एआई प्रविधिबाट चितवनमा ७२ जना क्षयरोगी फेला
काठमाडौं । चितवनका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२ जनामा क्षयरोग पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय चितवनले भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा उक्त उपकरणको सहायताले क्षयरोगको पहिचान गरेको हो । कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीले साउनयता एआई एक्सरे उपकरणको सहायताले चार हजार ७१ को परीक्षण गर्दा ७२ जनामा क्षयरोग पुष्टि भएको जानकारी दिए । ‘परीक्षण गरिएकामध्ये दुई सय नौ जनामा क्षयरोगको लक्ष्यण देखिएको थियो । लक्ष्यण देखिएकाको थप परीक्षण गर्दा ७२ जनामा सङ्क्रमण पुष्टि भएको हो’, उनले भने । भरतपुर महानगरपालिकामा १६, कालिका नगरपालिकामा १७, माडी नगरपालिकामा १६ र इच्छाकामना गाउँपालिकामा २३ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको क्षयकुष्ठ अधिकृत दुवाडीले जानकारी दिए । उक्त एक्सरे उपकरणमा एआई प्रविधिको जडान गरिनुका साथै उक्त उपकरणले बिरामीको अवस्थासहितको जानकारी दिने बताउँदै उनले उपकरणको सही प्रयोग गर्ने उद्देश्यले विशेषज्ञ चिकित्सकको सहायतामा क्षयरोग पहिचानसम्बन्धी शिविर सञ्चालन गरिएको उल्लेख गरे । क्षयकुष्ठ अधिकृत दुवाडीका अनुसार यो रोग माइक्रोब्याक्टेरियम ट्युबरकुलोसिस नामक व्याक्टेरियाको सङ्क्रमणका कारण हुन्छ । ‘रोग लागेको सुरुआती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने र कमजोरी महसुस हुन थाल्छ । मानिसले यस्ता लक्ष्यणलाई गम्भीरतापूर्वक लिँदैनन् । विस्तारै क्षयरोगको व्याक्टेरियाले सङ्क्रमणको रूप लिई म्भीर समस्या निम्त्याउने गर्दछ’, उनले भने । रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्ने क्षयकुष्ठ अधिकृत दुवाडीले सुझाव दिए । यो रोग लागेमा सुर्ती मिसाएर बनेका कुनै पनि पदार्थ सेवन नगर्ने, सुरु गरेको भए तुरुन्तै छोड्नुपर्छ । अधिक मदिरा, लागुपदार्थ वा औषधि सेवन गर्न नहुने क्षयकुष्ठ अधिकृत दुवाडीले बताए । स्वास्थ्यकर्मीको परामर्श लिई नियमित रूपमा पूरा समय (छदेखि आठ महिना)सम्म निःशुल्क प्राप्त हुने औषधि सेवन गर्ने, औषधि सेवन गर्न सुरु गरेपछि स्वास्थ्यकर्मीको सल्लाहअनुसार समयसमयमा परीक्षण गर्नेलगायत कार्य गर्न आवश्यक रहेको उनले सुझाव दिए ।
नागरिक एपमा अब एनओसी र लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि राखिने
काठमाडौं । सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष रूपमा जोडिएका सेवालाई अनलाइन माध्यमबाट उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा अब निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोकसेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नागरिक एपबाट प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहले हाल उक्त प्रणाली परीक्षणको चरणमा रहेको बताउँदै आगामी एक साताभित्र पूर्ण रूपमा कार्यान्वयनमा आइसक्ने जानकारी दिए । उनका अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्ययोजनाअनुसार नागरिक एपमा थप सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने तथा ४५ दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको अवधिभन्दा अघि यी कामहरू सम्पन्न गर्न विभागलाई निर्देशन दिएका छन् । यस पहललाई अघि बढाउन उनले विशेष चासो देखाउँदै नागरिक एपमा थप सेवा एकीकृत गर्नसमेत निर्देशन दिएका हुन् । सोही निर्देशनअनुसार विभागले विभिन्न निकायसँग समन्वय गर्दै प्रणाली विकास तथा परिमार्जनको काम भइरहेको जनाएको छ । नेपाल इन्जिनियरिङ परिषद्सँग सम्झौता गरी परिषदबाट जारी हुने व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपबाटै उपलब्ध हुने प्रक्रियासमेत अघि बढिसकेको विभागका महानिर्देशक साहले जानकारी दिए । नयाँ प्रणाली लागू भएपछि लोकसेवा आयोगका परीक्षार्थीका लागि आवश्यक प्रवेशपत्र, वैदेशिक अध्ययन स्वीकृतिपत्र तथा निजामती कर्मचारीले आफ्नो व्यक्तिगत विवरणहरू नागरिक एपबाटै डाउनलोड गर्न सक्नेछन् । यसका लागि हाल प्रणालीको परीक्षण जारी छ भने नयाँ संस्करण सार्वजनिक भएपछि उक्त सुविधासहितको नागरिक एप डाउनलोड गर्न सकिनेछ । सार्वजनिक सेवामा पारदर्शिता, सहजता र डिजिटल पहुँच विस्तार गर्ने लक्ष्यसहित मन्त्रिपरिषद्को बैठकबाट यही चैत १३ गते स्वीकृत ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ३५ मा पनि यो विषय उल्लेख छ। नागरिक एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स रिपोर्ट) डाउनलोड गर्न सकिने सुविधा भने हाल सञ्चालनमा आइसकेको छ । नयाँ सेवाहरू थपिएसँगै नागरिक एपलाई वन–स्टप डिजिटल सेवा प्लेटफर्म’ बनाउने सरकारको उद्देश्य अझ सशक्त हुने अपेक्षा गरिएको छ । डिजिटल माध्यमबाट सेवा उपलब्ध गराउने यस कदमले सेवाग्राहीलाई समय, लागत र प्रक्रियागत झन्झटबाट राहत दिने विश्वास गरिएको छ भने सरकारी सेवा प्रवाहलाई पनि थप पारदर्शी, प्रभावकारी र आधुनिक बनाउने दिशामा महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
काठमाडौं । इनड्राइभल डेलिभरी सेवा इनड्राइभ.कुरियर्सप्रति उल्लेखनीय रूपमा माग बढेको जनाएको छ । विशेषगरी साना तथा मध्यम व्यवसायहरूले यस वृद्धिमा महत्त्वपूर्ण भूमिका खेलेको इन्ड्राइभले जनाएको छ । इनड्राइभ.कुरियर्स एक अन–डिमान्ड डेलिभरी सेवा हो, जसले व्यक्तिहरू र व्यवसायहरूलाई छिटो, भरपर्दो र पारदर्शी रूपमा सामान पठाउन कुरियर सेवासँग जोड्छ । यस सेवामार्फत ग्राहक र कुरियरबीच सिधै सहमतिमा उचित भाडा निर्धारण गरी शहरभित्र पार्सल पठाउन सकिन्छ । औसतमा, कुरियरहरू ५–६ मिनेटमै पिकअप स्थानमा पुग्छन् भने ४० सेकेन्डभन्दा कम समयमा अर्डर मिलान हुन्छ । औसत डेलिभरी दूरी करिब ६ किलोमिटर रहेको छ । इनड्राइभको तथ्यांकअनुसार सन् २०२५ को नेपाली नयाँ वर्षको अवधिमा डेलिभरी अर्डर संख्या अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतभन्दा बढीले बढेको थियो । साथै कुल प्रयोगकर्ता संख्या र साना तथा मध्यम व्यवसाय साझेदारहरू, जसमा स्थानीय पसल, अनलाइन विक्रेता र घरबाट सञ्चालन हुने व्यवसायहरू समावेश छन्, दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा सक्रिय व्यवसाय प्रयोगकर्ताको संख्या २.६ गुणाले बढेको छ, जसले साना व्यवसायहरूमा डेलिभरी सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको देखाउँछ । अर्डर संख्यामा काठमाडौंले अग्रणी भूमिका खेलेको छ । साथै पोखरा र भरतपुरजस्ता सहरहरूमा पनि स्थिर विस्तार भइरहेको छ । इनड्राइभ.कुरियर्सले नेपालका साना व्यवसायहरूका लागि भरपर्दो डेलिभरी समाधानका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाउँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।