शिक्षा सुधारमा महानगरको अनुभव देशभर विस्तार गर्ने मन्त्री पोखरेलको उद्घोष
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले पदभार ग्रहण गरेका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भइसकेपछि शितलनिवासबाट शपथ लिई सिंहदरबारमा उनले पदभार ग्रहण गरेका हुन्। मन्त्री पोखरेलले काठमाडौं महानगरमा सुरु गरेको शिक्षा सुधारको प्रयास देशभर विस्तारै गर्ने बताए । करिब साढे तीन वर्षमा महानगरका शिक्षा सुधारको प्रयास गरेकाले अब देशभरका सबै पालिकामा यो प्रयास गरिने उनले जानकारी दिए । उनी भन्छन्, ‘अहिले जनमानसमा रास्वपा आउनेबित्तिकै आजको भोलि विकासले फड्को मार्ने अपेक्षा गरेको छ तर, एकैदिन कुनै परिवर्तन सम्भव छैन । हामीले गर्ने भनेको पनि पहिले भइरहेका राम्रा प्रयासलाई आत्मसाथ र गलत प्रयासलाई सुधार्ने हो ।’ मन्त्री पोखरेलले यो कार्यमा सहयोग गर्न मन्त्रालयका सबै कर्मचारीको साथ र सहयोग आवश्यक रहेको बताए । ‘ब्युरोक्रेसी र लिडरसिप भनेको एकअर्कासँग नमिलिकन संसारमा कहीँ पनि काम हुँदैन, हजुरहरूप्रति पूर्ण विश्वास छ जुन किसिमले अगाडि कार्यक्रमहरू भइरहेको थियो त्यही किसिमले अगाडि बढाउने हो । हामी आउनेबित्तिकै यो परिवर्तन गर्ने केही हुँदैन, जुन किसिमको छ त्यही किसिमले कार्यक्रम अगाडि बढाइन्छ,’ उनले भने । उनले शिक्षा क्षेत्रमा बजेट कम रहेको गुनासो पहिलेदेखि आउने गरेको बताउँदै अब बढाउने आफ्नो प्रयास रहने बताए । ‘यही आर्थिक वर्षको बजेट बढाउन सकिन्छ कि सकिँदैन भन्ने कुरा तत्काल भन्न सकिँदैन,’ उनले भने, ‘आगामी आर्थिक वर्षको योजना बनाएर अगाडि बढ्न सकिन्छ ।’ मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा १० प्रतिशत बजेट पुर्याउनुपर्ने बताउँदै त्यसो हुन नसकेको उल्लेख गर्दै यो विषयमा अध्ययन गरेर काम गर्ने बताए । उनले विद्यालय र विश्वविद्यालयमा भएको राजनीति अन्त्य र नेपालका विश्वविद्यालय र अन्य देशका विश्वविद्यालयले गरेका राम्रा कामको सुरुवात गरिने पनि बताए ।
यूरोनेपाल ट्राभलद्वारा पोर्चुगलमा दक्षिण एसियाली लक्षित सस्तो हवाई टिकट सेवा सुरु
काठमाडौं । पोर्चुगलमा बसोबास गर्ने दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै यूरोनेपाल ट्राभलले सस्तो र सहज हवाई टिकट सेवा सुरु गरेको घोषणा गरेको छ । कम्पनीले नेपाल, भारत र बंगलादेशसहित विश्वका विभिन्न गन्तव्यका लागि टिकट बुकिङ सेवा उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार नयाँ अफर अन्तर्गत यात्रुहरूले प्रतिस्पर्धी मूल्यमा अन्तर्राष्ट्रिय उडान टिकट प्राप्त गर्न सक्नेछन् । 'जहाँ हरेक यात्रा विश्वासबाट सुरु हुन्छ' भन्ने नारासहित कम्पनीले ग्राहक सेवा, विश्वसनीयता र सहज पहुँचलाई प्राथमिकतामा राखेको निर्देशक निरज गोतामेले जानकारी दिए । निर्देशक गोतामेका अनुसार उनी लामो समय डेनमार्कमा इकोनोमिक्समा मास्टर अध्ययन पूरा गरी पोर्चुगल आएर उक्त व्यवसाय सुरु गरेका हुन् । विदेशमा अध्ययन र अनुभव हासिल गरेपछि दक्षिण एसियाली समुदायलाई लक्षित सेवा दिने उद्देश्यले कम्पनी स्थापना गरिएको उनले बताए । यूरोनेपाल ट्राभलको आधिकारिक वेबसाइटमार्फत टिकट बुकिङ प्रक्रिया सहज बनाइएको छ । विभिन्न एयरलाइन्सका उडान विकल्पहरू एकै ठाउँबाट उपलब्ध गराउँदै यात्रुहरूलाई आफ्नो आवश्यकता अनुसार विकल्प छनोट गर्न सक्ने सुविधा दिइएको कम्पनीले जनाएको छ । लिस्बनको आर बाराउँ दे साब्रोसा क्षेत्रमा रहेको कार्यालयबाट सञ्चालन भइरहेको यस सेवाले एयर टिकटिङसँगै होटल बुकिङ, टुर प्याकेज, व्यक्तिगत यात्रा योजना निर्माण, भिसा सेवा तथा डकुमेन्टेसनजस्ता सुविधा पनि प्रदान गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले २४/७ ग्राहक सहायता, अनलाइन तथा फोनमार्फत बुकिङ सुविधा उपलब्ध गराएको छ, जसले यात्रुहरूलाई अझ सहज र छिटो सेवा प्राप्त गर्न मद्दत पुर्याउने बताइएको छ । पछिल्लो समय पोर्चुगलमा नेपाली, भारतीय तथा बंगलादेशी समुदायको संख्या बढ्दै गएको सन्दर्भमा यस्तो लक्षित सेवा उपयोगी हुने अपेक्षा गरिएको छ । विशेषगरी विदेशमा रहेका श्रमिक तथा विद्यार्थीहरूका लागि सस्तो र भरपर्दो टिकट सेवाले यात्रा व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ । निर्देशक गोतामेले इच्छुक यात्रुहरूलाई सिधै सम्पर्क गरी आफ्नो यात्रा योजना अनुसार टिकट बुक गर्न आग्रह गरेका छन् । यस पहलले पोर्चुगलस्थित दक्षिण एसियाली समुदायको यात्रा आवश्यकतामा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
एनएमबि बैंकद्वारा सुर्खेतमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण
काठमाडौं । एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको 'अपाङ्गता रूपान्तरण तथा पुनर्स्थापना साझेदारी कार्यक्रम' अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरु वितरण गरिएको हो । कार्यक्रम भेरिगङ्गा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुबेदी लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु ५ लाख सहयोग प्रदान गरेको छ। एनएमबि बैंक हाल देशभरि २०२ शाखा, १८४ एटिएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।