिनेत  गर्नुपर्छ भन्ने त्रास बढेको छ, जुन कुरा सकारात्मक हो ।  यो आन्दोलनपछि शिक्षकहरू विद्यार्थीको कुरा सुन्ने, उनीहरूले भनेको मान्ने, आफूपनि तयारी गर्ने गरेको पाइन्छ,’ उनले भने ।  विद्यार्थीहरू हामी जेनजी हौं भन्दै गृहकार्य पनि गर्न नखोज्ने, हरेक क्रियाकलपामा हामी जेनजी हौं भन्दै अटेरी गर्ने प्रवृत्ति बढ्नु नकारात्मक पक्ष रहेको बताउँछन् शाह ।   डीके ढुंगाना जेनजी आन्दोलन पछि विद्यार्थी र शिक्षकहरूको मनोविज्ञानमा ठूलो प्रभाव परेको बताउँछन् । ‘के हुन्छ कसो हुन्छ भन्ने भन्ने दुविधा अझै रहेको छ । दुई दिनमा भएको आन्दोलनमा ठूलो जनधनको क्षति भयो,’ उनी भन्छन्, ‘आकस्मिक रुपमा भएको आन्दोलने कसैले साथी त कसैले आफन्त गुमाउँदा ठूलो मानसिक असर परेको छ ।’  शिक्षा क्षेत्रमा काम गर्नेहरूको दैनिकी भने हिजो र आजमा केही नफेरिएको उनको भनाइ छ।  ‘हाम्रो फेरिएको मनोविज्ञान हो, फेरिएको मानसिकता हो, कतिपय ठाउँमा राम्रो काम गरिरहेकाहरू पनि प्रताडित भए,’ उनी भन्छन्, ‘जेनजीको नाममा कतिपय अराजक व्यक्तिले अपराधिक काम पनि गरे । यसले भोलि कुनै ठाउँमा आन्दोलन हुँदा आफू सुरक्षित नहुने हो कि, पेशाकर्मी सुरक्षित नहुने हुन् कि, व्यवसायी सुरक्षित नहुने हुन् कि भन्ने चिन्ता बढेको छ ।’