निजामती कर्मचारीलाई दाङमै स्वास्थ्य सेवा उपलब्ध हुने

देउखुरी । काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तारसम्बन्धी औपचारिक सम्झौता भएको छ । बुधबार निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मी र प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा श्याम लम्सालले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।      दुवै पक्षले गरेको सम्झौता अनुसार अब निजामती कर्मचारीले निजामती अस्पतालमार्फत पाउँदै आएका सेवा र सुविधाहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त गर्ने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा रमेश कँडेलले जानकारी दिए । उपचारका साथै दुवै संस्थाले जनशक्ति, तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।      निजामती अस्पतालले कर्मचारीलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट दिँदै आएको छ । बहालवाला अधिकृतस्तरका कर्मचारीलाई ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सेवा निवृत्त कर्मचारीले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ ।      सेवा प्राप्त गर्न कर्मचारीले विशेष सफ्टवेयर प्रणालीमा आवद्ध हुनुपर्ने निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले बताए । 'कर्मचारीले आफ्नो र परिवारका सदस्यको नामसहितको फारम भर्नुपर्ने हुन्छ । उक्त विवरणलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कमार्फत ‘निजामती किताबखाना’को डाटाबेससँग जोड्नेछ । अस्पतालमा उपचारका लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम प्रविष्ट भएपछि किताबखानाले रुजु गरेपछि कर्मचारी सरहको सुविधा प्राप्त हुनेछ', उनले भने ।      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने लक्ष्य राखेको छ । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा लम्सालका अनुसार देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये निजामती कर्मचारीको सेवाका लागि यस्तो पहल गर्ने दाङ पहिलो भएको छ ।      निजामती अस्पतालका कार्यकारी निर्देशक प्राडा रेग्मीले राज्यको दायित्व पूरा गर्न सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुरूप राप्तीसँग सम्झौता गरिएको बताए । विगत दुई वर्षदेखि एमबिबिएस र एमडीरएमएसजस्ता शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यो सम्झौताले विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । रासस   

काठमाडौंमा प्रदूषण उच्च, घरबाहिर ननिस्कन प्रहरीको अनुरोध

काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले बुधबार सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ ।      विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए ।  मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध पनि गरिसकेको छ ।    

प्याकेजमा समेटिँदै पोखरादेखि मुक्तिनाथ, न्यूनतम २ हजार ९९९ रुपैयाँ

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशले पर्यटन यातायातका माध्यमबाट पोखरादेखि हिलमापारीको जिल्ला मुस्ताङको मुक्तिनाथसम्मका धार्मिक पर्यटकीय गन्तव्य समेट्ने भएको छ । पोखरादेखि मुस्ताङसम्मका धार्मिक पर्यटकीय गन्तव्यलाई यही चैत १ गतेदेखि पर्यटन यातायातका माध्यमबाट समेट्न लागिएको सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले जानकारी दिए । गण्डकी प्रदेश धार्मिक पर्यटनको गन्तव्य भएको बताउँदै उनले यहाँको धार्मिक पर्यटनको प्रवर्द्धन र विकासलाई सङ्घले प्राथमिकतामा राखेको उनले बताए । पोखराबाट मुक्तिनाथसम्मका गन्तव्यलाई एउटै यात्रामा अवलोकन गर्न पाउने गरी सङ्घले सुलभ दरमा आकर्षक प्याकेजसहित मुक्तिनाथ दर्शनको सेवा सुरु गर्न लागेको कार्यक्रम संयोजक एवं सङ्घका निवर्तमान अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । पोखरादेखि मुक्तिनाथसम्म यात्राका क्रममा बाटोमा पर्ने धार्मिक पर्यटकीय गन्तव्यलाई एउटै प्याकेजमा समेट्न लागिएको उनले बताए । ‘हामीले पोखरादेखि मुक्तिनाथसम्मको दुई दिने प्याकेज तयार गरेका छौँ । पहिलो दिन पोखराबाट दृश्यावलोकन सहित पर्यटकहरू कुश्मा बजार, बाग्लुङ कालिका मन्दिर, गलेश्वर मन्दिर दर्शनका साथै तातोपानी, मार्फा गाउँ अवलोकन गर्दै जोमसोम पुग्नेछन् भने दोस्रो दिन जोमसोमबाट कागबेनी हुँदै मुक्तिनाथको दर्शन गरी  पोखरा फर्कन्छन्,’ उनले भने । प्रयोग गरिने सवारीसाधनसँगै होटलको खाना र खाजाको अवस्थाअनुसार न्यूनतम् २ हजार ९९९ रुपैयाँदेखि ३ हजार ९९९ रुपैयाँ, ४ हजार ९९९ रुपैयाँ र ५ हजार ९९९ रुपैयाँसम्मका प्याकेज निर्धारण गरिएको उनको भनाइ छ ।  पछिल्ला समयमा देशका विभिन्न स्थानबाट आउने पर्यटकसँगै भारतीय पर्यटक र अन्य विदेशी मुलुकका पर्यटकहरू ठूलो सङ्ख्यामा मुक्तिनाथ पुग्ने गरेको संघका सल्लाहकार एवं पूर्व अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । स्वदेशी एवं विदेशी पर्यटकको सुविधालाई दृष्टिगत गरी उक्त क्षेत्रमा सुरु गरिएको आकर्षक प्योकजसहितको कार्यक्रमले पर्यटकलाई सुविधा पुग्ने र यसले पर्यटकको आगमन बढाउने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार सङ्घअन्तर्गत आबद्ध १२४ सदस्यहरूले विभिन्न सुविधा सम्पन्न पर्यटक सवारीसाधन सञ्चालन गर्दै आएका छन् ।