कात्तिक २१ र २२ गते नास आईटी एक्सपो हुँदै, स्थानीय प्रविधि प्रवर्द्धनमा केन्द्रित
काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ आयोजना गर्ने भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरु प्रदर्शनीमा रहने छन् । स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए । 'एक्सपोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,' आइतबार काठमाडौंमा आयोजित प्रेस मिटमा पाण्डेले भने । यस्तै नास आईटीका उपाध्यक्ष दिपेन चापागाईले एस्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ । नास आईटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ, जस अनुसार टिगद्वारा प्रस्तुत नास आईटी एक्सपो २०२५ को नामबाट एक्सपो सञ्चालन हनेछ । परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यवसायिक अवसर, सहकार्य र ब्रान्ड निमौणको गतिशील मञ्चका रूपमा तयार गौरएको छ। एक्सपोमा विशेष गरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रुपान्तरणमा जोड दिइएको छ । नास-आईटी एक्स्पो ५ केवल एक प्रदर्शनी नभएर नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताइन् । एक्सपोमा ३० बढी आईटी सेवा र प्रडक्टहरुको प्रदर्शनी रहने छ । एक्सपो अवलोकनकर्तालाई अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ । साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्ने छन् । एक्सपोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरु आउने छन् । एक्सपो अवलोकन निःशुल्क गर्न सकिने छ। यसका लागि अनलाइन टिकट बाट लिन सकिने छ । दुई दिनसम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै र्यापिङ, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वर्ल्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।
सूर्योदय र सूर्यास्तसहित हिमशृङ्खलाको दृश्यावलोकन गर्न पुनहिल पुग्ने कि !
म्याग्दी । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ । अन्नपूर्ण गाउँपालिका वडा ६ स्थित घोडेपानी पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । प्रवेश शूल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का पाएका व्यवसायी सुदीप पुर्जा पुनले यसपालि मौसम र राजनीतिक अवस्था प्रतिकूल हुँदा अपेक्षाकृत सङ्ख्यामा पर्यटक नआएका बताए । यसअघिका वर्षका शरदयाममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए । घोडेपानीमा बास बसेका पर्यटक एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ सुविधासम्पन्न होटल छन् । त्यसैगरी, कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर घोडेपानी–पुनहिल पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिनेगरी पदमार्ग सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडकलाई स्तरोन्नतिलाई निरन्तरताका साथै र कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण –६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए । 'पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ', उनले भने, 'पदयात्रा गर्न रुचाउने विदेशी पर्यटक र सवारीसाधनको सुविधा खोज्ने नेपाली दुवैथरि पर्यटकलाई भित्र्याउन प्रयास गरेका छौँ ।' यसैबिच अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा वडा नं ६ मा रहेको पर्यटकीयस्थल पुनहिलबाट करिब रु ४६ लाख आम्दानी गरेको छ । पुनहिल भ्रमणमा आउने पर्यटकबाट प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनका लागि रु ४५ लाख ९० हजारमा ठेक्का सम्झौता भएको हो । ठेक्का प्रतिस्पर्धामा सबैभन्दा बढी कबोल गरेको होटल शिखर प्रालिले अग्रिम रकम जम्मा गरेर नियमानुसार १० प्रतिशत छुट पाएको गाउँपालिकाका सूचना अधिकारी भगवती खड्काले बताइन् । गत वर्ष रु ४० लाख आम्दानी भएको थियो । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल भ्रमण गर्ने विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु एक सय ५० र स्वदेशीबाट प्रतिव्यक्ति रु ५० का दरले प्रवेशशुल्क सङ्कलन तथा चिया पसल सञ्चालन गर्न गाउँपालिकाले ठेक्का लगाउँदै आएको छ । रासस
मनास्लु क्षेत्रमा घाइते भएका पर्यटकको उद्धार
गोरखा । मनास्लु क्षेत्र भ्रमणका क्रममा भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएका पर्यटकको आज हेलीद्वारा उद्धार गरिएको छ। बिहीबार चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर घाइते भएका झापाका मिनुइन्द्र लम्सालको तीनदिनपछि उद्धार गरिएको हो। प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेर उद्वारमा ढिलाइ भएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । घाइतेलाई आज दिउँसो सिम्रिक एयरको हेलीमार्फत उद्वार गरी काठमाडौं पठाएको उनले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका लम्सालको बिही स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिरहेको थियो । बिहीबार बिहान सामागाउँबाट फर्कँने क्रममा चुमनुब्री–४ बुर नजिकैको पहिरोमा भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर ४४ वर्षीय लम्साल गम्भीर घाइते भएका थिए । उनीसँगै विशाल लम्साल र दीपेन्द्र न्यौपाने पनि रहेकामा दुवै जना सकुशल रहेका प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए ।