त्रिविमा रहेका बैंक शाखाको भाडा समायोजन गर्न सुझाब

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले तयार पारेको प्रतिवेदनले बैंकका शाखा तथा काउन्टर कार्यालयलाई दिएको भाडादर समय सापेक्ष बनाउन सुझाव दिएको छ ।  विसं २०२६ मंसिर २२ गतेको रजिस्ट्रार कार्यालयको पत्रका आधारमा त्रिविका सम्पूर्ण कार्यालय, प्राध्यापक, कर्मचारी, त्रिविको निवृत्तिभरण भुक्तानीको सम्पूर्ण कार्य, विद्यार्थी लगायत अन्य सेवाग्राहीहरूलाई बैंकिङ सेवा प्रवाह गर्न नेपाल बैंकलाई जग्गा उपलब्ध गराएको थियो ।  उक्त जग्गा प्रयोग गरे बापत बैंकले हाल त्रिविलाई वार्षिक १६ हजार २९६ रुपैयाँ भाडा बुझाइ रहेको प्रतिवेदनमा उल्लेख छ । जग्गा प्रयोगको विषय विधि सम्मत प्रक्रिया पुरा गरेर समयसापेक्ष प्रचलित बजार भाउ वा काठमाडौं जिल्ला प्रशासनद्वारा तोकिएको भाडा दर कायम गर्दै जानुपर्ने प्रतिवेदनले औंल्याएको छ । यस्तै, नेपाल बैंकलाई बैंक काउण्टर सञ्चालनका लागि विसं २०७५ असार २८ गते प्रतिस्पर्धाका आधारमा ६६७ वर्गमिटरको भवन भाडामा दिएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । सम्झौता १० वर्षको हुने र उक्त भवनको मासिक भाडा बापत बैंकले पहिलो २ वर्षको लागि प्रतिमहिना २५ हजार रुपैयाँ तिर्ने रहेको छ । साथै प्रत्येक दुई वर्षमा मासिक भाडामा १० प्रतिशत थप गरी क्याम्पसलाई बुझाउने र विद्युत तथा पानीको लागतको बिल अनुसारको पैसा बैंकले तिर्ने सहमति भएको भेटिएको प्रतिवेदनमा उल्लेख छ ।  यस्तै, त्रिविबाट उपकुलपति कार्यालय अगाडिको १ हजार वर्ग फिट क्षेत्रफल रहेको जमिन त्रिवि कार्यकारी परिषदको विसं २०६५ साउन २७ गतेको निर्णयबाट सम्झौता गरी ग्लोबल आइएमई बैंकलाई भाडामा दिएको थियो । त्रिवि कार्यकारी परिषदको विसं २०६५ साउन २७ गतेको निर्णय बमोजिम ग्लोबल आइएमई बैंकलाई त्रिविको स्वामित्वमा रहेको १ हजार वर्ग फिट जग्गा उपलब्ध भएको र बैंकले भवन निर्माण गरी मासिक १५ हजार रुपैयाँ (कर कट्टी बाहेक) भाडा बुझाउने गरी १० वर्षका लागि विसं २०६५ असोज ५ गते त्रिविसँग सम्झौता गरेको थियो ।  साथै, विसं २०७५ जेठ १० गते बैंकसँग पुनः अर्को सम्झौता गरी उत्तर तर्फको तत्कालीन समयमा गोदामको रुपमा विश्वविद्यालय क्याम्पसले प्रयोग गरिरहेको ५ वटा सटरहरूमध्ये १ हजार ३५१.१३ वर्गफिटको ३ वटा सटर कवोल मासिक ४० हजार रुपैयाँ (कर कट्टीसहित ) र प्रत्येक २/२ वर्षमा १० प्रतिशतले वृद्धि हुने गरी विसं २०७५ भदौ ५ गतेदेखि लागू हुने गरी १० वर्षका लागि भाडामा दिएको प्रतिवेदनमा उल्लेख छ ।  प्रतिवेदन अनुसार भाडा रकममध्ये आधा रकम त्रिवि केन्द्रीय कार्यालयको निवृत्त भरण कोषमा जम्मा गराउने भनी कार्यकारी परिषदको विसं २०७५ वैशाख ३१ गतेको निर्णयबाट स्वीकृत भएकोमा पुनः कारणबस नयाँ स्थानमा बैंक सञ्चालन गर्न अवरोध भएकोले कार्यकारी परिषदको विसं २०७६ असोज १० गतेको निर्णयबाट पुनः साबिककै सम्झौताका अन्य सर्त बन्देज कायम हुने गरी विसं २०७६ असोज ३० गतेबाट पुनः १० वर्षका लागि भाडा रकम २८ हजार ५९० रुपैयाँ हुने गरी समायोजन भई मासिक भुक्तानी गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले समितिलाई दिएको जानकारी अनुसार सम्झौता बमोजिम निरन्तर बैंकिङ सेवा दिँदै आएको जनाएको छ । बैंकले त्रिविलाई नियमित रूपमा भाडा रकम बुझाउँदै आएको र त्रिविको कुनै गुनासो नआएको प्रतिवेदनमा उल्लेख छ । शिक्षामन्त्री महावीर पुनले सार्वजनिक गरेको प्रतिवेदन बैंकहरुले भाडामा लिएको स्थानका बारेमा कुनै उजुरी र गुनासो नआए पनि जिल्ला प्रशासन कार्यालयद्वारा निर्धारित भाडा दर र उक्त क्षेत्रमा प्रचलित भाडा दर बमोजिम पुनः मूल्याङ्कनका लागि निर्धारण गर्दा उपयुक्त हुने समितिको सुझाव छ । सरस्वती बहुमुखी क्याम्पसको दक्षिणतर्फ मुल गेटमा एक सटर बैंक कार्यको लागि दिएको भेटिएको छ । तर, कुन बैंकलाई दिएको हो भनेर उल्लेख गरिएको छैन ।

नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ ।      मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्रचार गरिएको जानकारी दिए । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि  निर्देशन दिइएको उनले बताए ।      पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । उनका अनुसार तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।      मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइनेसमेत निर्देशन दिएको उनले बताए । यस्तै मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।  

बाढी-पहिरोको बितण्डापछि स्वास्थ्य विपदको जोखिम

काठमाडौं । असोज १८ र १९ गते परेको बाढी-पहिरोले काठमाडौं उपत्यका लगायत देशको पूर्वी क्षेत्र बढी प्रभावित भयो । विभिन्न ठाउँ डुबानमा परे भने इलाम लगायतका केही ठाउँमा ठूलो मानवीय क्षति भयो । काठमाडौं उपत्यकाबाट देशभर जोडिने मुख्य नाका बिपी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्ड बन्द भए। मौसममा आएको  सुधारसँगै अवरुद्ध सडक खुले । अवस्था सामान्य हुँदैछ तर, स्वास्थ्य विपद्को सम्भावना भने अब उच्च हुँदै गएको विज्ञहरू बताउँछन् । पानीमा मिसिएको फोहोर मृत जनावर र दूषित खानेपानीका कारण रोग फैलिने जोखिम उच्च हुन्छ । यस्तो बेलामा पानीजन्य रोगसँगै किट र हावा जन्य रोगको जोखिम हुने विज्ञहरूको चेतावनी छ । अहिले मौसम परिवर्तन हुनेबेला त्यसै पनि स्वास्थ्य समस्या हुन  सक्ने बताउँदै प्रभावित क्षेत्रमा अझ बढी जोखिम हुनसक्ने विज्ञहरू बताउँछन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन प्रभावित क्षेत्रमा झाडापखाला, हैजा, टाइफाइड, कमलपित्त, इकोलाइ, लेप्टोस्पाइरोसिसँगै डेंगु र स्क्रबटाइफस जस्ता रोगको संक्रमण बढी हुने बताउँछन् । उनी भन्छन्, ‘अहिले कीटजन्य  रोगहरू बढी रहेका छन्, अब बाढी पहिरोपछि यस्ता रोगहरू फैलन सक्ने सम्भावना बढी हुन्छ ।’ प्रभावित क्षेत्रका नागरिक अहिले घरवासविहीन छन्, घरबार भएकाहरूको पनि घरमा भएको सबैकुरा नष्ट भएको छ । कतिपय आफन्तको घरमा अझै शरणमा बसिरहेका छन् । यस्तो बेलामा मानसिक स्वास्थ्य समस्याको अवस्था पनि भइरहेको हुन्छ । यस्तो संकटमा प्रभावित नागरिकमात्र आफ्नो स्वास्थ्यको ख्याल गर्न नसक्ने भन्दै स्थानीय सरकार र प्रभावित नभएको ठाउँका स्थानीयहरूले पनि सहयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । पानीजन्य रोग बाढी प्रभावित क्षेत्रमा सबै किसिमका सरुवा रोगको संक्रमण हुने सम्भावना निकै हुन्छ । तुरुन्त यस्ता रोगहरू देखा नपरेपनि बिस्तारै रुघाखोकी, झाडापखाला जस्ता रोग फैलनसक्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा सबैभन्दा पहिले पानीजन्य रोगहरू फैलन सक्छन् । दूषित पानी वा पानीसँग सम्बन्धित खानेकुरा खाँदा पानीजन्य रोगहरू लाग्छ । यी रोगहरू प्राय ब्याक्टेरिया भाइरस प्रोटोजोवा वा परजीवीबाट फैलिन्छ । बाढी प्रभावित क्षेत्रमा खानेपानीका मुहानमा फोहोर अथवा ढल, खोलको फोहोर पानी मिसिने सम्भावना धेरै रहन्छ । ढल मिसिएको खानेपानी नागरिकले पिउँदा झाडापखाला, हैजा, टाइफाइड, हेपाटाइटिस लगायतका विभिन्न रोगहरू लाग्ने सम्भावना बढी हुने डा. पुन बताउँछन् ।  दूषित पानी पिउँदा पानी जन्य रोगको संक्रमण फैलन सक्छ । ढल मिसिएको फोहोर पानी पिउँदा हैजा फैलने सम्भावना धेरै हुँदा यसले एक्कासि भयावह रूप लिन सक्ने उनको भनाइ छ । केही महिना अगाडि बारा र पर्साका विभिन्न पालिकामा हैजा फैलिएको थियो । समयमै ध्यान दिइएन भने यस्ता महामारीले ज्यानै समेत जान सक्ने भन्दै विज्ञहरू सतर्कता अपनाउनुपर्ने बताउँछन् ।  कीटजन्य रोग चिकित्सकका अनुसार पानीजन्य रोगसँगै कीटजन्य रोगको जोखिम पनि यतिबेला उच्च हुन्छ । कीरा, लामखुट्टे, मख्खीले किटाणु बोकेर मानिस वा जीवजन्तुमा लाग्ने रोगलाई कीटजन्य रोग भनिन्छ । यि रोगहरू मानिससँग प्रत्यक्ष सम्पर्क नभइ कीटमार्फत फैलने गर्छ । यसरी फैलने रोगमा डेंगी, मलेरिया, चिकुनगुनिया, जापानिज एन्सफलाइटिस लगायतका रोगहरू पर्दछन् । यो रोग विशेषगरी मच्छरको टोकाइबाट मानिसमा लाग्ने गर्छ । बाढीपछि प्रभावित क्षेत्रमा यस्ता कीटजन्य रोगहरू फैलन सक्ने सम्भावना भएकाले नागरिक आफै सचेत रहनुपर्ने चिकित्सकहरूको भनाइ छ ।  डा. पुन भन्छन्,‘झरी रोकिएपछि ठाउँठाउँमा पानी जमेको हुन्छ । यस्तो ठाउँमा जमेका पानीमा डेंगी सार्ने लामखुट्टेको वृद्धिविकास हुने सम्भावना  हुन्छ, लामखुट्टेको वृद्धिसँगै डेंगी फेलनसक्ने सम्भावना अझ बढ्छ ।’ उनी यसबाट बच्न नागरिकले वरिपरी पानी जमेका ठाउँ पुर्ने, हातखुट्टा पुरै छोपिने गरी लुगा लगाउने र झुलको प्रयोग  गर्नुपर्छ । यसका लागि स्थानीय सरकारले प्रभावित क्षेत्रमा अभियान नै सुरु गर्नुपर्ने पुनको भनाइ छ । डेंगीलाई सामान्य रूपमा लिँदा ज्यानै जाने सम्भावना हुने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सावधानी अपनाएर बस्न पुनको आग्रह छ । हावाजन्य रोग हावामा रहेका विभिन्न सुक्ष्मजीवीहरू जस्तै ब्याक्टेरिया, भाइरस फंगस मान्छेको श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्छन् । प्रभावित क्षेत्रमा हावा जन्य रोगको माध्यामबाट सर्ने रोगको जाखिम पनि उच्च रहन्छ । चिकित्सकका अनुसार हावामार्फत ब्याक्टेरिया मान्छेको शरीरमा प्रवेश गरिसकेपछि शरीरसँग आक्रमण गर्न खोज्छन् । यस्ता रोगमा ट्युबरकुलोसिस (टीबी), एन्फुलुएन्जा, निमोनिया, मिजल्स लगायतका रोगहरू लाग्ने गर्छन् ।  मान्छेसँग बोल्दा, खोक्दा, हाच्य गर्दा हावामा फैलिएका कणहरू मानिसको शरीरमा प्रवेश गर्ने गर्छन् ।  पुन भन्छन्, ‘घरवारबिहीन हुँदा सबै धेरैजनासँग व्यक्तिले एउटै भवनमा बस्नुपर्ने अवस्था आउनसक्छ, धेरै व्यक्तिसँगै हुँदा यस्ता रोगहरू पनि प्रभावित क्षेत्रमा देखिने गर्छन् ।’  यसरी विभिन्न माध्यमबाट रोग फैलन सक्ने सम्भावना हुँदा समयमै उपचार हुन सकेन भने अवस्था गम्भीर आउन सक्ने उनको भनाइ छ ।  लेप्टोस्पाइरोसिस बाढी प्रभावित क्षेत्रमा लेप्टोस्पाइरोसिसको जोखिम उच्च रहन्छ । लेप्टोस्पाइरोसिस एउटा पानीजन्य र जनावर–सङ्क्रमित रोग हो । जुन नामक लेप्टोस्पाइरा नामक ब्याक्टेरियाबाट हुन्छ ।  यो ब्याक्टेरिया जनावरको मुत्र (पिसाब) विशेषगरी मुसा, गाई, सुँगुर, कुकुर आदि) मार्फत पानी, माटो वा खाना दूषित भएपछि मानिसमा सर्छ । बाढी, फोहर पानी, पोखरी वा हिलो माटोमा भएको दूषित पानीसँग छाला वा खुला घाउ सम्पर्क हुँदा मानिसमा सर्छ । यस्तै जनावरको मुत्र (पिसाब) वा त्यसबाट दूषित पानी र माटोसँग सम्पर्क हुँदा, दूषित पानी वा खाना पिउँदा, संक्रमित जनावर वा पशुजन्य वस्तु (जस्तै गोठालो, पशुपालन गर्नेहरू) सिधा सम्पर्कमा आउँदा यो रोग लाग्ने गर्छ ।  डा. पुन बाढी र पहिरोपछि यस्तो रोगको जोखिम निकै बढ्ने सम्भावना रहने बताउँछन् । उनी भन्छन्,‘ विभिन्न देशमा गरिएको अध्ययनले बाढी-पहिरो पश्चात यो रोग देखिएको देखाएकाले प्रभावित क्षेत्रमा यसको जोखिम उच्च रहन्छ ।’ उनका अनुसार नेपालमा वर्षायाममा यो संक्रमण भएका बिरामीहरू भने उपचारका लागि अस्पताल आउने गर्छन् ।  स्वास्थ्य मन्त्रालयको आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावित क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै काम गरिरहेको बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढथोकीले बाढी गएकै दिन सूचना निकाल्दै जोखिमको चेतावनीसहित सूचना निकालेर सजग रहन आग्रह गरेको बताउँछन् ।   ‘हामीले प्रभावित क्षेत्रका स्वास्थ्य संस्थासँग समन्वय गरेर आवश्यक निर्देशन पनि दिइसकेका छौं,’ डा बुढाथोकी भन्छन्, ‘समयमै सजग रहँदा यस्ता जोखिमबाट बच्न सक्छौं पटकपटक विज्ञप्तिमार्फत स्थानीय स्तरका स्वास्थ्यकर्मीमार्फत हुनसक्ने स्वास्थ्य विपदबारे सजग गराइरहेका छौं ।’ ‘प्रकोपका समयमा व्यक्तिको घरबार नष्ट भएको हुन्छ । कतिपयले आफन्त गुमाइरहेका हुन्छन् । यस्तो अवस्थामा थप स्वास्थ्य समस्या हुनसक्ने जोखिम हुन्छ, बाढीको बेला हैजा, झाडपाखालाजस्ता संक्रमणजन्य जोखिम बढी हुने भएकाले निकै सजग रहनुपर्ने हुन्छ,’ उनले भने । उनी यस्तो बेलामा स्वच्छ खाना पानी र बासस्थानको अभावले शारीरिकसँगै मानसिक रूपमा समेत असर पर्ने बताउँछन् ।  मन्त्रालयले स्थानीयस्तरमा रहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिलाई यस्ता जोखिमबाट बच्न सचेतना जगाउन निर्देशन दिइसकेको छ भने कुनै पनि रोगको लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउन आग्रह गरेको छ  ।