जेनजी घाइतेलाई निःशुल्क एमबीबीएस नियम विपरीत छैन : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई निःशुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्रष्ट पारेको छ ।      चिकित्सा शिक्षा आयोगको व्यवस्थाअनुसार छात्रवृत्ति ‘मेरिट’ र कानुनी मापदण्डका आधारमा वितरण हुने गरेकामा यस वर्ष एमबीबीएस सिटका लागि विद्यार्थी छनोट भइसक्दा पनि शाहलाई नियम विपरीत कोटा दिइएको भन्दै विरोध भएको थियो । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै सो समाचारप्रति ध्यानाकर्षण भएको समेत जनाएको छ ।      जारी विज्ञप्तिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार व्यवस्था गरिएको निःशुल्क छात्रवृत्ति कोटाअन्तर्गतको नभएर अतिरिक्त कोटाका रुपमा विशेष छात्रवृत्ति कोटामा अध्ययन गराउने गरी सरकारले बजेट व्यवस्थापन गरी निर्णय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।      मन्त्रालयका अनुसार सरकारको यस निर्णयले प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधासमेत नपरेको जनाइएको छ । जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को दफा ११ अनुसार नै चिकित्सा शिक्षा आयोगको अनुरोध र यस मन्त्रालयको नियमानुसारको प्रस्तावमा यो निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।      चिकित्सा शिक्षा आयोगबाट शैक्षिक वर्ष २०८२/८३ का लागि सञ्चालन भएको एमबीबीएस प्रवेश परीक्षामा शाहले ५७.५ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएका थिए । यही चैत १ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अतिरिक्त छात्रवृत्ति कोटामा एमबीबीएस पढाउने निर्णय  गरेको थियो ।       

चिकित्सक संघले भन्यो- आइतबार सेवा दिन सक्दैनौँ

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार अस्पतालमा ओपीडी सेवा प्रदान गर्न नसकिने बताएको छ । शुक्रबार विज्ञप्ति जारी गरेर आइतबारको हकमा आफ्नो कामको भार र जनशक्तिको संख्या हेरेर सेवा उपलब्ध गराउन नसकिने संघले जनाएको छ । संघले अस्पतालहरूमा जनशक्ति नथपिएकाले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन नसकिने उल्लेख गरेको हो ।  चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले ९ देखि ५ बजेको ड्युटी बाहेक अनकल, राउण्ड र इमर्जेन्सी लगायतका सेवा चौबिसै घण्टा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्याय पूर्ण रहेको संघको ठहर छ।  नेपाल सरकारद्वारा स्वास्थ्य संस्थामा रहेका जनशक्तिको वैज्ञानिक व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त अनुरोध कार्यान्वयन गर्न नसकिने र कामको लोड भएकै कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या देखा पर्ने सम्भावना रहेको संघले प्रस्ट पारेको छ । अस्पतालका कर्मचारीहरूलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसकेकाे सट्टा बिदा उपलब्ध गराउने भनिएकोमा विगतमा विभिन्न कानूनी कारण देखाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सट्टा बिदा उपयोग गर्नबाट वञ्चित गरिएको संघले बताएको छ । विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरूपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरू अन्योलमा पर्ने गरेको संघको दाबी छ । अनावश्यक झन्झट व्यहोर्नुपर्ने हुनाले यसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्याउने संघले उल्लेख गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि सेवालाई निरन्तरता दिन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । अस्पतालहरूले कार्यभार र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्नुपर्नेछ । मन्त्रालयका अनुसार अनुसार बिदा दिन सम्भव नभए सट्टा बिदा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यसैगरी, उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागु गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई अनुरोध गरिएको छ।    

ग्रामीण पर्यटनको नयाँ मोडेल : बन्दीपुर–केशवटार ‘होमस्टे सर्किट’ अगाडि बढ्यो

दमौली । यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास बोकेको व्यास नगरपालिकालाई जोडेर ‘होमस्टे सर्किट निर्माण’ प्रक्रिया अगाडि बढाइएको छ ।  व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाको सहकार्यमा ‘बन्दीपुर–केशवटार होमस्टे सर्किट’ ग्रामीण पर्यटन विकासको नयाँ ‘मोडेल’का रूपमा अगाडि सारिएको छ । सांस्कृतिक सम्पदालाई मूल आधार बनाई स्थानीय उत्पादन, परम्परा र वातावरणमा आधारित पर्यटनलाई अगाडि बढाउन खोजिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।  कुनै समय व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुर सदरमुकाम दमौली सरेपछि ओझेलमा परेको थियो । हिजोआज सोही सहर पुनः खुला र जीवन्त सांस्कृतिक सङ्ग्रहालयका रूपमा स्थापित हुँदै गएको छ । ‘पहाडकी रानी’ उपनामले समेत यो सहरले छुट्टै पहिचान बनाइसकेको छ । अब होमस्टेमार्फत यहाँको पर्यटन प्रवर्द्धनका लागि थप काम गर्न खोजिएको अध्यक्ष थापाले बताए ।  “बन्दीपुर भ्रमण वर्ष २०२५ को सफलतापछि गाउँपालिकाले सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । सोहीबमोजिम विविध प्राकृतिक, सामाजिक र सांस्कृतिक सम्पदालाई उपयोग गर्दै नयाँ गन्तव्यको विकास गर्ने क्रममा  ‘सर्किट’ को अवधारणाअनुसार महत्त्वपूर्ण योजनाका रूपमा अघि बढाइएको छ”, उनले भने ।  करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको यस ‘सर्किट’मा १४ वटा ‘होमस्टे’ र २० भन्दा बढी गाउँ समेटिनेछन् । गुरुङ, मगर, नेवारसँगै क्षेत्री, ब्राह्मण र दलित समुदायबाट सञ्चालित होमस्टेहरूले फरक–फरक सांस्कृतिक अनुभव प्रदान गर्नेछन् । गाउँपालिकाका अधिकांश वडाका साथै व्यास नगरपालिकाको वडा नं १४ यसमा समेटिएको छ । थापाका अनुसार यस सर्किटले होमस्टे सशक्तीकरणसँगै पर्यटनमार्फत ग्रामीण समुदायको आम्दानी वृद्धिमा टेवा पुग्नेछ ।  यसको विकासका लागि तीन चरणमा कार्यक्रम अघि बढाइएको जनाइएको छ । पहिलो चरणअन्तर्गत चैत १४ र १५ गते पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले संयुक्त रूपमा क्षेत्रको अध्ययन, अवलोकन तथा प्रत्येक ‘होमस्टे’ गाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिसकेका छन् ।  यस्तै, नेपाल पर्यटन बोर्ड पोखरासँगको सहकार्यमा आगामी वैशाख १८ र १९ गते आयोजना हुने गण्डकी प्रदेशस्तरीय ‘गाउँ पर्यटन मार्ट २०८३’ मार्फत ‘सर्किट’को राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गरिनेछ । ग्रामीण पर्यटनलाई थप सहज बनाउन गाउँपालिकाले सफारी जीप सेवासमेत सञ्चालनमा ल्याइसकेको छ, जसले गाउँ–गाउँमा पर्यटकको पहुँच विस्तार गर्ने अपेक्षा गरिएको गाउँपालिका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले बताए । यो ‘सर्किट’ नेपालकै पहिलो नमुना परियोजनाका रूपमा विकास गर्न खोजिएको र यसले विश्वसामु नेपाली ग्रामीण पर्यटनको नयाँ पहिचान स्थापित गर्ने लक्ष्य लिएको पर्यटनविज्ञ हरिसिंह गुरुङले बताए । स्थानीय संस्कृति, परम्परा र जीवनशैलीलाई जोगाउँदै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको महसुस गरी योजना अगाडि बढाउन लागिएको र यसले दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने उनले विश्वास व्यक्त गरे ।  यसमा बन्दीपुर–२ को मोहोरिया, रामकोट, व्यास–१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर–६ धरमपानी, व्यास–१२ कमलाबारी, बन्दीपुर–५ कोरिखा, बन्दीपुर सामुदायिक होमस्टे, बन्दीपुरको धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेलगायत समेटिएका छन् । रासस