नेपाल टेलिकमको फोरजी सेवा मुगु र बाजुराका विकट बस्तीमा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मुगु र बाजुराका विकट हिमाली क्षेत्रमा फोरजी सेवा विस्तार गरेको छ । कम्पनीले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । सोरुकोटमा सेवा शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उनीहरूले सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकताअनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल टेलिकमका अनुसार बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोला तथा आसपासका गुम्बासम्म नेटवर्क पुगेको छ । साथै बाजुराबाट रानिसैन जाने पदमार्ग र कुवाडी खोलाको संगम आसपासका गाउँ तथा हुम्लाको ताँजाकोट–२ जाने मार्गमा पनि फोरजी सेवाको पहुँच विस्तार भएको कम्पनीले जनाएको छ । फोरजी सेवा सञ्चालनसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज उपयोग गर्न सक्ने भएका छन् । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नुका साथै सूचना, शिक्षा, स्वास्थ्य तथा सरकारी सेवामा पहुँच अझ सहज हुने अपेक्षा गरिएको नेपाल टेलिकमले जनाएको छ । नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ अभियानअन्तर्गत देशका सुगमदेखि अति दुर्गम क्षेत्रसम्म अत्याधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने प्रतिबद्धतालाई निरन्तरता दिइरहेको जनाएको छ । 

‘मास्टर्नी’ चलचित्रको गीतलाई लिएर नेपाल शिक्षक महासंघले जनायो आपत्ति

काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौ ५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति गम्भीर आपत्ति जनाएको छ  ।  महासंघले गीतमा महिला शिक्षकप्रति लक्षित अपमानजनक शब्द र भाव प्रयोग गरिएको दाबी गर्दै उक्त सामग्री तत्काल हटाउन तथा सच्याउन माग गरेको छ । महासंघले जारी गरेको विज्ञप्तिमा गीतमा प्रयोग गरिएका शब्द र प्रस्तुतीकरणले शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख गरेको छ ।  विशेषगरी महिला शिक्षकको चरित्र र सम्मानमा आँच पुग्ने खालका अभिव्यक्ति समावेश गरिएको भन्दै महासंघले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । गीत तत्काल नसच्याए वा नहटाए महासंघ आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । साथै गीतका कारण समाजमा गलत सन्देश जाने तथा शिक्षक समुदायमा असहज अवस्था उत्पन्न हुन सक्ने भन्दै त्यसबाट उत्पन्न हुने परिणामप्रति चलचित्र निर्माता र सम्बन्धित कलाकारहरू नै जिम्मेवार हुने महासंघले स्पष्ट पारेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक समुदायको सम्मान र शिक्षण पेशाको मर्यादा जोगाउन सबै सरोकारवाला पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ ।

शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क आजदेखि लागू

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य सेवामा तीन प्रतिशत समता आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । गत वैशाख १५ गते प्रस्तुत आर्थिक विधेयकमार्फत चालु आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने व्यवस्था गरिएको थियो । तर, शुल्क कार्यान्वयनसँगै यसको विरोध पनि चुलिएको छ । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा अतिरिक्त शुल्क लगाउँदा अभिभावक र बिरामीमाथि थप आर्थिक भार पर्ने भन्दै निजी विद्यालय तथा निजी अस्पताल सञ्चालकहरूले असन्तुष्टि जनाएका छन् । निजी विद्यालय सञ्चालकहरूको भनाइमा सरकारले संस्थामाथि लगाएको तीन प्रतिशत शुल्क अन्ततः अभिभावक र विद्यार्थीले नै बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यसैगरी, निजी अस्पताल सञ्चालकहरूले पनि स्वास्थ्य सेवा महँगिने र त्यसको प्रत्यक्ष असर बिरामीमा पर्ने भन्दै शुल्कको व्यवस्था पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् । समता शुल्क खारेज गर्नुपर्ने मागसहित निजी विद्यालय र निजी अस्पताल सञ्चालकहरू विरोधमा उत्रिएका छन् ।  यसबीच केही निजी विद्यालयहरूले भने अभिभावकलाई तीन प्रतिशत समता शुल्क समावेश गरेर शुल्क बुझाउन अनुरोध गर्दै सूचना तथा पत्राचार गर्न थालेका छन् ।  विद्यालयहरूले सरकारले लगाएको शुल्क संस्था आफैले बेहोर्न नसक्ने भएकाले त्यसको भार अभिभावकमै सार्न बाध्य भएको बताएका छन् । सरकारले भने समता शुल्कबाट संकलित रकम सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर तथा पहुँच विस्तारमा उपयोग हुने जनाएको छ । तर, कार्यान्वयनको सुरुआतमै निजी क्षेत्र र सेवाग्राहीबाट विरोध बढेपछि यो विषय थप बहसको केन्द्रमा पुगेको छ । निजी क्षेत्रकोे तीव्र विरोध सरकारले शिक्षा र स्वास्थ्य सेवामा लागू गरेको तीन प्रतिशत समता शुल्कको निजी क्षेत्रले तीव्र विरोध गरेको छ । निजी क्षेत्रका प्रतिनिधिहरूले यसलाई सरकारकै संविधान र समाजवादउन्मुख नीतिसँग बाझिने निर्णयको रूपमा व्याख्या गरेका छन् । उनीहरूको भनाइमा संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको शिक्षा र स्वास्थ्यलाई निःशुल्क तथा सहज बनाउनुपर्नेमा सरकारले उल्टै थप शुल्क लगाएर नागरिकमाथि आर्थिक भार थपेको छ । अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघ नेपाल (आईपीएन)का अध्यक्ष लक्ष्मण केसीले आर्थिक विधेयकमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क संविधानको मर्मविपरीत रहेको बताए । संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै आधारभूत सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको अवस्थामा यस्तो शुल्क लगाउनु संविधानको भावना विपरीत भएको उनको भनाइ छ । ‘हामी लोककल्याणकारी राज्यको कुरा गर्छौं । संविधानले समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढ्ने स्पष्ट व्यवस्था गरेको छ । मौलिक हकका रूपमा व्याख्या गरिएको क्षेत्रमा कर लगाउने कुरा आफैमा गैरकानुनी छ,’ केसीले भने । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठले निजी विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी सम्पन्न परिवारका नभएको बताए। न्यून आय भएका अभिभावकले पनि आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेको उल्लेख गर्दै उनले सरकारले शिक्षा निःशुल्क बनाउने दायित्व पूरा गर्नुको साटो अभिभावकमाथि थप आर्थिक भार थोपरेको टिप्पणी गरे । यस्तै, निजी अस्पतालहरूको संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)का अध्यक्ष पदम खड्काले स्वास्थ्य सेवामा लगाइएको समता शुल्क निजी अस्पतालमा उपचार गराउन आउने नागरिकमाथिको अतिरिक्त दण्डसरह भएको बताए । उनका अनुसार सरकारले नागरिकलाई सरकारी अस्पतालमै उपचार गराउन अप्रत्यक्ष रूपमा दबाब दिने र निजी अस्पताल रोजेमा तीन प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । उनले यसलाई समाजवादउन्मुख राज्यको अवधारणासँग मेल नखाने निर्णय भएको बताए । ‘संविधानको धारा ३५ ले स्वास्थ्यलाई मौलिक अधिकार भनेको छ। तर अहिले सरकारले त्यही अधिकारमाथि थप शुल्क लगाउने बाटो रोजेको देखिन्छ,’ उनले भने । खड्काले सरकारलाई राजस्व आवश्यक हुनु स्वाभाविक भए पनि त्यसका लागि शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामाथि कर लगाएर नागरिकलाई थप आर्थिक भार बोकाउन नहुने धारणा राखे । ‘हामी त सेवा दिने माध्यम मात्र हौं। बिरामीको बिल बनाउँछौं र सरकारलाई कर बुझाइदिन्छौं। अतिरिक्त भार त अन्ततः नागरिकमाथि नै पर्ने हो,’उनले भने ।