यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा
राम थापा र सन्तोष गौतम काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ । पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रवर्द्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्त्वपूर्ण योगदान रहेको छ । ‘विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाइ गरेर लुङटुङको डाँडामा पर्यटक भित्र्याउन पहल नगरेको भए जति नै सुन्दर भए पनि यो क्षेत्र ओझेलमै रहन्थ्यो,’ उनले भने, ‘मेजर टेकबहादुरले लुङटुङको डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलियो, पर्यटकीय गतिविधि सुरु भएपछि गाउँलेको आर्थिक हैसियत पनि बदलियो ।’ पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने, मुक्तिनाथ तीर्थयात्राका क्रममा थकान मेटाउने र बटुवाहरूले घोडालाई पानी खुवाउने थलो थियो । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रका बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उनले बताए । स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रूपक रिमालले बताए । ‘चैतवैशाखमा पाखाभरि ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुसमाघमा यहाँ हिउँ खेल्न पाइन्छ,’ उनले भने, ‘प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी-पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।’ घोडेपानी-पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा ५४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति १५० रुपैयाँ र नेपालीले ५० रुपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक १५० देखि २ सय जनासम्म विदेशी पर्यटक आएका बताए । ‘गत वर्ष यही याममा दैनिक ४ सय जनाको अनुपातमा पर्यटक आएका थिए । जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ,’ उनले भने । घोडेपानीमा बास बसेका पर्यटकहरू एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटल छन् । पर्यटकलाई अग्र्यानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायत सुविधा उपलब्ध गराइएको छ । समुद्री सतहदेखि २ हजार ८०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी-उलेरी-घोडेपानी, नयाँपुल-घान्द्रुक-घोडेपानी, म्याग्दीको नागी-महरे-फूलबारी-घोडेपानी र तातोपानी-घार-शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरू सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । ‘पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ,’ उनले भने, ‘पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्र्याउन प्रयास गरिरहेका छौँ ।’ हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा-जोमसोम आवतजावतका लागि छोटो र विकल्पका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष खड्काले बताए । रासस
सकसपूर्ण दशैं यात्रा, १० दिनमा १ लाख ३४ हजार हवाई यात्रा
काठमाडौं । सामान्य अवस्थामै पनि हरेक वर्ष दशैंको यात्रा निकै सकसपूर्ण हुने गरेको छ । चाहे त्यो हवाइजहाजको यात्रा होस् या सडक यात्रा दुवै कष्टकरपूर्ण हुन्छ । सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दशैं सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दशैंको यात्रा कष्टकर हुने गरेको छ । हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट नपाउने समस्या छ । बसको टिकट पाउन पनि मुस्किल पर्छ । सधैँ जसो दशैंको सकसपूर्ण यात्रालाई यसपटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो । दशैंको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो । मानवीय क्षति व्यहोर्नुपर्यो । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू अवरुद्ध भए । हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो । असोज १८ गते उडान प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्दसमेत भयो । उक्त दिन प्रतिकूल मौसम तथा खराब ‘इनरुट’का कारण हवाई उडान रद्द हुँदा उडानमा समेत अत्यधिक चाप बढ्यो । वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दशैंको बेला उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दशैंमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको बताए । ‘दशैंमा सामान्य अवस्थामा पनि हवाई उडान अत्यधिक चाप हुन्थ्यो । यसपटक प्राकृतिक विपत्तिले झनै सास्ती दियो । गन्तव्य पुगेकालाई फर्कन झनै सकस भयो । सडक अवरुद्ध हुँदा हवाई उडान चाप बढ्यो,’ उनले भने । दशैंमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातका रूपमा हवाईसेवालाई लिइन्छ । बर्सेनि दशैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैंआउन एक महिनाअघि नै जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । उसै पनि दशैंमा चाप हुने गरेको हवाई उडान वर्षात्पछिका बाढीपहिरोको विपत्तिले थप समस्या निम्त्यायो । यात्रुले महँगो मूल्य तिरेर पनि हवाई टिकट पाउन सकेनन् । समस्यामा परेका यात्रु २/४ दिनसम्म टिकटका लागि भौतारिनु पर्यो । हवाइसेवा कम्पनीलाई पनि यात्रुको चाप र प्रेसर धान्न ठूलै सकस भयो । यात्रुलाई माग बमोजिम टिकट उपलब्ध गराउन नसक्नु र हवाई उडान व्यवस्थापनको चुनौतीले एयरलाइन्स कम्पनीले पनि उत्तिकै सकस व्यहोरे । यात्रुको चाप बढेपछि एयरलाइन्सले केही गन्तव्यमा उडान थपेर पनि सेवा दिए । राति २ बजेदेखि ३ बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता रह्यो । १० दिनमा १ लाख ३४ हजारले गरे हवाई यात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार १० दिनमा करिब डेढ लाखले हवाई यात्रा गरेका छन् । असोज १२ देखि २१ गतेसम्म कुल १ लाख ३४ हजार ५१५ यात्रुले हवाई यात्रा गरेका हुन् । यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौं भित्रिएका छन् । उक्त अवधिमा १ हजार २८५ उडान र १ हजार २६३ अवतरण गरी कुल २ हजार ५४८ उडान भएका छन् । एकै दिन १९ हजार २५५ हवाई यात्रु विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिक तर्फ एकैदिन १९ हजार २५५ यात्रु आवतजावत गरेका छन् । जसमध्ये ९ हजार ९३६ हवाई यात्रु काठमाडौं भित्रिए भने ९ हजार १३८ बाहिरिएका छन् । १८१ यात्रुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरेका छन् । उक्त दिन आन्तरिक तर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भएका थिए । आकडा अनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाई यात्रा गरेका छन् । वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाई यात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको सङ्घका अध्यक्ष कार्कीले बताए । यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ । दशैंको समयमा भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए । ‘दशैंको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको ३/४ दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो,’ उनले भने, ‘बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ । शनिबारदेखि सामान्य अवस्थामा आउला ।’ बुद्ध एयरले मात्रै असार २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ । कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्दै आएको छ । उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दशैंको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापन निकै सास्ती व्यहोर्नुपरेको बताए । ‘दशैंमै एक्कासी परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो । गत वर्ष दशैं अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दशैंमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन । यो पटक हवाई यात्रा सकसपूर्ण रह्यो,’ उनले भने । क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताए । यतीले अहिले दैनिक दुईतर्फी ६० देखि ७० उडान गरिरहेको छ । यता श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताउँछन् । केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको बताए । टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको उनले उल्लेख गरे । श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्दै आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर अनुसार काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा १७ हजार ५७९ रुपैया र सबैभन्दा नजिक काठमाडौं-सिमरामा ३ हजार ९७८ रुपैयाँ रहेको छ । अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा हवाई यात्रा गर्ने यात्रुलाई समेत निकै सास्ती भयो । हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घण्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो । बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्यो यात्रुले । उदाहरणका रूपमा धरानबाट काठमाडौं आउने बोलेरो जिपले साबिकमा २ हजार रुपैयाँ भाडा लिने गरेकामा दशैंमा ३ हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म भाडा लिएको पाइयो । त्यसैगरी, कटारी–काठमाडौं साविकमा १ हजार २ सय रुपैयाँ भाडा थियो । अहिले यात्रुले ३ हजार रुपैयाँसम्म तिरेर यात्रा गर्न बाध्य भएका छन् । हरेक वर्ष दशैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रामाइलो गर्ने चाहना सबैलाई हुन्छ । तर, दशैंमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ । हवाई यात्रुको चाप बढ्छ । सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाई यात्रुले सास्ती व्यहोर्दै आएका छन् । हवाई यात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।
सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक
काठमाडौं । अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङखला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । ५ वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगेको छ । ढोरपाटन र म्याग्दीको धवलागिरि गाउँपालिकाबाट तल्लो जलजला सडक सञ्जालले जोडिएको हो । सडक जोडिए पनि बर्खाको समयमा सवारी नचल्दा पर्यटकले सास्ती खेप्नुपरेको छ । ढोरपाटन उपत्यकाबाट घना जङ्गल र ठूला जङ्घार पार गर्नुपर्ने हुँदा यस वर्ष दसैँमा पर्यटक जलजला पुग्न सकेनन् । जलजला पुग्नका लागि तीन स्थानमा गाठे साँघु तर्नुपर्ने हुन्छ । तर यस वर्ष वर्षाका कारण अहिलेसम्म साँघु नहालिएको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताए । दुई वर्षयता जलजला जाने पर्यटकको सङ्ख्या बढ्दै गएको भन्दै यस वर्ष मौसमका कारण पर्यटक पुग्न नसकेको उनले सुनाए । ढोरपाटन-जलजला सडकको गुरु घाटमा एउटा र दुइवटा गुर्जाघाट काठको साँघु हाल्नुपर्ने उनको भनाइ छ । गत वर्ष हालेको साँघु बर्खामा खोलाले बगाइदिएको भन्दै अब केही दिनमा सडक सफाइ गर्ने र साँघु हाल्ने अध्यक्ष पुनले बताए । म्याग्दीको धवलागिरि गाउँपालिकाले मरेनी सडक सफाइ गरे पर्यटक सहज रूपमा जलजला आउने उनी बताउँछन् । अहिले दैनिक एक सय पर्यटक ढोरपाटनमा आउने गरेका र ढोरपाटन आएका पर्यटक जलजला जान नपाउँदा गुनासो गर्ने गरेको उनको भनाइ छ । ‘अघिल्लो वर्षदेखि जलजला जाने पर्यटकको भीड बढ्न थालेको छ, पहिले जलजला क्षेत्र सुनसान थियो, गोठालामात्र पुग्थे, यो ठाउँ वास्तवमै सुन्दर छ, प्रचारप्रसारले गर्दा अहिले पर्यटकको आगमन बढेको हो,’ अध्यक्ष पुनले भने, ‘यस वर्ष लामो वर्षा भयो, ठाउँठाउँमा बाटो बिग्रिएकाले साँघु हाल्नुपर्ने छ, अब केही दिनमै त्यो काम गर्छौँ, तिहारसम्म पर्यटक पुग्ने छन् ।’ समुद्री सतहबाट ३ हजार ४०० मिटर उचाइमा रहेको जलजलाबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मानापाथी, पुथा, चुरेन, गुर्जा, निलगिरिलगायत दुई दर्जन बढी हिमाल एकै ठाउँ उभिएर नजिकै देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ । तुलसीपुर दाङबाट घुम्न आउनुभएका रावल रोकायाले सडक नखुल्दा जलजला जान नपाएको गुनासो पोखे । सामाजिक सञ्जालमा जलजलाबाट देखिने हिमशृङखलाले आफूलाई मोहित बनाएको भन्दै प्रत्यक्ष घुम्न आएको सुनाए । ‘ढोरपाटन उपत्यकाबाट मोटरसाइकलमै जान सकिन्छ भन्ने सुनेको थिएँ, तर अहिलेसम्म सडक व्यवस्थित भइसकेको रहेनछ, ठाउँठाउँमा पहिरो र खोलाका कारण यात्रा गर्न सकिँदैन भन्ने सुनियो, त्यहीँ भएर यसपालि जलजला पुग्ने इच्छा पूरा हुन सकेन, हुन त यो साल धेरै वर्षा भयो त्यही भएर पनि होला,’ उनले भने । रोकायाले १२ जनाको सूमहमा घुम्न आएको सुनाए । जलजला जान नपाए पनि बुकीपाटन गएर फर्किएको उनको भनाइ छ । यतिबेला जलजला पुग्ने गरी ढोरपाटन आएकाहरू उपत्यकाबाटै फर्किने गरेका छन् ।