सुर्खेत आँखा अस्पतालमा सेवा विस्तार : अब बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा सञ्चालनको तयारी गरेको छ । बाल आँखा उपचार सेवा (नवजात शिशु), ‘रेटिना’ र जलविन्दु उपचार सेवा थालनी गर्न अस्पतालले आन्तरिक तयारीलाई तीव्र बनाएको हो । यसका लागि अस्पतालले नेत्र विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन गरिरहेको छ । अस्पतालमा आँखा उपचारका ती उपविशिष्टिकृत सेवा थालनी भएमा आँखा उपचारका लागि सङ्घीय राजधानी काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने जनाइएको छ । अस्पतालको मेडिकल निर्देशक डा आकाङ्क्षा रानाले भने, 'सुर्खेत आँखा अस्पतालमा उपविशिष्टिकृत आँखा उपचार सेवाअन्तर्गत बाल आँखा उपचार सेवा (नवजात शिशुसहित), रेटिना र जलविन्दु सेवा सञ्चालनको तयारी गरिरहेका छौँ । रेटिना उपचार सुरुआत भइसकेको छ । अन्य सेवा छिट्टै थालनी हुने छ ।' स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अन्धोपनको दर कर्णाली प्रदेशमा उच्च अर्थात् कूल जनसङ्ख्याको एक प्रतिशत छ । पछिल्लो जनगणनाअनुसार यहाँका ७९ पालिकाका ७१८ वडामा १६ लाख ८८ हजार ४१२ जनसङ्ख्या छ । अस्पतालले बाल आँखा उपचार सेवा र रेटिना उपचार सेवा थालनीका लागि चिकित्सक र स्वास्थ्यकर्मीको प्रबन्ध गरेर काठमाण्डौंस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा तालिमका लागि पठाएको छ भने ती सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापन गरिसकेको छ । स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाटीद्वारा सञ्चालित सो अस्पतालमा हाल कर्णाली प्रदेशका १० जिल्लासहित पछिल्ला समयमा अछाम, बाजुरा र बझाङका आँखाका बिरामी सेवा लिन आउने गर्दछन् । नेपाल रेडक्रसले सुर्खेत आँखा अस्पताल सहित जनकपुरमा पनि आँखा अस्पताल सञ्चालन गरिराखेको छ । नेत्र विशेषज्ञ रानाका अनुसार हाल अस्पतालले बहिरङ्ग सेवाअन्तर्गत आँखा जाँच, कम्प्युटरद्वारा चश्मा जाँच, मधुमेह र उच्च रक्तचापका कारण हुनसक्ने दृष्टिविहीनको परीक्षण, परामर्श तथा प्रेषण सेवा, प्रयोगशाला, आँखाको अल्ट्रासाउण्ड, याग लेजर सेवा, आँखाको पर्दाको फोटो, औषधि पसललगायत सञ्चालन गरिरहेको छ । शल्यक्रिया सेवाअन्तर्गत मेसिनद्वारा सानो घाउ बनाएर मोतिविन्दुको शल्यक्रिया गरिने आधुनिक पद्धति (पाको), आँशुनली, मासुपलाएको शल्यक्रियासहित अन्य आँखा उपचारसम्बन्धी सामान्य शल्यक्रिया सेवा उपलब्ध गराइरहेको छ । अस्पताल बिमा कार्यक्रममा आबद्ध भएकाले विपन्न नागरिकलाई आँखा उपचार सेवामा सहज पहुँच भएको मेडिकल निर्देशक डा रानाले बताए । बिरामीको चाप उच्च : स्थानको अभाव नेपाल रेडक्रस सोसाइटीका सुर्खेत जिल्ला सभापति रामलाल आचार्यले भने, 'पछिल्लो समय बिरामी चापमा वृद्धि र सेवा विस्तारको तयारी गरेसँगै अस्पतालमा स्थान एवं भवनको अभाव भएको छ । बिरामी बस्ने र जाँच गर्ने स्थानको अभाव हुँदै गएको छ ।' अस्पतालले प्रदेशको सामाजिक विकास मन्त्रालय र वीरेन्द्र नगरको सहकार्यमा भवनमा तला थप गर्ने र अन्य पूर्वाधार बनाउने काम पनि जारी राखेको छ । ‘आँखा स्वास्थ्य महत्वपूर्ण सेवा हो’ भन्ने विषयलाई तीनै तहका सरकार र स्वयं नेपाल रेडक्रसका केन्द्रीय कार्यालय र दाताले महत्व नबुझेको उनले गुनासो गरे । उनले भने, 'दाताका भरमा अस्पतालको अत्याधुनिक संरचना, उपकरण र दक्ष जनशक्तिसहित सेवा सुरु त भयो, अब कसरी टिकाइराख्ने भन्ने चिन्ता छ । विपन्न जनतामा आँखा सेवाको पहुँच पुर्याउन चुनौति छ । नीतिनिर्माता तहका व्यक्तित्वहरु अस्पताल भ्रमण गर्दछन् । अस्पताल हुनु त यस्तो पो भन्दछन् । यहाँको सेवाको प्रशंसा गर्दछन् । तर सहयोग त्यत्ति बढाइदिँदैनन् ।' अस्पतालले बाह्य आँखा उपचार सेवाअन्तर्गत यहाँका अतिदुर्गम स्थानमा आँखा शिविरसमेत सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा विशेष गरेर मोतियाविन्दु देखिएका बिरामीका अस्पतालमा ल्याएर शल्यक्रियासमेत गर्दै आएको छ । अस्पतालले स्थानीय पालिकाको समन्वय र सहकार्यमा नौ स्थानमा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरिरहेको छ । ती स्थानमा पञ्चपुरी नगरपालिका विद्यापुर, भेरीगङ्गा नगरपालिका छिन्चु, दैलेख नगरपालिका, नारायण नगरपालिका, आठबिस नगरपालिका, भेरी नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र बनगाडा कुपिण्डे नगरपालिका छन् । आँखा उपचार केन्द्रसम्म पनि पहुँच नभएकालाई शिविर सञ्चालन तथा विद्यालयका छात्रछात्राको आँखा जाँच कार्यक्रम जारी राखेको छ । सभापति आचार्यले भने, 'विद्यालयका छात्रछात्राको आँखा जाँच कार्यक्रमबाट सिकाइ उपलब्धि उँचो देखिएको छ ।' अस्पतालले गत आवमा एक लाख आँखाका बिरामीलाई सेवा उपलब्ध गराएको थियो भने चार हजारको मातियाविन्दुको शल्यक्रिया गरेको थियो । अस्पतालको उत्कृष्ट व्यवस्थापन र सरसफाइका कारण पनि सेवाग्राही अस्पतालमा आकर्षित भइराखेका छन् । अस्पतालको भवन बाहिरबाट हेर्दा जति आकर्षित छ, त्यति नै भित्र छिर्दा बिरामी मैत्री देखिन्छ । भेरी नगरपालिका–१ का गङ्गा केसीले भने, 'आँखा जँचाउन सस्तो छ, जँचाउन डाक्टरसँग धेरै समय कुर्नु पर्दैन । अस्पताल सफा पनि छ । म यही भएर यहाँ आएको हुँ ।' पछिल्लो समय बिरामी चाप र सेवा विस्तारको तयारीसँगै अस्पतालमा बिरामी जाँच गर्ने स्थान एवं भवनको अभाव भएको छ । सुर्खेत बजारको मध्य भागमा रहेको अस्पतालले एक बिघा नौ कट्ठा जमिन चर्चेको छ । हाल अस्पतालमा तीन जना नेत्र विशेषज्ञसहित अन्य ४० स्वास्थ्यकर्मी सेवारत छन् । अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अन्यत्र काम गर्न अस्पताल व्यवस्थापनले प्रतिबन्ध लगाएको छ । सभापति आचार्यले भने, 'चिकित्सक एवं स्वास्थ्यकर्मीका समय अस्पतालमा उपयोग गर्दा सेवा प्रभावकारी भएको हो । यहाँ सेवारत चिकित्सक एवं स्वास्थ्यकर्मी अन्यत्र काम गर्न पाउँदैनन् ।' नेपाल रेडक्रस सोसाइटीका कामु कार्यकारी निर्देशक मोना अर्यालले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित आँखा अस्पतालको क्षमता वृद्धि गर्न उच्च प्राथमिकता दिइने जानकारी दिए । रासस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदै, नारा ‘सुरक्षित आकाश’

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ । विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) का सदस्य राष्ट्रमा यो दिवस मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन प्रारम्भ गरिएको हो । त्यसको दुई वर्षपछि संयुक्त राष्ट्र सङ्घको महासभाले यो दिवसलाई औपचारिक मान्यता प्रदान गरेको हो । अन्तर्राष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, मानव जातिको यात्रालाई सहज बनाउन विश्वव्यापी द्रुत यातायात सञ्जाल निर्माणमा आइकाओको भूमिकाको यो दिवसमा स्मरण गरिन्छ । आगामी २०३० मा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवाले विश्वका विभिन्न राष्ट्रलाई जोड्ने प्रमुख माध्यम भएकाले यो दिवसको सान्दर्भिकता अझ बढेको आइकाओले जनाएको छ ।

पौने ३ लाख विदेशीले गरे अन्नपूर्ण क्षेत्र भ्रमण, अब मार्चपछि मात्रै पर्यटक बढ्ने

काठमाडौं । पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा २ लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये १ लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक आएकामा जनवरीमा सबैभन्दा कम जम्मा ९ हजार ३५९ पर्यटक यस क्षेत्रमा भित्रिएको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए ।  फेब्रुअरीमा १२ हजार ६८ जना, मार्चमा ३६ हजार ८३४, मेमा ३४ हजार ७१६, जुनमा २६ हजार ८, जुलाईमा १४ हजार २३३, अगष्टमा १२ हजार १३२, सेप्टेम्बरमा १९ हजार ३८६, अक्टुबरमा ३७ हजार ७६ र नोभेम्बरमा २७ हजार ७१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । सन् २०२४ मा २ लाख ४४ हजार ४५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकोमा सन् २०२५ को पर्यटक आगमन बढेको हो । गत सेप्टेम्बर र मेमा अघिल्लो वर्षको तुलनामा केही कम पर्यटक आए पनि अन्य महिनामा भने गत वर्षको तुलनामा बढी पर्यटक आएको आयोजना प्रमुख डा. कडरियाले बताए । जाडो याम सुरू भएसँगै पर्यटक आगमन घट्ने र मार्चपछि पुनः पर्यटक बढ्ने उनको भनाइ छ । यस क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर र मार्चदेखि मेसम्ममा विदेशी पर्यटकको आगमन वृद्धि हुने गरेको छ । सडक मार्ग भएर यस क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यस्थलको भ्रमण गर्ने पर्यटकको सङ्ख्या पनि सोही याममा बढी हुने गर्छ । मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन् । आयोजना कार्यालयले अन्नपूर्ण क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर मुस्ताङलगायत गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पनि बर्सेनि बढ्दो छ । अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पर्यटकको रोजाइमा पर्ने गरेको छ ।  आयोजना कार्यालयको तथ्याङ्कअनुसार सन् २०२३ मा १ लाख ९१ हजार ६६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२० मा जम्मा १८ हजार ८३६ पर्यटक आएकामा त्यसयता बर्सेनि पर्यटक आगमनमा वृद्धि भइरहेको हो ।  अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिल लगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भाव्यता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । ७ हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् । हिमशृङखलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटन मैत्री पूर्वाधार, हावापानी, स्थानीयबासीको आतिथ्य र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रुपमा चिनिन्छ ।