नयाँ वर्षमा मनकामना हिलक्रेस्टको अफर : १६ हजारमा वान नाइट स्टे, यस्ता छन् अन्य सुविधा

काठमाडौं । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै मनकामना हिलक्रेस्ट रिसोर्टले ‘वान नाइट स्टे’ को नयाँ प्याकेज सार्वजनिक गरेको छ ।  रिर्सोटले प्रति जोडी  १५ हजार ९९९ रुपैयाँ (करसहित) मा ल्याइएको उक्त अफरमा बसाइँ, खानपान, मनोरञ्जनदेखि धार्मिक पर्यटनसम्म समेटिएको छ ।  रिर्सोटका अनुसार पहिलो दिन पर्यटकलाई स्वागतस्वरूप वेलकम ड्रिंक प्रदान गरिनेछ भने बसाइँ अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ । मनोरञ्जनात्मक प्याकेज मनोरञ्जनात्मक प्याकेजअन्तर्गत बिङ्गो, राफेल ड्र, डिजे डान्स फ्लोरसहितको, लाइभ म्युजिक, विभिन्न खेलकुद गतिविधि तथा मगर कल्चरल कौरा सांस्कृतिक नृत्य जस्ता कार्यक्रम समावेश गरिएको छ । डिनर यो प्योकेजभित्र पाहुनाहरूका लागि एक ककटेल/मकटेल निःशुल्क उपलब्ध गराइनेछ । साथै बफेट डिनरको पनि व्यवस्था गरिएको छ । भोलिपल्ट बिहान अर्थात नयाँ वर्षको दिन ११ बजेसम्म फुल इंग्लिस वा कन्टिनेन्टल बफेट ब्रेकफास्टको सुविधा समेत प्याकेजमा समावेश गरिएको होटलले जनाएको छ। प्याकेजको अर्को आकर्षणका रूपमा मनकामना केवलकारको दुईतर्फी टिकट प्रदान गरिएको छ ।  नयाँ वर्षको दिन खानपानमा १० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ । त्यस्तै, अर्ली बर्ड अफर तथा जिम, स्विमिङ पुल, साउना र स्टीमको सुविधा पनि उपलब्ध गराएको छ । रिसोर्टका अनुसार यही प्याकेजअन्तर्गत परिवारसहित बस्न आउँदा १० वर्षभन्दा मुनिका बच्चाका लागि प्रति बच्चा ३ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । त्यस्तै, १० वर्षभन्दा माथिका एडल्टका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क लाग्ने होटलले जनाएको छ ।  होटलले यो अफर सीमित समयका लागि लागू हुने जानकारी दिएको छ ।

दुबईको मजदुरी छाडेर मायाँटारमा घरबास, जीवनले लियो नयाँ मोड

नारायण अधिकारी चितवन । दश वर्ष दुवइमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा घरबास सुरु गरे पछि विदेश फर्कने सोच बदलेका छन् । इच्छाकामना गाउँपालिका–३ मायाँटारमा बाटो छेउमा आफैँ बसेको घरबाट उनले घरबास सुरु गरेका हुन् ।  विसं १९७८ मा बनेको पुरानो सैलीको घरमा बाटो हिँड्नेहरुलाई बास दिने चलन थियो । यही बाटो हुँदै उपरदाङ्गढी, शक्तिखोर, हुग्दी खोला, इच्छाकामना मन्दिर, फिस्लीङ्लगायतका ठाउँमा हिडेर जानेहरू रातमा यही बास बस्ने गर्थे । गुरुङले भने, 'बाटोको घर भएकाले यही बाटो हुँदै हिँडडुल गर्नेहरुको बस्ने थलो हो यो', उनले थपे, 'हामीले पहिला देखिनै खान खान दिन्थ्यौँ, मान्छे सुताउँथ्यौँ ।'  दश वर्षको वैदेशिक रोजगारपछि फर्किएका गुरुङले चार वर्ष अघि यो घरलाई मर्मतसम्भार गरेर घरबासका लागि कोठा बनाए । दुवईमा होटलमा काम गरेको अनुभव लिएका उनले फेरि फर्किएर जानुभन्दा यही केही गर्ने सोच बनाए । दुवईमा मासिक एक लाख रुपैयाँ कमाउने गुरुङ यहाँ तीन जनालाई रोजगारी दिएर ८० हजार रुपैयाँ हाराहारी कमाई हुन थालेपछि विदेश जाने योजना स्थगित गरेर यही घरबास सञ्चालन गरेको बताउँछन् । साथी भाइको सुझावलाई मनन गर्दै उनले आफ्नो पुरानो घरमा घरबास बनाए । उनले भने, 'यही घरबाट सुरु गरेको पहिलो पिँढीमा दुईवटा कोठा र पछि दुईवटा गरेर चारवटा कोठा तयार भयो ।' यही घरमा उनीहरुको परिवार बस्थ्यो ।  जिल्लाको पहाडी भूभागमा घरबास बने पछि त्यहाँ जानेहरूको चहलपहल बढ्न थाल्यो । गर्मीको मौसममा जानेहरू बढी हुन थाले । बिहानै घाम लाग्ने भएकाले जाडो महिनामा पनि रात बिताउन जानेहरू बढ्न थालेपछि आफूले घरबास विस्तार गरेको उनी बताउँछन् । अहिले घर बाहिर पनि कोठा बनाएका छन् । एघार वटा कोठा छन् । तीमध्ये चार वटामा सँगै शौचालय पनि छ । उनले भने, 'पाहुनाको मागअनुसार विस्तार गर्दै छौँ ।' हिजो मायाँटार सुगम जिल्ला भएर पनि कर्णालीजस्तो रहेको भन्दै उनले बाटो, बत्ती सबै भए पछि अब मायाँटार पर्यटकीय गन्तव्य वन्न सकेको उनी बताउँछन् । दुई वर्षयता मायाँटारमा बिजुली बत्ती पुगेको छ । त्यस अघि पाहुनालाई टुकी र सोलारको उज्यालोमा राख्ने गरेको उनी बताउँछन् । मायाँटार चिनाउन चितवनका पत्रकारको भूमिका रहेको भन्दै उनले भने, 'मायाँटार मायाँटार बन्नुमा पत्रकारको ठूलो हात छ । समाचारकै कारण यहाँ बिजुली आयो र घुम्ने ठाउँहो भन्ने प्रचार भयो ।'  मायाँटार घुम्न आउनेहरुका लागि यहाँको रमणीय वातावरणसँगै नजिकै रहेको बालगौरी पाथीभरा मन्दिर प्रमुख गन्तव्य हो । सेतो पहरा गुफा यहाँबाट १५ मिनेटको दूरीमा छ । तीन किलोमिटर पर पर्यटकीय गन्तव्य रिग्दी खोला छ । जहाँ चिसो पानीमा नुहाउन र असला माछा पाइन्छ । त्यस्तै उपरदाङ्गढी यहाँबाट नजिकै पर्दछ । प्रचार हुँदै गए पछि पाहुनाको चाप हुन थालेको छ । एक रातमा ४० जनासम्म राख्ने क्षमता आफूसँग रहेको भन्दै उनले अहिले वरपर अरुले पनि घरबास बनाउन थालेको बताए । बिदाको दिनमा पहिलेनै फोनमार्फत बुकिङ हुने गरेको उनी बताउँछन् । आफूले स्थानीय उत्पादित खानेकुरा पाहुनालाई खुवाउने गरेको गुरुङले बताए । त्यही उत्पादन भएको फर्सी, स्कुस, निगुरो, लोकल कुखुरा, बोका, खसीजस्ता स्थानीय उत्पादनमा पाहुना रमाउने गर्दछन् ।  चितवनको तराई क्षेत्रमा अत्यधिक गर्मी हुँदा पनि त्यहाँ सिरक ओढेर सुत्नुपर्छ । यहाँ चितवनसहित काठमाडौं, मकवानपुर, पर्सा, नवलपरासी, कास्कीलगायतका धेरै जिल्लाबाट आन्तरिक पर्यटक घुम्न आउने गर्छन् । यो समुन्द्रिक सतहबाट करिब तीन हजार ५०० मिटर उचाइमा छ । भरतपुरबाट एक घण्टा ३० मिनेट हाराहारीको यात्रामा यहाँ पुग्न सकिन्छ । शक्तिखोर हुँदै त्यहाँ पुग्ने सडक कालोपत्रे छ । यही सडक हुँदै पृथ्वी राजमार्गको धादिङको हुग्दी खोला, धादिङ र चितवनको सिमानामा पर्ने मौवा खोला र चितवनको फिस्लिङमा पुग्न सकिन्छ । राजमार्ग तर्फबाट पनि त्यतीनै समयमा मायाँटार आउन सकिन्छ । रासस     

नेपाल टेलिकममा अब ‘ब्यालेन्स’ सुरक्षित, डेटा सकिए पनि पैसा नकाटिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि नेपाल टेलिकम (एनटीसी) का सेवामा व्यापक सुधारका काम सुरु भएका छन् ।  सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको पहलमा नेपाल टेलिकमको प्रयोगकर्ताको डेटा प्याकेज सकिएपछि स्वतः ब्यालेन्स काटिने अवस्था अन्त्य भएको छ भने सबै सेवा अनलाइन गर्ने र ‘वान टाइम केवाइसी’ लागू गर्ने प्रक्रिया अघि बढेको छ ।  अब प्रयोगकर्ताले लिएको डेटा प्याकेज ९० प्रतिशत खपत भएपछि सूचना प्राप्त गर्नेछन् । यससँगै ‘पे–एज–यू–गोज (पेजी) विकल्प उपलब्ध हुनेछ । जसले ग्राहकलाई डेटा सकिएपछि स्वतः शुल्क कट्ने वा नयाँ प्याकेज खरिद गर्नेबारे विकल्पसहितको छनोटको सुविधा दिनेछ। प्राधिकरणका प्रवक्ता रविन्द्र मानन्धरले हाल प्रणाली परीक्षणको चरणमा रहेको र चाँडै पूर्ण रूपमा कार्यान्वयनमा आउने जानकारी दिए । ‘अब डेटा सकिएपछि ग्राहकलाई इन्टरनेट प्रयोग जारी राख्ने वा नयाँ प्याकेज लिने भन्ने जानकारी दिइनेछ,’ उनले भने ।  उनका अनुसार युएसएसडीमार्फत खरिद गरिने डेटा प्याकमा तीनदेखि पाँच दिनभित्र यो सुविधा लागू हुनेछ भने नेपाल टेलिकमको मोबाइल एपमार्फत सेवा प्रयोग गर्ने ग्राहकले एक सातादेखि १० दिनभित्र यसलाई अनुभव गर्न पाउनेछन् । मन्त्रालयले अघि सारेको नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणालीअन्तर्गतको १० बुँदे सुधारात्मक कार्ययोजनामा पनि यो विषय समावेश गरिएको छ ।  कार्ययोजनाअनुसार नेपाल टेलिकमको सेवा गुणस्तर सुधार, ग्राहक सेवा सुदृढीकरण, र डिजिटल सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखिएको छ । सोहीअनुसार नेपाल टेलिकमले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ग्राहक केन्द्रित सुधारका कदमहरू अघि बढाएको जनाएको छ ।  विशेषगरी मोबाइल डाटा व्यवस्थापन, डिजिटल प्लेटफर्म विस्तार र प्रशासनिक प्रक्रियालाई सरल बनाउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया सुरु गरिएको हो । ग्राहकलाई सहजता प्रदान गर्न कम्पनीले  ‘वान टाइम केवाईसी’ प्रणाली लागू गर्ने तयारी गरेको छ । यस प्रणालीअन्तर्गत ग्राहकले एकपटक पेश गरेको विवरण पुनः उपलब्ध गराउनुपर्ने झन्झट हट्नेछ । यो व्यवस्था आगामी ३० दिनभित्र लागू गर्ने लक्ष्य राखिएको छ । त्यस्तै, ई–सिम वितरण, गुनासो व्यवस्थापन, हराएको सिम पुनःप्राप्ति तथा स्वामित्व हस्तान्तरणजस्ता सेवाहरू पनि पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने योजना अघि बढाइएको छ । दूरसञ्चार सेवामा पहुँच र सहजिकरण बढाउन नेपाल टेलिकमका कार्यालयमा ‘एकल बिन्दु सेवा सहायता कक्ष स्थापना गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ । यस्तो सहायता कक्ष नेपाल टेलिकमका सबै कार्यालयमा स्थापना गरिनेछ, जसले ग्राहकलाई एउटै स्थानबाट सबै सेवा प्राप्त गर्न सहज बनाउने विश्वास लिइएको छ । यससँगै फोरजी सेवाको गुणस्तर सुधार गर्न नीतिगत परिमार्जन गर्ने तयारीसमेत थालिएको छ । मन्त्रालयका अनुसार ३० दिनभित्र आवश्यक नीति संशोधन गरी थप फ्रिक्वेन्सी उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसले इन्टरनेट गति र स्थायित्वमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।