नास आईटी एक्स्पो सुरु : सहकार्य र नवप्रवर्तनमार्फत नेपालको आईटी इकोसिस्टम सशक्तिकरण

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास-आईटी) ले शुक्रबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा नास-आईटी एक्स्पोको भव्य उद्घाटन गरेको छ ।  यो प्रदर्शनी नेपालकै सबैभन्दा ठूलो प्रविधि र नवप्रवर्तनमूलक मेला हो । ‘व्यवसायलाई प्रविधिसँग सँगै जोडी नेपालको एआई भविष्य निर्माण गर्दै’ भन्ने नाराका साथ आयोजित दुईदिने यस कार्यक्रममा ३५ भन्दा बढी अग्रणी टेक कम्पनीहरूले सहभागिता जनाएका छन् ।  कार्यक्रममा उद्योगका वरिष्ठ व्यक्तित्व, नीति निर्माताहरू, लगानीकर्ता, नवप्रवर्तक तथा स्वदेशी र विदेशी प्रविधि विशेषज्ञहरू सहभागी छन् । कार्यक्रमको उद्घाटन नास(आईटीका अध्यक्ष गौरव पाण्डेले गरे । उनले कार्यक्रमले दुई दिनको सहकार्य, अध्ययन र अन्वेषणको प्रेरणादायी सुरुवात गरेको बताए ।  अध्यक्ष पाण्डेले भने, ‘यो एक्स्पो केवल प्रदर्शनी होइन, यो संवाद, सहकार्य र प्रगतिका लागि प्लेटफर्म हो । हाम्रो उद्देश्य नेपाललाई विश्वसनीय डिजिटल प्रतिभा, प्रविधि समाधान र नवप्रवर्तनको ग्लोबल हबका रूपमा स्थापित गर्नु हो ।’ टिग कम्पनीकी सह(संस्थापक प्रार्थना साखाले नेपालमा उदाउँदो प्रविधि इकोसिस्टमलाई सघाउनको महत्त्व औंल्याइन् ।  कार्यक्रममा विभिन्न प्रतिष्ठित वक्ताहरूका विचारपूर्ण सत्रहरू पनि समावेश थिए ।

स्वाथ्य सेवा विभागका निर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा

काठमाडौं । जिम्मेवारी सम्हालेको नौ महिनामै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले राजीनामा दिएका छन् ।  सचिवको दौडमा रहेका बाराकोटी सचिवमा डा. विकास देवकोटा नियुक्त भएपछि स्वास्थ्य सेवा विभागको निर्देशकमा नियुक्त भएका थिए । नियमित पदावधि दुई वर्ष बढी बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । उनले आउँदो आइतबारबाट लागू हुनेगरी राजीनामा पत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई बुझाएका छन् ।  डा. बाराकोटीले बालरोग विशेषज्ञका रूपमा स्वास्थ्य सेवामा २५ वर्षभन्दा बढी समय बिताएका छन् ।

पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन जारी, के–के छ व्यवस्था ?

काठमाडौं । सरकारले पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन–२०८२ जारी गरेको छ । पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरूपता कायम गर्ने हिसाबले दिग्दर्शन जारी गरिएको हो ।  खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित, पहुँचयोग्य र पर्यावरणमैत्री पदमार्ग निर्माण गरी पदयात्रामा आकर्षण अभिवृद्धि गर्न, तीनै तहबाट निर्माण गरिने पदमार्गको व्यवस्थापनलाई सहजीकरण गर्न सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम दिग्दर्शन बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । दिग्दर्शनमा पदमार्गको वर्गीकरण रेखांकन, मापदण्डदेखि पालना गर्नुपर्ने नियमहरूसम्म उल्लेख गरिएको छ ।  पदमार्गको वर्गीकरणमा हाइकिङ पहिलो नम्बरमा राखिएको छ । एक दिन भित्र यात्रा गरिने न्यूनतम पाँच किमि दुरीको मार्गलाई हाइकिङका रुपमा परिभाषित गरिएको छ भने दोस्रो नम्बरमा सहज पदमार्ग राखिएको छ । एक दिन भन्दा बढी समय यात्रा गरिने अधिकतम तीन हजार मिटर उचाइसम्मको मार्गलाई सहज पदमार्ग राखिएको छ ।  त्यस्तै, तेस्रो नम्बरमा साहसिक पदमार्ग राखिएको छ । एक दिनभन्दा बढी समय यात्रा गरिने तीन हजार मिटर भन्दा माथिको उचाईको मार्गलाई सहासिक पदमार्गका रुपमा परिभाषित गर्न खोजिएको छ । पदमार्गको रेखाङ्कनसम्बन्धि मापदण्ड पनि दिग्दर्शनमा स्पष्ट पारिएको छ । पदमार्गले प्राकृतिक, जैविक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वका स्थानलाई जोड्नुपर्ने, पदमार्ग मोटरबाटोसँग नजोडिने गरी रेखाङ्कन गर्नुपर्ने, स्थानीय सम्पदाहरुको संरक्षण हुने गरी रेखाङ्कन हुनुपर्ने उल्लेख गरिएको छ ।  मन्त्रीस्तरीय निर्णयबाट जारी गरिएको पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गको मापदण्ड तोकिएको छ । जसमा पदमार्गको न्युनतम लम्बाई पाँच कि.मी हुनुपर्ने, पदमार्गको न्युनतम चौडाई, हाइकिङ पदमार्गको हकमा २ मिटर, सहज पदमार्गको हकमा २ मीटर र साहसिक पदमार्गको हकमा १.५ मीटर उल्लेख गरिएको छ।  पदमार्गमा सिँढी निर्माण गर्नुपर्ने भएमा सिँढीको उचाइ पनि तोकिएको छ । हाइकिङ पदमार्ग १८ देखि २० सेन्टिमिटर, सहज पदमार्ग १६ देखि १८ सेन्टिमिटर, साहसिक पदमार्ग १४ देखि १६ सेन्टिमिटर उचाइ तोकिएको छ । पदमार्गमा सिँढी निर्माण गर्दा अपाङ्गमैत्री संरचनासमेत बनाउनुपर्ने उल्लेख छ । पदमार्गको निर्माण कसले गर्ने भन्ने पनि उल्लेख गरिएको छ ।  हाइकिङ पदमार्ग निर्माण स्थानीय तहले गर्नुपर्ने,सहज पदमार्ग निर्माण प्रदेश सरकारले गर्नुपर्ने, साहसिक पदमार्ग निर्माण नेपाल सरकारले गर्नुपर्ने, पदमार्ग निर्माण गर्दा स्थानीय निर्माण सामग्री, जैविक प्रविधि, परम्परागत सीप र श्रमको प्रयोग गर्नुपर्नेछ तर, भाैगोलिक दृष्टिले जटिल रहे प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।  पदमार्ग निर्माण गर्दा पदयात्रीको लागि आवश्यक पर्ने विश्राम स्थल, शौचालय, फोहोर संकलन तथा व्यवस्थापन पूर्वाधार जस्ता आधारभुत सेवाको सुनिश्चितता हुने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज र आरक्षभित्र पदमार्गको निर्माण गर्दा वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिएर र संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पूर्वसहमति लिई पदमार्ग निर्माण गर्नुपर्ने उल्लेख छ ।   पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गमा उपलब्ध हुनुपर्ने सेवा समेत तोकिएको छ । तीनै तहका सरकारले पदयात्रीलाई लक्षित गरी पदमार्गमा  खानेपानी, शौचालय, आधारभूत सूचना तथा सञ्चार/पर्यटन सूचना केन्द्र,विश्राम स्थल, आधारभूत स्वास्थ्य उपचार, सुरक्षा तथा आपतकालीन उद्दार, स–साना पुलपुलेसा, दृष्यावलोकन स्थल (भ्यू प्वाइन्ट) को व्यवस्था गर्नुपर्ने उल्लेख छ ।   आवास तथा खानपिनको व्यवस्थाका बारेमा समेत पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनले तीनै तहका सरकारले पदमार्गमा स्थानीय समुदाय तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपने उल्लेख गरेको छ ।