हिमाल चढ्न ७९ देशका १ हजार ७२ जनाले लिए अनुमति
काठमाडौं । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा विदेशी आरोहीहरुका लागि हिमाल आरोहण गर्ने समय । कतिपय नयाँ आरोहीहरू आरोहणका लागि तयारी गर्दैछन् भने कोही विगतमा आफूले राखेका वा अन्य आरोहीका रेकर्डहरू तोड्दै नयाँ कीर्तिमानहरू राख्न आतुर देखिन्छन् । नेपाल पर्यटन बोर्डले ६ हजार ५०० मिटरभन्दा उचाइका हिमाल आरोहणलाई अनुमति दिँदै आएको छ भने नेपाल पर्वतारोहण संघ (एनएमए)ले भने ५ हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाललाई आरोहण अनुमति दिँदै आएको छ । यसपटक सेभेन समिट ट्रेक्सबाट मात्र ८५ जनाले सगरमाथा आरोहण गर्दैछन् । सगरमाथा आरोहणका लागि ४६४ जनाले अनुमति लिएकोमा सेभेन समिटबाट मात्र ८५ जना रहेको यसका सञ्चालक मिङ्मा शेर्पा बताउँछन् । सेभेन समिटले लामो समयदेखि विभिन्न देशका आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएको छ । यसबाहेक इलाइट एक्सिपिडिसन, ट्याग नेपाल, इम्याजिङ नेपाल एक्सिपिडिसन, हिमालयन गाइड एक्सिपिडिसन, आठ के एक्सिपिडिसनलगायतले विदेशी आरोहीलाई सगरमाथा आरोहण गराउँदै आएका छन् । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल रहेकोमा नेपालमा मात्र आठवटा पर्दछन् । हिमालैहिमालको देश नेपालमा हिमाल चढ्नकै लागि पनि बर्सेनि हजारौं आरोही आउने गरेका छन् । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न एक हजार ७२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि सन् २०२६ को मार्च १ देखि आजसम्म ७९ देशका एक हजार ७२ आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ८११ पुरुष र २६१ महिला रहेका छन् । हिमाल आरोहण अनुमति लिने सङ्ख्या अझै थपिनसक्ने विभागले जनाएको छ । गत वर्ष वसन्त ऋतुमा हिमाल आरोहणका लागि एक हजार १४० जना आरोहीले आरोहण अनुमति लिएका थिए । उक्त आरोहण अनुमति दिएवापत नेपालले रु ७९ करोड ४७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । यस्तै, सन् २०२४ मा ९९१ जनाले हिमाल आरोहण अनुमति लिएका थिए । नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव राजेन्द्र लामा कोरोना महामारीपछि नेपालको हिमाल आरोहणका लागि विदेशी आरोहीको आकर्षण बढेको बताउँछन् । एनएमएले अनुमति प्रदान गर्ने पाँच हजार ८०० देखि छ हजार ५०० उचाइका २७ हिमाल आरोहणका लागि पनि विदेशी आरोहीको हुटहुटी बढेको उनको भनाइ छ । महासचिव लामाका अनुसार संघले सन् २०२४ को जुलाईदेखि २०२५ को जुलाईसम्म दुई हजार २०४ परमिट जारी गरेको छ । जसबाट एनएमएले १६ करोड हाराहारीमा राजस्व सङ्कलन गरेको छ । यस्तै, सन् २०२५ को जुलाईदेखि हालसम्म दुई हजार २५ जनालाई परमिट जारी गरेको छ । उक्त परमिट जारी गरेबापत एनएमएले रु २० करोडभन्दा बढी राजस्व संकलन गरेको छ यस वर्ष वसन्त ऋतुका लागि सर्वाधिक अनुमति सर्वोच्च शिखर सगरमाथाका लागि आएको छ । सगरमाथा आरोहणका लागि मात्र हालसम्म ५५ देशका ४६४ आरोहीले अनुमति लिएको पर्यटन विभागका निर्देशक निशा थापा राउतले जानकारी दिइन् । सगरमाथा आरोहणका लागि अनुमति लिनेमा ३६४ पुरुष र १०० महिला रहेका छन् । विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेमा सबैभन्दा बढी चिनियाँ आरोही रहेका छन् । चीनबाट मात्र १३९ जना आरोहीले आरोहण अनुमति लिएको निर्देशक राउतले बताइन् । यसबाहेक, अमेरिकाबाट १३२, भारतबाट पाँच, बेलायतबाट ७२, जर्मनीबाट ६९, रुसबाट छ, क्यानडाबाट ३९, जापानबाट ३५, फ्रान्सबाट २६, अष्ट्रेलिया २४ र युक्रेनबाट २३ जनाले अनुमति लिएका छन् । यस्तै पोल्याण्डबाट ३१, नेपालबाट १७, अर्जेन्टिनाबाट १३, आयरल्याण्डबाट १४, चेक रिपब्लिकबाट १७, इक्वेडरबाट १०, ब्राजिलबाट नौ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । सरकारले सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २९ हिमाल तथा चुली आरोहणका लागि अनुमति दिएको हो । विभागका निर्देशक राउतका अनुसार सगरमाथाका लागि ४६४, ल्होत्से १११, आमदब्लम १०४, अन्नपूर्ण चार १३, धौलागिरी ३०, सरीबुङ १८, अन्नपूर्ण १ का लागि २७, थोराङ पिक १४, मकालु ७२, नप्तसे ५२, हिमलुङ हिमाल ४६, कञ्चनजङ्गा ३६, बरुण १२ जनाले अनमुति लिएका छन् । पछिल्लो समय पश्चिम एसियामा जारी द्वन्द्वका कारण नेपालको पर्यटन क्षेत्रमा प्रभाव परेको भए पनि हिमाल आरोहणका लागि भने उत्साहजनक सहभागिता देखिएको छ । यस वर्षको हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट विभागले १ अर्ब १७ करोड ५५ लाख ९ हजार २५९ राजस्व सङ्कलन गरेको छ । विभागले सबैभन्दा धेरै सगरमाथाबाट १ अर्ब १ करोड २८ लाख २३ हजार ९२५ राजस्व सङ्कलन गरेको छ । यस्तै, ल्होत्सेबाट ४ करोड ९७ लाख ७१ हजार ६५०, मकालुबाट र३ करोड १७ लाख ८५ हजार ८००, आम दब्लमबाट १ करोड ५५ लाख ४५ हजार ५५०, धौलागिरी–१ बाट १ करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण–१ बाट १ करोड २० लाख ४९ हजार १७५, कञ्चनजङ्गाबाट १ करोड ६० लाख ८१ हजार ६५० राजस्व सङ्कलन भएको छ । विभिन्न हिमाल आरोहणका लागि आरोहीहरू गन्तव्यतर्फ लाग्ने क्रम सुरु भएको छ । कतिपय आरोही भने हाल सगरमाथा आधार शिविरमा पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि अहिले डोरी टाँग्ने काम भइरहेको छ । सगरमाथा आरोहणलाई सहज बनाउनका लागि अहिले सगरमाथा प्रदूषण नियन्त्रण समितिले बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्म डोरी टाँग्ने काम गरिरहेको छ । समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा सगरमाथा बेस क्याम्पबाट आइसफल हुँदै क्याम्प दुईसम्मको बाटो बनाउने काम सम्पन्न भइसकेको बताउँछन् । यस्तै क्याम्प दुईदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम भने पर्वतारोहण सञ्चालक सङ्घ नेपालले गर्दै आएको छ । संघ नेपालका अध्यक्ष डम्बर पराजुली अहिले क्याम्प–३ सम्म डोरी टाँग्ने काम सम्पन्न भइसकेको बताउँछन् । ‘मौसमका कारण क्याम्प तीनदेखि सगरमाथा चुचुरोसम्म डोरी टाँग्नका लागि समस्या भइरहेको छ,’ अध्यक्ष पराजुली भन्छन् । अध्यक्ष पराजुली मौसम राम्रो भएमा अबको चार/पाँच दिनमा सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम सकिने बताउँछन् । मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सगरमाथा आरोहणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम केही ढिला भएको उनको भनाइ छ । अझै क्याम्प–४ हुँदै सगरमाथा चुचुरोसम्म डोरी टाँग्ने काम बाँकी नै रहेको अध्यक्ष पराजुली बताउँछन् । हिमाल आरोहणका लागि आएका आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि हिमालयन उद्धार संघले सगरमाथा आधार शिविर र फेरिचेमा चिकित्सकको टोली खटाइसकेको छ । हिमालय उद्धार संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्याल हिमाल आरोहण गर्न जाने आरोही र तीनका सहयोगीको स्वास्थ्यजाँचका लागि तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सगरमाथा क्षेत्रमा परिचालन गरिसकेको बताउँछन् । आरोहीको स्वास्थ्य जाँचका लागि सगरमाथा आधार शिविरमा अष्ट्रेलियाली चिकित्सक सामन्था एलिसन विल्स, नेपाली चिकित्सक पिन्स सिंह र सहयोगीका रूपमा लाक्पा नोर्बु शेर्पा खटिएका छन् । यस्तै, फेरिचे स्वास्थ्यचौकीमा अष्ट्रेलियाली चिकित्सक रेबेका एलेन कारपेन्टर, अमेरिकाका डा केटलिन ब्रुक हार्पर, नेपाली चिकित्सक आकृति सिंह र सहयोगीका रुपमा आङ दावा शेर्पा र थानेश्वर भण्डारी खटिएको सिइओ बस्याल बताउँछन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण २०० जेठ १६ (सन् १९५३ मे २) देखि सुरु भएको हो । सगरमाथाको पहिलो आरोही न्युजिल्याण्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा हुन् । उनीहरूले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेको दिनलाई सगरमाथा दिवसका रूपमा मनाइँदै आइएको छ ।
नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल बैंक र बि एण्ड बि हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बुधबार सम्पन्न सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटलमा उपचार सेवा लिँदा अस्पतालले तोकेको विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । उक्त छुट नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्दा लागू हुने जनाइएको छ । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी तथा बि एण्ड बि हस्पिटलका तर्फबाट प्रशासन प्रमुख प्रकाशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् । बैंकका अनुसार यस सहकार्यबाट नेपाल बैंकका ग्राहक तथा कर्मचारीले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने अपेक्षा गरिएको छ । हाल नेपाल बैंकले देशभर २३१ शाखा, २४६ एटीएम तथा ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिमार्फत छिटो, छरितो तथा गुणस्तरीय सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको पनि जनाएको छ ।
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हान्ताभाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ, यद्यपि समयमै कडा स्वास्थ्य सावधानी अपनाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । हालसम्म यस प्रकोपका कारण तीन जनाको मृत्यु भइसकेको छ भने पाँच वटा पुष्टि भएका र तीन वटा शंकास्पद सङ्क्रमणका केसहरू देखिएका छन् । सङ्क्रमित तथा शंकास्पद बिरामीहरूलाई बेलायत, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्याण्ड र दक्षिण अफ्रिकामा उपचार वा आइसोलेसनमा राखिएको छ । यो सङ्क्रमण एमभी होन्डियस नामक क्रुज जहाजसँग जोडिएको छ, जसले अर्जेन्टिनाको उसुआइआबाट यात्रा सुरु गरी क्यानरी टापुहरूतर्फ समुद्री यात्रा गरिरहेको थियो । यात्राका क्रममा केही यात्रुहरूमा अचानक गम्भीर लक्षण देखिन थालेपछि स्वास्थ्य अधिकारीहरूले जहाजमा फैलिएको संक्रमणबारे अनुसन्धान सुरु गरेका हुन् । प्रारम्भिक अनुसन्धानअनुसार एक यात्रु अर्जेन्टिनामा जहाज चढ्नु अघि नै संक्रमित भएको हुन सक्ने र पछि जहाजमा अन्य यात्रुहरूमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससका अनुसार हान्ताभाइरसको इन्क्युबेशन अवधि छ हप्तासम्म हुन सक्ने भएकाले आगामी दिन वा हप्ताहरूमा थप सङ्क्रमणका केसहरू देखिन सक्ने सम्भावना रहन्छ । उनले यस रोगको विकासक्रमलाई नजिकबाट निगरानी गरिँदैछ र अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताए । डब्ल्यूएचओका आपतकालीन प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले यदि सबै देशहरूले समयमै परीक्षण, सङ्क्रमित व्यक्तिहरूको पहिचान, सम्पर्क ट्रेसिङ र आइसोलेसन जस्ता सार्वजनिक स्वास्थ्य उपायहरू प्रभावकारी रूपमा लागू गरे भने यो प्रकोप ठूलो स्तरमा फैलिन नदिई नियन्त्रण गर्न सकिने बताए । उनका अनुसार अहिलेको अवस्था ‘सीमित तर सतर्क रहनुपर्ने’ प्रकृतिको छ । यसबीच अर्जेन्टिनाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमणको स्रोत पत्ता लगाउन उसुआइआ क्षेत्रमा मुसा परीक्षण गर्ने तयारी गरेका छन्, किनकि हान्ताभाइरस सामान्यतया संक्रमित मुसाको सम्पर्कबाट फैलिने गर्छ । जहाजमा यात्रा गरेका सबै यात्रु र चालक दलको विस्तृत सम्पर्क ट्रेसिङ पनि भइरहेको छ । जहाज सञ्चालक कम्पनी ओशनवाइड एक्सपेडिसनका अनुसार हाल जहाजमा कुनै पनि लक्षण देखिएका यात्रु छैनन् र जहाज आफ्नो गन्तव्य स्पेनको टेनेरिफतर्फ अघि बढिरहेको छ, जहाँ आइतबार पुग्ने तालिका छ । यात्रुहरूलाई विभिन्न देशमा पठाइएपछि स्थानीय स्वास्थ्य निकायहरूले उनीहरूको स्वास्थ्य निगरानी गरिरहेका छन् । डब्ल्यूएचओले यो प्रकोपलाई नियन्त्रणमा राख्न अन्तर्राष्ट्रिय सहयोग, समयमै परीक्षण र कडा आइसोलेसन उपायहरू अत्यन्त आवश्यक छन्, अन्यथा संक्रमण थप देशहरूमा फैलिन सक्ने जोखिम रहने जनाएको छ । रासस