भारतमा अध्ययन गरेका ११४ विद्यार्थीको समकक्षता रद्द, अधिकांश इन्जिनियरिङका विद्यार्थी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले १ सय १४ विद्यार्थीको समकक्षता रद्द गरेको छ । भारतका चारवटा विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीको समकक्षता रद्द गरेको हो । केन्द्रले एक सूचना जारी गर्दै भारतको मेघालयमा रहेको सीएमजी युनिभर्सिटी,टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरमा रहेको सांगाई इन्टरनेशनल युनिभर्सिटी र झारखण्डको प्रज्ञान इन्टरनेशनल युनिभर्सिटीबाट १ सय १४ जना विद्यार्थीले पाएको समकक्षता रद्द गरिएको हो । केन्द्रले यस अघि सूचना निकालेर प्राप्त गरिएका उपाधिको समकक्षता पत्र रद्द गर्न नहुने कारणहरू सहित ३५ दिनभित्र उपस्थित हुन भनिए पनि कोही उपस्थित नभएकाले समकक्षता नै रद्द गरिएको हो । ‘यसअघि ३५ दिनको सार्वजनिक सूचना अवधिभित्र सम्बन्धित व्यक्तिबाट पेश भएका कागजातका आधारमा समकक्षता रद्द गर्नुपर्ने कुनै आधार नदेखिएकाले ती विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता कायम नरहने उल्लेख गरिएको छ,’ सूचनामा भनिएको छ । ति विश्वविद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम समकक्षता रद्द गरिएको केन्द्रले जनाएको छ । विदेशबाट पढेर आएका विद्यार्थीले नेपालमा थप अध्ययन, उच्च शिक्षा वा सरकारी/निजी सेवामा आवेदन दिँदा शैक्षिक तह समान छ भनी पुष्टि गर्न समकक्षता लिने गर्छन्। समकक्षता लिन शैक्षिक उपाधिको प्रमाण पेश गर्नुपर्छ । इन्जिनियरिङका विद्यार्थी समकक्षा रद्द गरिएका अधिकांश इन्जिनियरिङका विद्यार्थी रहेका छन् । स्नातक र स्नातकोत्तर तहमा भारतका विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थी इन्जिनियरिङ क्षेत्रका विद्यार्थी रहेका जनाइएको छ । यस्तै, सबैभन्दा बढी सांगाई इन्टरनेशलन विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थी छन् । सांगाई विश्वविद्यालयमा पढेका ९८ जना विद्यार्थीको समकक्षता रद्द गरिएको छ । त्यस्तै, सीएमजी युनिभर्सिटीका १३, टेक्नो ग्लोबल युनिभर्सिटीका दुई र प्रज्ञान इन्टरनेशनल युनिभर्सिटीका एक जना विद्यार्थीको समकक्षता रद्द गरिएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा चारजना सदस्य नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्रीस्तरको असार ३२ गतेको निर्णयअनुसार प्राधिकरणको लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा तथा बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठ सदस्य पदमा नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूलाई पदभार ग्रहणअघि निर्देशन दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्राधिकरण दूरसञ्चार क्षेत्रको विकास, विस्तार तथा नियमनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण निकाय भएकाले देश र जनतालाई केन्द्रमा राखेर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । उनले प्राधिकरणको नयाँ नेतृत्वको निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भावी दिशा निर्धारण गर्ने उल्लेख गर्दै जिम्मेवारीलाई उच्च नैतिकता, पारदर्शिता र उत्तरदायित्वका साथ निर्वाह गर्न निर्देशन दिए । ‘तपाईंहरू जुन संस्थाका लागि काम गर्नुहुन्छ, त्यहाँ देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोला । यो निकै महत्वका साथ हेरिएको संस्था र पद हो । तपाईंहरूका कामले भोलिको दूरसञ्चार क्षेत्रको भविष्य निर्धारण गर्ने भएकाले जिम्मेवार र नतिजामुखी भएर काम गर्नुहोला,’ सञ्चारमन्त्री डा तिमिल्सिनाले भने । उनले संस्थाको हित र जनहितभन्दा बाहिर गएर गरिने कुनै पनि काम सरकारका लागि स्वीकार्य नहुने बताउनुहुँदै कार्यसम्पादन सन्तोषजनक नभए सरकारले आवश्यक विकल्प खोज्ने पनि स्पष्ट पारे । ‘देश र जनताको हितमा काम भएन भने त्यस्तो स्थिति सरकारका लागि स्वीकार्य हुँदैन । जुन दिन तपाईंहरूबाट काम गर्न सक्नुभएन भन्ने लाग्छ, सरकारले तपाईंहरूको पनि विकल्प खोज्छ,’ उनले भने । सञ्चारमन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको प्रभावकारी व्यवस्थापन तथा नियमन प्राधिकरणको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै गुणस्तरीय, भरपर्दो र सबै नागरिकको पहुँचमा पुग्ने दूरसञ्चार सेवा सुनिश्चित गर्न संस्थाले सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले देशभर दूरसञ्चार सञ्जाल विस्तार, सेवा पहुँच अभिवृद्धि तथा डिजिटल पूर्वाधारको विकासमा प्राधिकरणले नेतृत्वदायी भूमिका निर्वाह गर्न निर्देशन दिए । ‘नियामकीय भूमिका बलियो बनाउनुपर्नेछ । आजसम्म यो क्षेत्रलाई पर्याप्त रूपमा बलियो बनाउन सकिएको छैन । यो धेरैअघि नै सुदृढ भइसक्नुपर्ने थियो, तर संस्थाहरूलाई कमजोर र जीर्ण बनाइएको अवस्था छ,’ उनले भने । सञ्चारमन्त्री डा. तिमिल्सिनाले सूचना तथा सञ्चार क्षेत्रको तीव्र परिवर्तनसँगै दूरसञ्चार क्षेत्रमा पनि नयाँ प्रविधि, बढ्दो प्रतिस्पर्धा, सेवा गुणस्तर, उपभोक्ता हित संरक्षण तथा डिजिटल रूपान्तरणका चुनौतीहरू थपिँदै गएको उल्लेख गर्दै ती चुनौतीलाई सामना गर्न सक्षम, निष्पक्ष र प्रभावकारी नियामक संस्थाको आवश्यकता रहेको बताए। नवनियुक्त सदस्यहरूले आफूहरूले कानुनसम्मत, पारदर्शी र इमानदार ढंगले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बाल अस्पताल निर्माणका लागि रिलायबल नेपाल लाइफको ५० लाख सहयोग
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबुलोहोनीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको केआईओसीएच हाल नेपालमै आधुनिक बहुविशेषज्ञ (मल्टी–स्पेसियालिटी) बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ । अस्पतालले बाल हृदयरोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको जनाएको छ । रिलायबल नेपाल लाइफले उक्त सहयोगबाट बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र उनीहरूका परिवारलाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ । कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।