असामान्य मौसमी परिवर्तन, खुम्बुमा असोजमै हिमपात
काठमाडौं । सगरमाथा क्षेत्रमा शरद ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चे बजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ । यसवर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्मे भएको छ । यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ । यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन् । गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ । लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्मे बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए । खुम्बु पासाङल्हामु गाउँपालिका-४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबार परेको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो । ‘नाम्चेभन्दा माथिल्लो क्षेत्रमा परेको हिउँले जनजीवन प्रभावित बनाएको छ । दिङ्बोचे क्षेत्रमा ५ वटा होटल हिमपातबाट प्रभावित भएका छन्, तर मानवीय क्षति भने भएको छैन,’ अधिकारीले भने । दिङ्बोचे क्षेत्रका पाँच होटल जस्तासहितका संरचना हिउँको भार सहन नसकी भासिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोजित कुँवरले भने, ‘हिउँको भार र लगातारको वर्षाले छानाको संरचना भत्किँदा पाँच होटल भासिएका हुन् । मानवीय क्षति नभए पनि आर्थिक क्षति भने भएको छ ।’ पर्यटन याम सुरु भइसकेका बेला परेको हिमपातले व्यापारीलाई थप चिन्तित बनाएको उनको भनाइ छ । असामान्य मौसमी परिवर्तन खुम्बुमा असोजमै हिउँ पर्नु असामान्य मानिन्छ । सामान्यतया मङ्सिरदेखि माघमा मात्र यहाँ बाक्लो हिमपात हुन्छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) का अध्यक्ष लामाकाजी शेर्पाले भने, ‘हिउँ असोजमा पर्नु जलवायु परिवर्तनको सङ्केत हो । मैले असोज महिनामा हिउँ परेको घटना कमै मात्रामा देखेको छु । यो दुर्लभ घटना हो ।’ उनका अनुसार, जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा मौसमको स्वरूप अनिश्चित बन्दै गएको छ । पहिले निश्चित समयमा हिउँ पर्ने र पग्लिने क्रम हुन्थ्यो, अहिले त्यो तालमेल हराएको उनको भनाइ छ । जीवनशैली र कामकाज प्रभावित हिमपातपछि खुम्बुका बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ । असोज २० गते बिहान मौसम खुलेपछि केही हिउँ पग्लिए पनि चिसोले जनजीवन सुस्त बनेको स्थानीयको भनाइ छ । हिउँ परेपछि तापक्रम घटेको स्थानीय ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए । हिउँका कारण खुम्बुमा निर्माणाधीन आमा दब्बलङ्ग जलविद्युत आयोजनाको काम पनि रोकिएको छ । वडाध्यक्ष अधिकारीका अनुसार कामदारहरू चिसोका कारण नाम्चे झरेका छन् । मौसम अनुकूल भएपछि मात्रै काम सुरु हुनेछ उनको भनाइ छ । जलवायु परिवर्तनको प्रभावमा हिमाली जीवन खुम्बु क्षेत्रमा पछिल्ला वर्षमा मौसममा अप्रत्यासित परिवर्तन देखिएको छ । कहिले असोजमै हिउँ पर्ने, कहिले माघमा हिउँ नपर्ने अवस्था बनेको छ । वातावरणविद्हरुका अनुसार तापक्रम वृद्धि र वर्षाको असन्तुलनका कारण हिमालमा हिउँको मात्रा घट्दै गएको छ । तर छोटो समयमा तीव्र हिमपात हुने घटना बढेका छन् । ‘पहिले असोजदेखि मङ्सिरसम्म पर्यटकीय याम रहन्थ्यो, अहिले हिउँ र वर्षाका कारण बाटो बन्द हुने, उडान रोकिने, होटल खाली हुने समस्या छ,’ स्थानीय व्यवसायी तोय कुमार श्रेष्ठले भने । हिमाल जोगाऔँ, जलवायु सन्तुलन राखौँ खुम्बुका बासिन्दाले असोजमै हिमपातपछि जलवायु सन्तुलनका लागि स्थानीय तह र सरकार दुवैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । “हामीले केही वर्षयता जलवायु परिवर्तन महसुस गर्दै आएका छौँ,’ नाम्चेका सुमन मोक्तानले भने, ‘अहिले हिउँ असामान्य समयमा पर्छ, गर्मी असामान्य बेला आउँछ । यो हिमालको स्वरूप बदलिँदैछ ।’ स्थानीय जनप्रतिनिधिले पनि जलवायु अनुकूलन कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा स्थानीयले जोड दिएका छन् । ‘हिउँ असामान्य समयमा परेपछि ढुवानी, पर्यटन र जनजीवन सबै प्रभावित हुन्छ,’ खुम्जुङका वडाध्यक्ष लक्ष्मण अधिकारीले भने, ‘हाम्रो आर्थिक जीवन हिउँसँगै बाँधिएको छ, त्यसैले राज्यले पनि यस क्षेत्रमा विशेष योजना ल्याउनुपर्छ ।’ कोरियाली आरोहीको मृत्यु महाकुलुङ गाउँपालिका-३ स्थित मेरापिक हिमाल आरोहणका क्रममा यही असोज २० गते कोरियाली नागरिक टेजुन पार्कको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । डिएसपी मनोजित कुँवरका अनुसार पार्क असोज १८ गते मेरापिक हिमाल आरोहणका क्रममा छ हजार ४६० मिटर उचाइमा पुगेका थिए । मौसम प्रतिकूल भएपछि पार्क र नेपाली गाइड तेम्बा शेर्पा बेपत्ता भएका थिए । खोजतलास गर्दा तेम्बा शेर्पा ६ हजार १०० मिटर उचाइमा जीवित फेला परेका थिए भने पार्क मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतक पार्कको शव हेलिकप्टरमार्फत लुक्ला ल्याई आवश्यक प्रकृया पूरा गरी काठमाडौंको शिक्षण अस्पतालमा शव परीक्षणका लागि पठाइएको कुँवरले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धान अनुसार, अत्यधिक चिसो र अक्सिजनको कमीका कारण पार्कको ज्यान गएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दसैँ सौहार्दपूर्ण वातावरणमा सम्पन्न हिमपात, दुर्घटना र आरोहणका घटनाबीच पनि सोलुखुम्बुमा यस वर्षको दसैँ उत्साहपूर्वक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म कुनै ठूलो अप्रिय घटना भएको छैन । ‘छिटफुट घटनाबाहेक दसैँ शान्तिपूर्वक बित्यो,’ डिएसपी कुँवरले भने । यद्यपि यही असोज १५ गते माप्य दूधकोसी गाउँपालिका-१ जुभिङमा खुकुरी प्रहारबाट तीन जना घाइते भएका थिए । प्रहरीका अनुसार ४९ वर्षीय मंगलमान राईले मादक पदार्थ सेवन पश्चात आफ्नी श्रीमती र दुई छिमेकीलाई खुकुरी प्रहार गरेका थिए । हाल राईलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ । साथै शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले सोलुदुधकुण्ड नगरपालिका-३ फलाम खानीका प्रवीण विश्वकर्माको घर बगाएको छ । वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाका अनुसार रातको समयमा आएको पहिरोले घर पूर्ण रूपमा क्षति पुर्याएको भने परिवारका सदस्य सकुशल छन् । उक्त घटनामा एक राँगो र चार वटा बाख्रा मरेका छन् । स्थानीयले बिहान पहिरोको अवस्था स्थलगत अवलोकन गरी राहतको पहल थालेका छन् ।
१५७ जना बोकेर काठमाडौं फर्कियो वायुसेवा निगमको विमान
काठमाडौं । अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ । नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३:४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५:४० बजे १५७ जना यात्रु बोकेर काठमाडौं फर्किएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए ।
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
काठमाडौं । भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौं ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ । काठमाडौंबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौं आउनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको छ । निगमले आरए १७३२ उडानमार्फत दिउँसो २ः४५ बजे काठमाडौं उडानको तालिका बनाएको भए पनि निर्धारित समयभन्दा ढिलो उडेकाले समय लाग्ने जनाइएको छ । प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगमको विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौं ल्याउन लागिएको हो । वायुसेवा निगमले उद्धार उडानमार्फत देशमा बाढी र पहिरोका कारण सिर्जित विषम परिस्थितिमा सरकारको विशेष निर्देशनबमोजिम आज एक उद्धार उडान गरिएको जनाएको छ । उक्त उडानमा काठमाडौंबाट पाँच हजार र भैरहवाबाट सात हजार भाडादर तोकिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थका प्रवक्ता रिन्जी शेर्पाले आज मौसम अनुकूल रहेकाले नियमित रुपमा उडान सञ्चालन भइरहेको जानकारी दिए । उद्धार उडानमा अशक्त, ज्येष्ठ नागरिक बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने निगमले स्पष्ट गरेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भैरहवामा उल्लेख्य सङ्ख्याका यात्रु उडानको प्रतीक्षामा छन् । 'विमानस्थलमा धरै यात्रु छन् । विमानको सिट सीमित छ । केही एयरलाइन्सले उडान थपे पनि यात्रुको चाप अत्यधिक छ । उडान थपेर यात्रुलाई गन्तव्यमा पु¥याउन विमानस्थल लागिपरेको छ,' महाप्रबन्धक तिवारीले भने । रासस