दुई दशक बढी ठमेलको पर्यटनमा सेवा गरेका पुन्यरामको महासचिवमा उम्मेदवारी
काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को महासचिवमा पून्यराम लगेजुले उम्मेदवारी दिएका छन् । असार अन्तिम साता हुने परिषद्को साधारणसभा एवं अधिवेशनका लागि वर्तमान सचिव लगेजुले महासचिव पदमा उम्मेदवारी दिएका हुन् । परिषदमा एक कार्यकाल सचिव र दुई कार्यकाल कोषाध्यक्षका रूपमा काम गरिसकेका पून्यरामले आफ्नो महासचिव पदको उम्मेदवारी घोषणा गरेका हुन् । करिब २४ वर्षदेखि ठमेलको पर्यटन व्यवसायमा सक्रिय लगेजु परिषद्को नेतृत्वमा रहेर काम गरिसकेका छन् । उनले दुई कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल सचिवको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् । यहीँ अनुभव, व्यवसायीबीचको निरन्तर उपस्थिति र नीतिगत पैरवीको पृष्ठभूमिलाई आधार बनाएर उनले महासचिव पदमा उम्मेदवारी दिएका हुन् । ठमेलले पूर्वाधार, सडक व्यवस्थापन, पैदलमैत्री क्षेत्र, सरसफाइ, सुरक्षा र अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । रात्रिकालीन अर्थतन्त्रलाई व्यवस्थित बनाउने, पर्यटकमैत्री सेवा विस्तार गर्ने डिजिटल प्रवर्द्धन गर्ने लगेजुले बताए । साना तथा मझौला व्यवसायीको संरक्षण, पार्किङ, ट्राफिक व्यवस्थापन, फुटपाथ अतिक्रमण, सडक कलाकार तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन, फोहोर व्यवस्थापन र विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा ठमेललाई थप स्थापित गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । परिषद् केवल औपचारिक संस्था होइन, नीति निर्माणमा प्रभाव पार्ने, सरकारसँग समन्वय गर्ने र व्यवसायीका साझा मुद्दामा परिणाममुखी रूपमा काम गर्ने संस्थाका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उनको बुझाइ छ । ‘परिषद्को भूमिका छलफल गर्ने मञ्चमा मात्र सीमित हुनु हुँदैन, बरु सरकार, स्थानीय तह, सुरक्षा निकाय र निजी क्षेत्रबीच प्रभावकारी पुलको भूमिका निर्वाह गर्दै ठोस परिणाम निकाल्ने संस्थाका रूपमा स्थापित हुनुपर्छ,’ उनले भने । वर्षौंदेखि ठमेलका व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउने काममा सक्रिय रहेको लगेजुको भनाइ छ । 'यहाँको दुःख सुखमा हरपल खडा भएको छु । ठमेलका व्यवसायीका समस्या वर्षौंदेखि बुझ्दै आएको छु । ती समस्या सम्बन्धित निकाय र केन्द्रसम्म पुर्याउने काम निरन्तर गरेको छु । मेरो उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षाका लागि होइन, ठमेललाई अझ व्यवस्थित, सुरक्षित, सुन्दर र प्रतिस्पर्धी पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका लागि हो,' उनले अगाडि थपे । परिषद्ले अब व्यवसायीको अधिकार संरक्षणसँगै नीति निर्माण, पर्यटन प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण र अन्तर्राष्ट्रिय बजारमा ठमेलको ब्रान्डलाई थप मजबुत बनाउन नेतृत्वदायी भूमिका खेल्नुपर्ने समय आएको उनको भनाइ छ ।
यात्रुलाई सास्ती दिने गाडीलाई कारबाही हुने
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात क्षेत्रमा बढ्दै गएका विकृति र जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बुधबार (आज) सूचना जारी गर्दै यस्ता कार्य तत्काल सुधार नगरे कारबाही गर्ने चेतावनीसमेत दिएको छ । काठमाडौं उपत्यका लगायत देशभर सञ्चालित सार्वजनिक सवारी साधनहरूले यात्रुहरूलाई विभिन्न बहानामा सास्ती दिने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघका अनुसार यात्रुलाई गन्तव्य स्थानसम्म नपु¥याउने, बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, र बस पकेटभन्दा बाहिर जथाभावी यात्रु चढाउने तथा ओराल्ने जस्ता समस्याहरू व्यापक रूपमा देखिएका छन् । यसका साथै यात्रु तानातान गर्ने, सिट सरसफाइ नगर्ने, डस्टबिनको व्यवस्था नगर्ने, राजमार्गमा गुणस्तरीय खाना खुवाने ठाउँ निश्चित नगरी जथाभावी खाना खुवाउने, तीव्र गतिमा सवारी साधन चलाउने, ट्राफिक नियम पालना नगर्ने, र सवारी साधनसँग सम्बन्धित कागजात दुरुस्त नराख्ने जस्ता जनगुनासोहरू बढेका छन् । यी र यस्ता क्रियाकलापहरूले गर्दा अर्बौंको लगानी भएको र राज्यलाई अग्रिम राजस्व बुझाउँदै आएको यातायात क्षेत्रलाई आम सरोकारवालाहरूले अपहेलित र अमर्यादित पेसाको रूपमा लिन थालेको महासंघले जनाएको छ । यातायात क्षेत्रलाई बदनाम गराउने प्रयास भइरहेको भन्दै महासंघले कहीँ कतै कसैले यस्ता कार्य गरेको भए तत्काल सुधार गरी आधुनिक प्रविधिमैत्री सेवा सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई सचेत गराएको सूचनामा उल्लेख छ । यो सूचनालाई बेवास्ता गरी सवारी साधन, व्यवसायी, वा मजदुरहरूले यस्ता गलत कार्य जारी राखेको पाइएमा सम्बन्धित निकायबाट कारबाही गरिने बेहोरासमेत महासंघले स्पष्ट पारेको छ ।
बीमा कार्यक्रम बन्द : सेवाग्राही समस्यामा
भजनी । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बीमा योजना बन्द भएपछि सेवाग्राहीलाई उपचारमा समस्या परेको छ । प्राथमिक स्वास्थ्य केन्द्रले बीमा गरेबापत पाउनुपर्ने रकम नपाएपछि उपचारमा समस्या भएको हो । जेठ २९ गतेदेखि केन्द्रले फार्मेसी र प्रयोगशाला सेवामा बीमा कटौती गरेको केन्द्रका अधिकारी अमरसिंह चौधरीले जानकारी दिए । चौधरीले भने, 'सरकारबाट बीमावापत प्राप्त हुने रकम कटौती गरेपछि अस्पतालको स्रोतले व्ययभार थेग्न नसक्ने हुँदा सेवाग्राहीले पाउँदै आएको फार्मेसी र प्रयोगशाला सेवाको बिमा कार्यक्रम रोकेका छौँ ।' चालु आर्थिक वर्षमा प्राथमिक स्वास्थ्य केन्द्रमा चार हजार ३७६ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन् । बीमा सेवा कटौती हुँदा ६५ जना मात्रै स्वास्थ्य केन्द्रमा सेवा लिन आएका छन् । 'स्थानीय सरकारसँग पटकपटक स्वास्थ्य केन्द्रलाई बजेटका लागि आग्रह गर्दा सुनुवाइ हुँदैन', केन्द्रका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले भने ।