नागरिक एपसँग जोडियो एनएमबि बैंक, अनलाइन बैंकिङ सेवा थप सहज हुने
काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र छिटो बनाउन नेपाल सरकारको सूचना प्रविधि विभागसँग नागरिक एप इन्टिग्रेसनसम्बन्धी सम्झौता गरेको छ। बैंकका अनुसार नयाँ सहकार्यसँगै अब एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ फाराम सहजै भर्न सक्नेछन् । यसबाट व्यक्तिगत विवरण पटक–पटक हातैले प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै कागजी प्रक्रिया कम भई बैंकिङ सेवा अझ छिटो र प्रभावकारी हुने विश्वास बैंकले लिएको छ । बैंकले ग्राहकको गोपनीयता र व्यक्तिगत विवरणको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । ग्राहकले नागरिक एपमार्फत अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको बैंकको भनाइ छ । साथै, प्राप्त जानकारी जुन प्रयोजनका लागि मागिएको हो, त्यसका लागि मात्रै प्रयोग गरिने उल्लेख गरिएको छ । एनएमबि बैंकका अनुसार देशमा विस्तार हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल र झन्झटरहित बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यका साथ यो सहकार्य गरिएको हो । बैंकले यसलाई नेपालभरका नागरिकलाई अझ प्रभावकारी डिजिटल बैंकिङ अनुभव प्रदान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
हराएको सिम फेर्न अब लाइन बस्न नपर्ने, टेलिकमले सुरु गर्यो अनलाइन सेवा
काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रिएको सिम कार्ड प्रतिस्थापनका लागि अनलाइन आवेदन दिने सुविधा सञ्चालनमा ल्याएको छ । साउन १ गतेदेखि लागू भएको यो व्यवस्थामार्फत ग्राहकले घरमै बसेर नयाँ फिजिकल वा ई–सिमका लागि आवेदन दिन सक्ने भएका हुन् । टेलिकमका अनुसार ग्राहकले esim.ntc.net.np मा लगइन गरी 'एप्लाई फर लस्ट/ड्यामेज्ड सिम’ विकल्पमार्फत आवश्यक विवरण भरेर आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया पूरा भएपछि ग्राहक स्वयं वा तोकिएको प्रतिनिधिमार्फत सम्बन्धित काउन्टरबाट नयाँ सिम लिन सकिने व्यवस्था गरिएको छ । प्रतिनिधिमार्फत सिम लिनुपर्ने अवस्थामा आवेदनमै प्रतिनिधिको नाम उल्लेख गर्नुपर्नेछ भने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात पनि पेश गर्नुपर्ने टेलिकमले जनाएको छ । सेवा शुल्क काउन्टरमै तिर्न सकिने व्यवस्था गरिएको छ । टेलिकमका अनुसार ग्राहकको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर यो प्रणाली विकास गरिएको हो । नयाँ सुविधाले हराएको वा बिग्रिएको सिम प्रतिस्थापन प्रक्रिया थप सहज, छिटो र झन्झटरहित हुने विश्वास कम्पनीको छ । यस पोर्टलमार्फत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिम प्राप्त गर्न तथा ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नेसहितका सेवासमेत उपलब्ध रहेको नेपाल टेलिकमले जनाएको छ ।
आइसिटी अवार्डको ११औँ संस्करणका लागि आवेदन खुला, १६ विधामा प्रतिस्पर्धा हुने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्डको ११औँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) खुला गरिएको छ । आयोजक लिभिङ विथ आइसिटीले साउन १ गतेदेखि १६ वटा विभिन्न विधामा आवेदन आह्वान गरेको हो । यस वर्षका अवार्डमा नेपालका साथै दक्षिण एसियाली मुलुकलाई समेट्ने अन्तर्राष्ट्रिय विधासमेत समावेश गरिएको छ । सन् २०१६ देखि सञ्चालन हुँदै आएको आइसिटी अवार्डको ग्रान्ड फिनाले हरेक वर्ष पुसको पहिलो साता आयोजना हुँदै आएको छ । आयोजकका अनुसार प्रविधि क्षेत्रमा स्टार्टअप, नवप्रवर्तन, डिजिटल उत्पादन तथा सरकारी र निजी क्षेत्रका डिजिटल रूपान्तरणका प्रयासलाई विभिन्न विधामार्फत सम्मान गरिनेछ । सूचना तथा सञ्चार प्रविधिमार्फत राष्ट्रलाई योगदान पुर्याएका व्यक्तित्वलाई पनि अवार्ड प्रदान गरिनेछ । यस वर्ष पनि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड निरन्तर रहनेछ भने पहिलो पटक एआई इन्नोभेसन साउथ एसिया आइसिटी अवार्ड थपिएको छ । यी विधामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानका स्टार्टअप तथा एआई कम्पनीले आवेदन दिन सक्नेछन् । आयोजकका अनुसार अनलाइन आवेदनसँगै करिब छ महिनासम्म विभिन्न छनोट चरण, टेलिभिजन शो, स्टार्टअप फेस्ट तथा अन्य पूर्वकार्यक्रम सञ्चालन गरिनेछन् । उत्कृष्ट छनोटका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २० जना विज्ञ निर्णायक र सरकारी तथा निजी क्षेत्रका १५ भन्दा बढी विशिष्ट व्यक्तिको सल्लाहकार समिति रहनेछ । अवार्डलाई चार क्याटेगोरीमा विभाजन गरिएको छ । क्याटेगोरी ‘ए’ अन्तर्गत स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन अवार्डमा प्रतिस्पर्धीले स्वयं आवेदन दिनुपर्नेछ । क्याटेगोरी ‘बी’मा प्रविधिमार्फत योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिनेछ भने क्याटेगोरी ‘सी’मा सरकारी तथा निजी संस्थाको डिजिटल रूपान्तरण र प्रविधि प्रयोगका आधारमा छनोट हुनेछ । आयोजक समितिका अध्यक्ष राजन लम्सालका अनुसार अवार्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सकिनेछ । पहिलो चरणको आवेदन अवधि भदौ १५ गते सम्म खुला रहनेछ ।