खल्तीको ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक, प्रत्यक्ष विश्वकप हेर्ने अवसर

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटप्रतिको उत्साह चुलिएको छ । यही उत्साहलाई थप उचाइमा पुर्‍याउने उद्देश्यसहित नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सार्वजनिक गरेको छ, जसअन्तर्गत एक भाग्यशाली जोडीले सबै खर्च व्यहोरेर प्रत्यक्ष रङ्गशालामा बसेर विश्वकप हेर्ने अवसर पाउनेछ । क्रिकेट प्रशंसकहरूको सपना वास्तविकतामा बदल्ने लक्ष्यसहित ल्याइएको यो अभियानलाई खल्तीले गेमिफाइड अनुभवका रूपमा प्रस्तुत गरेको छ । खल्ती एपमार्फत मान्य कारोबार गर्दा प्रयोगकर्ताले डिजिटल स्क्र्याच कार्ड प्राप्त गर्नेछन्, जसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ११ खेलाडीमध्ये कुनै एकको कार्ड रहनेछ । बम्पर पुरस्कारको लक्की ड्रमा सहभागी हुन प्रयोगकर्ताले ११ वटै फरक–फरक खेलाडीका कार्ड संकलन गरी सेट पूरा गर्नुपर्नेछ । अभियानमा अन्तिम विजेतामात्र होइन, कार्ड संकलनको प्रत्येक चरणमा आकर्षक पुरस्कारहरू पनि समावेश छन् । २, ५, ७ र ११ वटा युनिक प्लेयर कार्ड संकलन गर्ने प्रयोगकर्ताले प्रोमोकोड प्राप्त गर्नेछन् । यस्तै, ५ वटा युनिक कार्ड संकलन गर्ने प्रयोगकर्तामध्येबाट प्रत्येक १५ दिनमा एक जना भाग्यशाली विजेताले ब्रान्ड न्यू जेडटिई स्मार्टफोन जित्ने अवसर पाउनेछन् । ११ वटै कार्ड पूरा गर्ने प्रयोगकर्ताहरू अन्तिम लक्की ड्रमा सहभागी हुनेछन्, जहाँ एक भाग्यशाली जोडीले पूर्ण प्रायोजित विश्वकप यात्रा जित्नेछ । खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले टी–२० विश्वकपमा नेपालको छनोट सम्पूर्ण नेपालीका लागि गर्वको क्षण भएको उल्लेख गर्दै ‘खल्ती चलाऊ, वर्ल्ड कप जाऊ’ अभियान सामान्य अफरभन्दा बढी रहेको बताए । प्रयोगकर्तालाई यो ऐतिहासिक यात्राको हिस्सा बनाउने उद्देश्यसहित उनीहरूलाई प्रत्यक्ष रङ्गशालासम्म पुर्‍याउन पाउँदा खल्ती उत्साहित रहेको उनले बताए । यो अभियान २०८२ साल असोज १३ गतेदेखि कार्तिक ११ गतेसम्म लागू हुनेछ । खल्ती प्रयोगकर्ताले युटिलिटी बिल भुक्तानी, टप–अप तथा अन्य दैनिक कारोबारहरू खल्ती एपमार्फत गरी यस योजनामा सहभागी हुन सक्नेछन् ।

रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच सहकार्य

इटहरी । पूर्वी नेपालको पहिलो अन्तर्राष्ट्रिय पाँचतारे होटल रमाडा बाइ विन्डहम इटहरी र धरान गल्फ कोर्स संघबीच रणनीतिक आतिथ्य साझेदारी भएको छ । होटलको उद्घाटनको पूर्वसन्ध्यामा सम्पन्न उक्त सहकार्यले प्रिमियम मनोरञ्जन, खेल पर्यटन तथा उच्चस्तरीय आतिथ्य सेवाको विकासमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ  । साझेदारी अन्तर्गत धरान गल्फ कोर्स संघका देशभरका विशिष्ट सदस्य तथा गल्फ खेलाडीहरूले रमाडा बाइ विन्डहम इटहरीका अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सेवा–सुविधा होटल सञ्चालनपूर्व नै अनुभव गर्न पाउनेछन् । यस पहलले गल्फ पर्यटनको बढ्दो संस्कृतिलाई स्तरीय आतिथ्य सेवासँग जोड्दै पूर्वी नेपाललाई उच्च मूल्यका आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्य राखेको जनाइएको छ । साझेदारीबारे प्रतिक्रिया दिँदै रमाडा बाइ विन्डहम इटहरीका महाप्रबन्धक अभिमन्यु कायस्थले धरान गल्फ कोर्स संघसँगको सहकार्य दीर्घकालीन दृष्टिकोणको हिस्सा भएको बताए। उनले यस सहकार्यमार्फत गन्तव्यको समग्र आकर्षण वृद्धि गर्दै विश्वस्तरीय आतिथ्य सेवा र स्थानीय सान्दर्भिकतालाई एकीकृत गर्ने प्रयास गरिएको उल्लेख गरे । महेन्द्र राजमार्ग र कोशी राजमार्गको संगमस्थलमा अवस्थित रमाडा बाइ विन्डहम इटहरी विराटनगर विमानस्थलबाट करिब २१ किलोमिटर दूरीमा रहेको छ।  होटलमा ८१ आधुनिक कोठा तथा सुइट, स्वीमिङ पुल, वेलनेस सुविधा तथा ‘ग्लोबल अल डे डाइनिङ’, ‘सत्रा लाउन्ज’, ‘पूलसाइड डाइनिङ’ र छतमा अवस्थित ‘शुक्रा बार’ जस्ता विशेष भोजन तथा मनोरञ्जन स्थल रहने जनाइएको छ । विश्वकै ठूला होटल समूहहरूमध्ये एक विन्डहम होटल्स एन्ड रिसोर्ट्स अन्तर्गत सञ्चालनमा आउन लागेको रमाडा बाइ विन्डहम इटहरीले रणनीतिक साझेदारी, सेवा उत्कृष्टता र अन्तर्राष्ट्रिय मापदण्डमार्फत पूर्वी नेपालमा लक्जरी आतिथ्य र गन्तव्य–आधारित पर्यटनको भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ ।   

होटल फरेष्ट इनको वैदेशिक रोजगारी आईपीओ बाँडफाँड, ४० हजारले पाए सेयर

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सेयर बिक्री गरिएको थियो । उक्त आईपीओका लागि २०८२ माघ ४ गतेदेखि माघ ८ गतेसम्म ‘मेरो सेयर’ एप्लिकेसनमार्फत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । निष्काशन अवधिमा कुल ८१ हजार ७९७ आवेदकबाट १२ लाख ९३ हजार ४० कित्ता सेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो । तीमध्ये सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विविध कारण देखाउँदै ६ हजार ६८९ आवेदकबाट प्राप्त १ लाख ४७ हजार २८० कित्ता सेयरका आवेदन रद्द गरेपछि बाँकी ७५ हजार १०८ आवेदकबाट ११ लाख ४५ हजार ७६० कित्ता सेयरका लागि अन्तिम आवेदन स्वीकृत गरिएको थियो । प्राप्त आवेदनमध्ये ९ जना आवेदकले दोहोरो हितग्राही खाता प्रयोग गरी १८ वटा आवेदनमार्फत १९० कित्ता सेयर माग गरेको पाइएपछि ती आवेदनहरू रद्द गरिएको छ । बाँकी ७५ हजार ०९० जना आवेदकमध्ये गोलाप्रथामार्फत ४० हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँड नतिजा सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित वेबसाइट तथा एनआईसी एशिया क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ ।