के हो निपा भाइरस, कस्ता देखिन्छन् लक्षण ?
काठमाडौं । निपा भाइरस एक गम्भीर र खतरनाक भाइरस हो, जसले जनावरबाट मानिसमा र मानिसबाट मानिसमा रोग सार्न सक्छ । यसको मृत्युदर उच्च हुने भएकाले यसबारे सचेत रहनु अत्यन्त आवश्यक छ । यो कसरी सर्छ ? निपा भाइरस मुख्यतया ’फ्रुट ब्याट’ (फलफूल खाने चमेरो) बाट सर्ने गर्दछ । संक्रमित फलफूल जस्तै चमेरोले टोकेका वा जुठो हालेका फलफूल (विशेषगरी अम्बा, लिची, खजूर) खाँदा सर्न सक्छ । यो रोग सर्ने अर्को माध्यम भनेको जनावरको सम्पर्क जस्तै संक्रमित सुँगुर वा अन्य जनावरको र्याल र पिसाबको सम्पर्कमा आउँदा सर्छ भने मानिसबाट मानिसमा जस्तै संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा विशेषगरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुन्छ । कस्ता लक्षणहरू देखापर्छन् ? निपा संक्रमण भएको ५ देखि १४ दिनभित्र लक्षणहरू देखिन थाल्छन् । यसको संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने गर्छ । यस्तै मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुने, गम्भीर अवस्थामा मस्तिष्क सुन्निने गर्छ जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्छ । बच्ने उपायहरू के हुन ? अहिलेसम्म यो भाइरस विरुद्ध कुनै निश्चित खोप वा औषधि बनिसकेको छैन । सावधानी नै सबैभन्दा ठूलो उपचार हो । फलफूल सफा गरेर मात्र खाने गर्नुपर्छ । भुईँमा झरेका वा चरा–चमेरोले टोकेका जस्ता देखिने फलफूल कहिल्यै खान हुँदैन । फलफूल खानुअघि राम्ररी पखाल्नुपर्छ भन साबुन पानीले नियमित रूपमा हात धुने गनपर्छ । यसबाट बच्न बिरामी देखिएका सुँगुर वा अन्य जनावरहरूको नजिक जान हुँदैन । यदि कोही व्यक्ति संक्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ । यदि लक्षण देखिएमा के गर्ने ? यदि तपाईं वा तपाईंको वरपर कसैमा यस्ता लक्षणहरू देखिएका छन् र उनीहरू चमेरो वा संक्रमित क्षेत्रको सम्पर्कमा आएका छन् भने तुरुन्त नजिकैको अस्पतालमा सम्पर्क गर्नुपर्छ । बिरामीलाई अलग्गै (आइसोलेसन) राख्नुपर्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि सेवन गर्नुहुँदैन । निपा भाइरसको संक्रमण दर कम भए पनि यसको जोखिम धेरै रहेकाले सरसफाइमा ध्यान दिएर र खानपानमा सतर्कता अपनाए यस्ता संक्रमणबाट बच्न सकिन्छ ।
चिकित्सकको लाइसेन्स परीक्षामा ३९ प्रतिशत उत्तीर्ण
काठमाडौं । चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९ दशमलव ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार र बुधबार काउन्सिलले लिएको परीक्षामा सहभागी ९ सय ४३ मध्ये ३ सय ७२ अर्थात् (३९.४५) जना चिकित्सक उत्तीर्ण भएका हुन् । परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९ सय ६७ जनाले फारम भरेपनि २४ जना अनुपस्थित रहेको काउन्सिलले जनाएको छ । एमबीबीएस तर्फ कुल ७ सय ९३ जनाले फारम भरेकोमा ७ सय ७५ जना सहभागी थिए । जसमध्ये ३ सय जना मात्र उत्तीर्ण भएका हुन् । बीडीएस तर्फ फारम भरेका कुल १ सय ७४ मध्ये १ सय ६८ जना मात्र सहभागी भएका थिए । जसमध्ये ७२ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।
कृषि विकास बैंकद्वारा त्रिवि व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्रमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । यस सहयोगले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल प्रविधियुक्त माध्यमबाट पठनपाठन गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रम बुधबार आयोजित एक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यलाई डिजिटल बोर्ड हस्तान्तरण गरे । कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक सुवेदीसहित विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र अञ्जु दाहाल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, कीर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ तथा बैंकका पूर्व उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी, व्यवस्थापन केन्द्रीय विभागका तर्फबाट विभाग प्रमुख प्रा. भवानी शंकर आचार्य, प्रा. डा. डिल्ली राज शर्मा लगायतका प्राध्यापकहरू, विश्वविद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रा. डा. सुनिता भण्डारी घिमिरेले गरेकी थिइन् ।