काँकरभिट्टा नाकाबाट ८६ देशका साढे ९ हजार विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौं । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थल मार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा ९ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन । नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कूल आगमनको ५३ प्रतिशत अर्थात् ४ हजार ९९४ जना भुटानी नागरिक रहेका छन् । यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् २ हजार १५२ जना पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्य पर्यटकीय यामको रूपमा लिइएको छ । सबैभन्दा बढी पुस महिनामा १ हजार ८५० जना पर्यटक नेपाल भित्रिएका थिए भने सबैभन्दा कम भदौ महिनामा २१६ जना मात्र आएका थिए । पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीको भनाइ छ । अध्यागमन कार्यालयले सन् २०२४ अगस्टदेखि मात्र यस नाकाबाट पूर्ण रूपमा अध्यागमन सेवा सुरु गरेकाले धेरै विदेशी पर्यटकलाई यो नाका प्रयोग गर्नेबारे अझै पर्याप्त जानकारी भइनसकेको कार्यालयले जनाएको छ ।
डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, सोमबार साँझ तोडियो अनशन
काठमाडौं । विभिन्न माग राख्दै विगत साउन ७ गतेदेखि धनगढीमा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमति भएसँगै डा. केसीले सोमबार साँझ आफ्नो अनशन तोडेका छन् । गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्वार्थको द्वन्द्व हुने गरी गरिएका गैरकानुनी नियुक्ति खारेज हुनुपर्ने लगायतका माग राखेर अनशन बसेका उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो । सहमति अनुसार कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल कम्तीमा ३०० शैयाको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाउने र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि जनशक्ति भर्ना तथा शिक्षण अस्पतालको सम्पूर्ण व्यवस्थापन तुरुन्त पूरा गरिनेछ । साथै, विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्ति सम्बन्धी ऐन संशोधनको प्रक्रिया तीन महिनाभित्र संघीय संसदको चालु अधिवेशनबाटै अगाडि बढाउने प्रस्ताव सरकारसमक्ष पेस गर्ने तय भएको छ । चिकित्सा शिक्षातर्फ आयोगको मापदण्ड अनुसार सिट निर्धारण गरिने र निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने सहमति भएको छ । ऐन बमोजिम शिक्षण संस्थाहरूलाई क्रमशः गैर-नाफामूलक र सेवामूलक बनाउन अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिनेछ । त्यसैगरी, सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रमा परनिर्भरता अन्त्य गर्न पूर्वाधार विकास गर्ने, २०८२ भदौमा भएका घटनाका दोषीलाई कारबाही गर्ने र २०४६ यताका भ्रष्टाचारको छानबिनलाई तीव्र बनाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् । विगतका सहमति कार्यान्वयनको अध्ययन गर्न गठित कार्यदलको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा रहनेछ । सहमति पत्रमा डा. केसीसहित शिक्षा सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र सहसचिव चन्द्रकान्त भुसालले हस्ताक्षर गरेका छन् भने सांसद पुकार बम र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश प्रसाद अग्रवाल रोहबरमा रहेका थिए ।
यी हुन् प्रोटिनको कमी पूरा गर्ने फलफूल
काठमाडौं । प्रोटिन दाल, अण्डा वा मासुमा मात्र नभई फलफूलमा पनि राम्रो मात्रामा पाइन्छ । यदि तपाईंलाई प्रोटिनको कमी छ र अतिरिक्त प्रोटिन थप्न चाहनुहुन्छ यी पाँच फलफूल तपाईंको लागि उत्तम विकल्प हुन सक्छन्। यद्यपि यी फलफूलहरू प्रोटिनको मुख्य स्रोत होइनन्, तिनीहरूले तपाईंको दैनिक आहारको पोषणमूल्य निश्चित रूपमा बढाउँछन् । आउनूहोस् प्रोटिनको कमीलाई केही हदसम्म पूरा गर्न सक्ने यी शक्तिशाली फलफूलहरूको बारेमा जानौं । अम्बा प्रोटिनको हिसाबले अम्बा फलफूलको राजा हो । एक कप काटेको अम्बामा लगभग ४.२ ग्राम प्रोटिन हुन्छ । यसमा भिटामिन सी र फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ, जुन तपाईंको पाचन प्रणालीको लागि धेरै राम्रो हुन्छ । एभोकाडो एभोकाडो यसको स्वस्थ बोसोको लागि मात्र परिचित छैन, तर यसमा प्रोटिनको मात्रा पनि राम्रो हुन्छ । एक कप एभोकाडोमा लगभग ३ ग्राम प्रोटिन हुन्छ । तपाईं यसलाई टोस्टमा पिसेर वा आफ्नो सलादमा थप्न सक्नुहुन्छ, जसले तपाईंलाई लामो समयसम्म तृप्त राख्नेछ । कटहर यदि तपाईं शाकाहारी हुनुहुन्छ भने, कटहर तपाईंको लागि वरदानभन्दा कम छैन । एक कप पाकेको वा राम्ररी पकाएको कटहरमा लगभग २.८ ग्राम प्रोटिन हुन्छ । यसको बनावट मासु जस्तै हुने भएकाले यसलाई ‘शाकाहारी मासु’ पनि भनिन्छ । खुर्पानी सुकेको होस् वा ताजा, खुर्पानी प्रोटिनको राम्रो स्रोत हो । एक कप काटेको ताजा खुबानीले लगभग २.३ ग्राम प्रोटिन प्रदान गर्दछ । यो पोटासियम र भिटामिन ए को खजाना पनि हो । यसले आँखाको ज्योति र छालाको चमक बढाउन मद्दत गर्छ । तपाईं यसलाई ओट्स वा दहीसँग मिसाएर खान सक्नुहुन्छ । किवी किवी रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्र नभई प्रोटिनको लागि पनि राम्रो छ । एक कप किवीमा लगभग २ ग्राम प्रोटिन हुन्छ। किवीको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसको एक्टिनिडिन नामक इन्जाइम हो। जसले प्रोटिनको पाचनमा मद्दत गर्छ । यी फलफूलहरूले तपाईंको आहार सन्तुलनमा राख्न मद्दत गर्छन् । यदि तपाईं कसरत गर्नुहुन्छ भने, आफ्नो खानामा तिनीहरूलाई थप्नु बुद्धिमानी विकल्प हो। तर याद राख्नुहोस्, यी फलफूलहरूले तपाईंको सम्पूर्ण प्रोटिन कोटा पूरा गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई अन्य प्रोटिन स्रोतहरूसँग सन्तुलित गर्नु उत्तम तरिका हो ।