आईटी कम्पनीलाई कर छुट, बहुराष्ट्रिय कम्पनीलाई सहुलियत
काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) कम्पनीलाई कर छुट दिने योजना अघि सारेको छ । वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका ६ वटै दलको चुनावी घोषणापत्रका आधारमा सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गर्दै आईटी कम्पनीलाई कर छुट तथा सहुलियत दिने योजना अघि सारेको हो । ‘बहुराष्ट्रिय प्रविधि कम्पनीहरुलाई नेपालमा विकास र नवप्रवर्धन केन्द्र स्थापना गर्न आकर्षित गरिनेछ । सूचना प्रविधि कम्पनीलाई कर सहुलियत प्रदान गरिनेछ । सरकारी डिजिटल परियोजनाहरुमा स्थानीय आईटी कम्पनीहरुको सहभागिता र साझेदारी सुनिश्चित हुने गरी सार्वजनिक खरिद प्रणालीमा सुधार गरिनेछ,’ मस्यौदामा भनिएको छ । सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगको रुपमा घोषणा गरिनुका साथै आईटी प्रवद्र्धन वोर्ड गठन गरिने, डिजिटल अर्थतन्त्रलाई आर्थिक वृद्धि, उच्च उत्पादकत्व र गुणस्तरीय रोजगारी सिर्जनाको प्रमुख क्षेत्रको रुपमा विकास गरिने मस्यौदामा उल्लेख गरेको छ । सरकारले डिजिटल इकोनोमी निर्माणका लागि सञ्चार तथा सार्वजनिक पूर्वाधार, डेटा सेन्टर, क्लाउड सेवा, साइवर सुरक्षा, वैयक्तिक विवरणको गोपनीयता र सुरक्षा विधि तथा उच्चगतिको कनेक्टिभिटीमा प्राथमिकतासाथ लगानी गरिनुका साथै सरकारी र सार्वजनिक प्रयोजनका लागि आवश्यक सफ्टवेयर र एप्लिकेशनहरु नेपालमै विकास गर्न प्रोत्साहन गर्ने गरी सार्वजनिक खरिद नीतिमा सुधार गरिने योजना अघि सारेको छ । मस्यौदामा भनिएको छ, ‘आगामी पाँच वर्षभित्र कृत्रिम बौद्धिकता र कम्प्यूटेसन शक्ति निर्यात गर्ने देशको रुपमा नेपाललाई रुपान्तरण गर्नेछौं । नेपालमै डेटा केन्द्र एआई कम्प्युटिङ्ग र डिजिटल सेवाको स्वदेशी उद्योग निर्माण गरी विश्व अर्थतन्त्रसँग जोडिनेछ । नेपाली आईटी कम्पनीहरुलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन फ्रम नेपाल टु दि वल्र्ड अभियानमुखी कार्यक्रम सञ्चालन गरिनेछ । सबै डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रियस्तरको रुपमा विकास गरिनेछ ।’ सरकारले नेपालको आफ्नै भू-उपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गरिनुका साथै कृत्रिम बौद्धिकता र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिने, डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन तथा नागरिक एपलाई सुपर एपको रुपमा विकास गरिने उल्लेख गरेको छ । डिजिटल सिपमा लगानी वृद्धि गरिनुका साथै आर्टिफिसियल इन्टेलिजेन्स तथा कन्टेन्ट मोडरेसनसहित डिजिटल साक्षरतालाई कक्षा १२ सम्म अनिवार्य गरिने मस्यौदामा उल्लेख गरिएको छ ।
पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ
गण्डकी । नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताको ९० प्रतिशत बढी भरिभराउ भएका छन् । नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटेल भरिभराउ भएको होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव वर्ष महोत्सवको २१औँ संस्करणका कारण पनि पोखरामा पर्यटकको आगमन बढाएको उनले बताए । प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण चासो र चर्चा कमाएको पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुका साथै यसको प्रवर्द्धनमा निरन्तर गरिएका प्रयाससँगै पर्यटकको आगमन पनि बढ्दो क्रममा रहेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा क्षेत्रमा कुल एक हजार २०० होटेल रहेकामा प्रत्येक दिन ४० हजारसम्म पर्यटक राख्न सकिने अध्यक्ष सुवेदीले बताए ।
पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता
काठमाडौं । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ । आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरू प्रदर्शन गरेको थियो । साथै, नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएका प्रचारात्मक वृत्तचित्र तथा भिडियोहरू पनि प्रदर्शन गरिएको दूतावासले जनाएको छ । यस कार्यक्रमले क्यानडेली पर्यटकहरूमाझ नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।