शिक्षा र संस्कार, घरघरबाटै सुधार

पदभार ग्रहणपछि पहिलो सम्बोधनमा प्रधानमन्त्रीको सुशीला कार्कीले भनिन्‌, ‘जेनजी आन्दोलनका क्रममा हाम्रा सार्वजनिक सम्पत्तिहरूमा तोडफोड र आगलागी भएको छ । निजी घर र व्यवसायिक प्रतिष्ठानहरूमा तोडफोड, लुटपाट र आगजनी भएको छ । यी कहालीलाग्दा घटनाले देशलाई नोक्सान मात्र भएको छैन, लाजमर्दो भएको छ ।’ यहाँ लाजमर्दो विषयले हामी नेपालीको चेतनास्तर कस्तो छ ? हामीले स्कूल र कलेजमा के सिक्यौं, घरमा के संस्कार सिक्यौं ? भन्ने विषयलाई संकेत गर्दछ ।  भदौ २३ र २४ गते देशभरि भएका घटनाले सम्पूर्ण नेपाली समाजलाई गम्भीर प्रश्नको अगाडि उभ्याइदिएको छ । राजधानीका महत्त्वपूर्ण सार्वजनिक स्थल- संसद, सिंहदरबार, अदालतदेखि निजी क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूका घर र अफिससम्म जले, नेताहरूका आवासहरू क्षतिग्रस्त भए । जेनजी प्रदर्शनीका नाममा सुरु भएको यो आन्दोलन युवाहरूको हातबाट हिंसात्मक उन्मादमा परिणत हुनुले हाम्रो सामाजिक संरचना र संस्कारबारे गहिरो आत्मपरीक्षण गर्नुपर्ने बेला आएको छ । यस्ता घटनाको मूल कारण के हो भन्ने प्रश्न सबैको मुखमा छ । राजनीतिक असन्तोष, सामाजिक असमानता, वा नेतृत्वप्रतिको असन्तुष्टि यी कारणहरूलाई पूरै नकार्न सकिँदैन । तर गहिरिएर हेर्दा यसको जड हाम्रो शिक्षा प्रणाली, नैतिक मूल्यहरूको क्षय र घर–परिवारबाटै सुरु हुने संस्कारको कमजोरीमा भेटिन्छ । आजको पुस्ता आधुनिक प्रविधि, भौतिक चकाचौंध र तत्कालीन सुखमा त आकर्षित छ तर सहनशीलता, जिम्मेवारी र समाजप्रतिको दायित्व सिक्न भने असफल हुँदै गएको छ । शिक्षाले केवल रोजगारका लागि दक्षता मात्र दिनु हुँदैन, जीवनको आधारभूत मूल्यहरू पनि गढ्नुपर्छ । तर हाम्रो शिक्षण पद्धति नैतिक शिक्षा, चरित्र निर्माण र सामाजिक उत्तरदायित्वमा कमजोर हुँदै गएको छ । पुस्तकमुखी अध्ययन, परीक्षामुखी प्रतिस्पर्धा र अंक-केन्द्रित मूल्याङ्कनले विद्यार्थीहरूलाई केवल आत्मकेन्द्रित र व्यक्तिगत लाभ खोज्ने बनाएको छ । जब शिक्षा नै मानवता र सहअस्तित्वको पाठ दिन असफल हुन्छ, त्यस्तो समाजमा हिंसा, विनाश र अराजकता प्राकृतिक परिणामका रूपमा देखा पर्छ । यसैगरी, पारिवारिक संस्कारको क्षय अर्को मूल समस्या हो । घर नै जीवनको पहिलो विद्यालय हो । तर आधुनिक जीवनशैलीमा परिवारसँगको संवाद, अनुशासन र आपसी सम्बन्ध कमजोर हुँदै गएको छ । अभिभावकहरू व्यस्त जीवनशैलीमा सीमित हुँदा बालबालिकाले मोबाइल, टेलिभिजन र सामाजिक सञ्जालबाट मात्र पाठ सिक्छन् । यी माध्यमहरूले मनोरञ्जन र जानकारी दिन्छन्, तर सही-गलत छुट्याउने क्षमता भने दिन सक्दैनन् । यही खालीपनले युवालाई असन्तोष व्यक्त गर्न हिंसात्मक बाटो रोज्न प्रेरित गरेको हो । यसरी जब शिक्षा प्रणाली, पारिवारिक संस्कार र सामाजिक मूल्यहरू तीनवटै पक्ष कमजोर हुन्छन्, तब एउटा पुस्ता दिशाहीन हुन्छ । दिशाहीन युवाले आन्दोलनलाई पनि अवसरको रूपमा प्रयोग गरेर विनाशतिर मोड्न सक्छन् । संसद, अदालत वा सिंहदरबार जलेको घटनामा राजनीतिक नेतृत्व मात्र दोषी होइन, हरेक नेपाली परिवार पनि उत्तिकै जिम्मेवार छ । अब प्रश्न उठ्छ– यस्तो अवस्थाबाट समाजलाई कसरी सुधार्ने ? यसको उत्तर सजिलो छैन, तर स्पष्ट छ कि सुधार घरघरबाट सुरु हुनुपर्छ । अभिभावकहरूले आफ्ना सन्तानलाई अनुशासन, आदर, श्रमप्रतिको सम्मान र समाजप्रतिको दायित्वबारे शिक्षित गर्नुपर्छ । विद्यालयहरूले नैतिक शिक्षा, सामुदायिक सेवा र चरित्र निर्माणलाई पाठ्यक्रमको मुख्य हिस्सा बनाउनुपर्छ । सरकार र नेतृत्वले मात्र होइन, हरेक नागरिकले आ-आफ्नो ठाउँबाट मूल्य-आधारित समाज निर्माणमा योगदान दिनुपर्छ । देशलाई जलाउने होइन, निर्माण गर्ने संस्कार स्थापित गर्न अब ढिलो गर्न मिल्दैन । आज हामीले अनुभव गरेको विनाश हाम्रो आफ्नै कमजोरीको प्रतिफल हो । यदि हामी घर-घरबाटै सुधारको बाटो हिँड्न सक्छौं भने भोलिका दिनमा यस्ता विनाशकारी दृश्य दोहोरिन आवश्यक छैन । युवा पुस्तालाई दोष मात्र दिएर बस्ने होइन, उनीहरूलाई सही बाटो देखाउने जिम्मेवारी हामी सबैको हो । नेपालले धेरै आन्दोलन देखिसकेको छ, तर साँचो आन्दोलन भनेको मन र सोचको आन्दोलन हो । त्यसैले अबको अभियान ‘घरघरबाट सुधार’ हुनुपर्छ । यही बाटोले मात्र हामीलाई हिंसामुक्त, जिम्मेवार र समुन्नत समाजतर्फ डोऱ्याउन सक्छ । परिवर्तन ध्वंस र हिंसाबाट होइन, मत र अभिमतबाट गर्नुपर्छ । यस्तो परिवर्तन मात्र उत्पादनमूलक र दिगो हुन्छ ।

काठमाडौं-ग्वाञ्जाओ सिधा उडान, ९ देशका ११ गन्तव्यमा नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौं-ग्वाञ्जाओ-काठमाडौं उडान सेवा सुरु गर्ने भएको हो ।  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार उक्त प्रयोजनका निम्ति निगमले सबै प्राविधिक तयारी पूरा गरिसकेको छ । निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ ।  निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ । पहिलो उडान असोज ९ गते, दोस्रो असोज १२ गते तथा त्यसपछि असोज ३०, कात्तिक २ र ६ गते उडान भर्ने तय भएको छ । त्यसपश्चात प्रत्येक आइतबार, मङ्गलबार र शनिबार ग्वाञ्जाओतर्फ सिधा उडान हुनेछ । काठमाडौंबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडा दर ३० हजार रुपैयाँ र दोहोरो टिकट ५० हजार रुपैयाँ तोकिएको निगमले जनाएको छ । अध्यक्ष अधिकारीले लामो समयको प्रयासपछि चीनको यस महत्त्वपूर्ण सहरमा उडान सेवा विस्तार गर्न सफल भएको बताए । निगमले निकट भविष्यमै काठमाडौंबाट दक्षिण कोरिया र अष्ट्रेलियातर्फ पनि सिधा उडान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । काठमाडौं-ग्वाञ्जाओ गन्तव्यमा अहिले चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान भरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रुटमा नियमित उडान भर्दै आएको छ । नेपालीको बाहुल्यता रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । ९ देशका ११ गन्तव्यमा उडान नेपाली ध्वजावाहक वायुसेवा निगमको ग्वाञ्जाओ उडानसँगै अब ९ देशका ११ गन्तव्यमा नियमित उडान हुने भएको छ । हाल नेपाल वायुसेवा निगमसँग रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुबई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलुरु, थाइल्याण्डको बैङ्कक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान भइरहेको निगमले जनाएको छ । देशको सान र पहिचानसँग जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजा वाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

युरोपेली विमानस्थलहरू ‘साइबर अवरोध’ बाट प्रभावित, उडान रद्द र ढिलाइ

काठमाडौं ।  ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रोलगायतका प्रमुख युरोपेली विमानस्थलहरू शनिबार ‘साइबर–सम्बन्धित अवरोध’ बाट प्रभावित भएको छ । अवरोधले चेक–इन र ब्यागेज ड्रप प्रणालीलाई असर गर्दा सेवा प्रभावित भएको सेवा प्रदायक कोलिन्स एरोस्पेसलाई उदृत गर्दै एएफपीले जनाएको छ । युरोपेली हवाई सेवा प्रदायकहरुले अवरोधको सामना गर्दा उडानमा ढिलाइ तथा उडान रद्द हुने चेतावनी दिए पछि ‘एयरस्पेस फर्म’ ले सम्बन्धित एयरपोर्टहरूका सफ्टवेयरमा साइबर–सम्बन्धित अवरोधको बारेमा सचेत भएको जनाएका छन् । अवरोध इलेक्ट्रोनिक ग्राहक चेक–इन र ब्यागेज ड्रपमा मात्र भएकाले म्यानुअल चेक–इन अपरेसनद्वारा सेवा प्रवाह गर्न सकिने कोलिन्स एरोस्पेसले बताएका छन् । शुक्रबार राति साइबर आक्रमण को चपेटामा परेपछि ब्रसेल्स विमानस्थलबाट कम्तीमा १० वटा उडानहरू रद्द गरिएको तथा अन्य १७ वटा उडानहरू ढिलाइ भएको विमानस्थलले जनाएको छ । ब्रसेल्समा म्यानुअल चेक–इन र बोर्डिङ सेवा सुचारु गरिएको थियो, भने शनिबार उडान गर्ने यात्रुहरूलाई एयरपोर्टमा जानु अघि एयरलाइन्ससँग सम्पर्क गरी उडानको स्थिति जाँच गर्न सूचना जारी गरिएको थियो । लन्डनको हिथ्रो एयरपोर्टमा भने चेक–इन र बोर्डिङ प्रणाली पनि प्राविधिक समस्या बाट प्रभावित भएकाले उडानमा ढिलाई हुनु सक्ने जनाइएको छ।  बर्लिन विमानस्थलको वेबसाइटमा अवरोधका कारण युरोपमा चेक–इनमा यात्रुहरुलाई लामो समय प्रतीक्षा गर्नु परेको जनाइएको छ । रासस