सिंहदरबारभित्रै सुस्त इन्टरनेट : सुधारका लागि नेपाल टेलिकमको ‘स्पेशल फोर्स’ परिचालन गरिँदै
काठमाडौं । सिंहदरबारभित्र र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सरकार सक्रिय रूपमा अघि बढेको छ । प्रशासनिक केन्द्रका रूपमा रहेको यस क्षेत्रमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सम्बन्धित निकायहरूलाई सेवा थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन निर्देशन दिएका छन् । यसैक्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा अवरोधरहित रुपमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए । कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निगरानी र जोखिम व्यवस्थापनलाई मजबुत बनाउन उनले निर्देशन दिए । उनले सेवा प्रदायक तथा सम्बन्धित निकायलाई सम्भावित समस्याको समयमै पहिचान गरी तत्काल समाधान गर्न निर्देशन दिँदै जिम्मेवारी र जवाफदेहिता बढाउनुपर्ने बताए। यससँगै प्राविधिक र मानवीय कमजोरीका कारण सेवा अवरुद्ध हुने अवस्था अन्त्य गर्न दक्ष जनशक्ति परिचालनमा पनि जोड दिइएको छ । मन्त्री तिमिल्सिनाले नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली खटाई समस्या देखा परेमा तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले हालको अवस्थाबारे जानकारी दिँदै केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सेवा विच्छेद हुने समस्या देखिएको स्वीकार गरे । यस्ता समस्या समाधानका लागि प्राविधिक सुधार र व्यवस्थापनका उपायहरू अघि बढाइएको पनि उनले जानकारी दिए । उनका अनुसार सिंहदरबारभित्र हाल नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा छ भने ‘जी–क्लाउड’का लागि थप २५० एमबिपिएस क्षमताको इन्टरनेट प्रयोग भइरहेको छ । तर, अप्टिकल फाइबरमा हुने अवरोध, विशेषगरी सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने क्षतिले सेवा प्रभावित हुने गरेको उनले बताए । यसको दीर्घकालीन समाधानका लागि फाइबरलाई सुरक्षित रूपमा भूमिगत गरिनुपर्ने आवश्यकता पनि उनले औंल्याए । भट्टराइका अनुसार पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने ‘इन्टरनेट रिङ’ को व्यवस्था रहेकोमा हाल उक्त प्रणाली कमजोर बन्दै गएकोले त्यसलाई पुनः सुदृढ बनाउने प्रयास भइरहेको छ । साथै बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि प्रत्येक कार्यालयभित्रको नेटवर्क र सर्भर व्यवस्थापन सम्बन्धित निकायकै जिम्मा हुने भएकाले मन्त्रालय तथा निकायमा दक्ष सूचना प्रविधि जनशक्ति आवश्यक रहेको उनको भनाइ थियो ।
बिमेस्टेक स्तरीय रेडियोलोजी सम्मेलन ‘रेडकन २०२६’ सम्पन्न
काठमाडौं । काठमाडौंमा आयोजित बिमेस्टेक स्तरीय रेडियोलोजी सम्मेलन ‘रेडकन २०२६’ सम्पन्न भएको छ । बिम्स्टेकको संरचनाभित्र क्षेत्रीय रेडियोलोजी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिएको सम्मेलनले नेपालको रेडियोलोजी क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । सम्मेलनका क्रममा रेडियोलोजी क्षेत्रमा ज्ञान आदानप्रदान, अनुसन्धान विस्तार तथा आधुनिक प्रविधिको प्रयोगबारे विस्तृत छलफल भएको थियो । वैज्ञानिक सत्रहरू, कार्यशाला तथा विशेषज्ञ प्रस्तुतिहरूले सहभागीहरूलाई नयाँ अनुभव र सिकाइ प्रदान गरेको आयोजकहरूले जनाएका छन् । सम्मेलनमा डा. सुदीप केसीलाई एनआरए फेलोसिप अनुदान प्रदान गरिएको छ, जसले अनुसन्धान र उत्कृष्टतालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ भने प्रसूति अल्ट्रासाउन्डसम्बन्धी मापदण्ड निर्देशिका, एनआरए वार्षिक क्यालेन्डर २०८३ तथा एनआरएको युट्युब च्यानल सार्वजनिक गरिएको छ । सम्मेलनको अन्त्यमा ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै सदस्य राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रेडियोलोजीको सन्दर्भमा बिम्स्टेक राष्ट्रका प्रतिनिधिहरूले चिकित्सा इमेजिङ, डायग्नोस्टिक प्रविधि, अनुसन्धान र क्लिनिकल अभ्यासमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले आधुनिक रेडियोलोजिकल प्रविधिको उपयोग, दक्षता अभिवृद्धि, र ज्ञान तथा अनुभवको प्रभावकारी आदान–प्रदानमार्फत रोग निदान सेवाको गुणस्तर सुधार गर्न संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
टोमलाल पाण्डे अक्षय कोषबाट कुमारी आधारभूत विद्यालयका विद्यार्थी सम्मानित
काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकामा रहेको कुमारी आधारभूत विद्यालयमा विभिन्न अक्षय कोषमार्फत जेहेन्दार तथा सिमान्तीकृत विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयमा स्थापना गरिएका टोमलाल पाण्डे स्मृति अक्षय कोष, शान्ता तथा ओसन पन्थी अक्षय कोष र द्रुपदा पाण्डे अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको हो । विद्यालयकी प्रधानाध्यापक राधिका सापकोटा भण्डारीका अनुसार जनजाति तथा सिमान्तीकृत समुदायका विद्यार्थीको संख्या बढी रहेको विद्यालयमा स्थानीय समाजसेवीहरूले अक्षय कोष स्थापना गरी शिक्षामा प्रेरणा दिने प्रयास गरेका छन् । ती अक्षय कोषबाट प्राप्त ब्याज रकम उत्कृष्ट, अपांग तथा सिमान्तीकृत विद्यार्थीलाई पुरस्कारका रूपमा वितरण गर्ने गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिइन् । उनका अनुसार कक्षा १ देखि ५ सम्मका उत्कृष्ट तथा सिमान्तीकृत विद्यार्थीलाई नगद र जिन्सी सामग्री प्रदान गरिएको हो । पुरस्कृत हुने विद्यार्थीहरूमा आकृति कुमाल, बसन्त कुमाल, गीता कुमाल, पूजा मुखिया, मदन कुमाल, अशोक नेपाली र बुद्धिराम कुमाल रहेको प्राधानाध्यापक भण्डारीले जानकारी दिइन् । उनीहरूलाई जनही ५ सय रुपैयाँका साथै कापी, कलम लगायतका स्टेशनरी सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ । यसैगरी, सोही अक्षय कोषबाट कक्षा १ का सबै विद्यार्थीलाई समेत स्टेशनरी सामग्री उपलब्ध गराइएको भण्डारीले जानकारी दिइन् । विद्यालयको वार्षिकोत्सव तथा नतिजा प्रकाशन समारोहको अवसरमा उत्कृष्ट शिक्षक र अभिभावकलाई समेत सम्मान गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिइन् ।