राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी । देउखुरीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा श्याम लम्साल र बिपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।  प्रतिष्ठानका निमित्त डीन प्राडा रमेश कँडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा. उमेश नेपालको रोहबरमा उक्त सम्झौता भएको हो । यहाँ क्यान्सरसम्बन्धी उपचारको व्यवस्था नहुँदा यसअघि साविक राप्ती अञ्चलसहित पश्चिम नेपालका नागरिकमा चितवन, काठमाडौंलगायत सहरमा महँगो शुल्क तिरेर उपचार गराउन जानुपर्ने बाध्यता थियो ।      उक्त सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. लम्सालले विश्वास व्यक्त गरे । क्यान्सर पीडितले स्थानीय क्षेत्रमा उपचार सेवा पाउने भएपछि समय र खर्चको बचत हुने उनले बताए ।  

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत चरम सकंटमा

पर्वत । लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत संकटमा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले रु तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा ‘डायलायसिस’बापतको रु तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डीराज पौडेलले जानकारी दिए ।  अस्पतालले स्वास्थ्य बीमा गरेका बिरामीहरूको परीक्षण गरेबापत सरकारले उक्त रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर सरकारले समयमा रकम भुक्तानी नदिँदा भुक्तानी रकम बढ्दै गएको उनले बताए । स्वास्थ्य बीमाको रकम भुक्तानी नपाँउदा औषधि तथा उपकरण खरिद, कर्मचारीहरूको तलब, भत्ता भुक्तानी तथा अन्य नियमित काम व्यवस्थापनमा समस्या परेको डा पौडेलले बताए । रकम भुक्तानीका लागि पटकपटक माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । स्वास्थ्य बीमा गरेका बिरामीहरू सामान्य समस्या पर्दा पनि अस्पताल आइपुग्नुहुन्छ, उनीहरूलाई सेवा दिनै पर्छ, तर मन्त्रालयले भुक्तानी दिन ढिलाइ गर्दा ती सेवाग्राहीलाई आवश्यक औषधि, सहायता सामग्रीलगायत ल्याबसम्बन्धी सेवा दिन समस्या भइरहेको छ । अस्पताल व्यवस्थापन समितिको कोषवाट जेनतेन अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब सङ्कट सृजना हुन थालेको उनको भनाइ छ ।  डा. पौडेलले भने, 'सरकारबाट बीमाको रकम भुक्तानी नआउँदा औषधि खरिद प्रक्रियासमेत अवरोध भइरहेको छ ।' जिल्लामा स्वास्थ्य बिमामा आवद्ध भएका झन्डै ४५ प्रतिशत नागरिकले अस्पतालबाट सेवा लिने गरेका छन् । सरकारले देशभरका सबै अस्पतालका लागि तोकेको दररेटको रकम दिने गरेको भए पनि त्यो रकम बर्सेनि भुक्तानी लिन समस्या पर्ने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याबहादुर परियारले बताए । स्वास्थ्य बिमा बोर्ड अस्पतालबाट प्राप्त बिल भर्पाइका आधारमा उक्त रकम स्वास्थ्य मन्त्रालयमा माग गरिएको भए पनि भुक्तानी नआउँदा अस्पताल सङ्कटमा पर्न थालेको उनको भनाइ छ । एक परिवारका लागि रु तीन हजार ५०० को प्रिमियम भुक्तानी गर्दा पाँच जनाका लागि सरकारले रु एक लाखबराबरको बिमा रकम भुक्तानी दिने गर्दछ । पाँच जनाभन्दा बढी सदस्य रहेका साधारण परिवारको हकमा प्रतिसदस्य थप रु ७०० योगदान रकम बुझाउनुपर्नेछ र उपचार सुविधामा रु एक लाखमा २० हजारका दरले थप्दै प्रतिवर्ष अधिकतम रु दुई लाखसम्मको उपचार सुविधा पाउने प्रावधान छ । केही दिनअघि अस्पताल निरीक्षणमा आएकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमलाई बिमाको रकम भुक्तानी उपलब्ध गराउन ज्ञापनपत्र बुझाइएको थियो । सो अवसरमा मन्त्री गौतमले देशभरका अस्पतालहरू बिमाबापतको रकम भुक्तानी नपाएर समस्यामा परेको जनाउँदै सरकारले विभिन्न स्रोत खोजेर बजेट व्यवस्थापनमा लागेको जानकारी दिए ।   

सर्लाहीमा ४ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधी खुवाइने

सर्लाही । सर्लाहीका १२ स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय, सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइएपछि विशेष अभियानमार्फत औषधी खुवाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई दुई भागमा विभाजन गरेर गत असोजमा हात्तीपाइले रोग सङ्क्रमणको परीक्षण गरेको थियो । परीक्षणका क्रम रोग फैलिने क्रम जारी रहेपछि औषधी सेवन गराउन लागेको हो ।  परीक्षण टोलीले जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपरी गाउँपालिका, पर्सा गाउँपालिका र  हरिपुर्वा नगरपालिकालाई एउटा समूहमा राखेर परीक्षण गरेको हो ।  टोलीका अनुसार बलरा, चक्रघट्ट र ब्रह्मपुरीबाट लिएको ३०० नमूनामध्ये २८ जनामा हात्तीपाइले सङ्क्रमण पाइएको थियो ।  त्यसमध्ये पनि राति १२ बजे लिएको २८ जनाको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित फेला परेका स्वास्थ्य कार्यालय मलङ्गवाका हात्तीपाइले रोग नियन्त्रण शाखा संयोजक मनोज झाले जानकारी दिए । जिल्लाका उत्तरी क्षेत्रका बाँकी आठ पालिकामा भने हात्तीपाइले रोग फैलन क्रम रोकिएको पाइएको छ ।  ‘हात्तीपाइलेका नयाँ बिमारी फेला परेका पालिकामा विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक टोलीकै उपस्थितमा आम औषधि खुवाउने काम भइरहको छ,’ संयोजक झाले भने । ‘अभियानअन्तर्गत सुरुमा पालिकाका स्वास्थ्यकर्मी र स्वयम्सेविकालाई औषधि खुवाउने तौरतरिकाबारे प्रशिक्षण दिइनेछ, त्यसपछि उहाँहरूलाई घरघरमै पठाएर औषधि खुवाउन लगाउने गरिएको छ । मलङ्गवा नगरपालिकामा माघ ८ गतेदेखि औषधि खुवाउन सुरु गरिसकिएको र अन्य पालिकाहरूमा तालिम चलिरहेको छ,’ स्वास्थ्य कार्यालय प्रमुख झाले थपे ।  हात्तीपाइलेविरुद्धको औषधि दुई वर्षदेखि माथि उमेरका सबैलाई सेवन गराइने उनले बताए । बाह्र स्थानीय तहका ८० प्रतिशतले हुन आउने चार लाख ३० हजार ९४१ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । कार्यक्रमअन्तर्गत बुधबार हात्तीपाइले रोग उन्मूलनसम्बन्धी अन्तरक्रिया गरिएको थियो । हात्तीपाइले रोगले शरीरमा गम्भीर क्षति पुर्‍याउने भए पनि समयमै र नियमित औषधी सेवनले यसको रोकथाम गर्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका डा. शशि बडेलले जानकारी दिए । हात्तीपाइले रोगका कारण दीर्घकालीन अपाङ्गता निम्तिन सक्ने जोखिम रहेको र यसका विषयमा आउने अनेकन भ्रमका पछाडि नलागी घरघरमा आउने स्वास्थ्य स्वयम्सेविकासँग औषधि लिएर सेवन गर्न उनले आग्रह गरे ।  ‘हामीले केही समय पहिला सर्लाहीका २० पालिकालाई उत्तरी र दक्षिणी गरी दुई भागमा विभाजन गरेर नमूना सङ्कलन गर्ने र परीक्षण गर्ने काम गरेका थियौं,’ डा. बडेलले भने, ‘त्यस क्रममा जिल्लाको दक्षिणी क्षेत्रका १२ पालिकामा एक दशमलव आठ प्रतिशतसम्म सङ्क्रमण फैलने क्रम पाइयो । त्यसपछि पालिकाहरूमा औषधि खुवाउने अभियान सुरु गरिएको छ ।’ डा. बडेलका अनुसार एक प्रतिशतभन्दा धेरैमा सङ्क्रमण फेला पर्नु जोखिम पूर्ण अवस्था मानिन्छ । हात्तीपाइले (फाइलेरिया) रोग क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसमा सार्ने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट सङ्क्रमण भएपछि लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गराउने चिकित्सकको भनाइ छ ।