वनस्पति अध्ययन मात्र होइन, अब घुमफिरको गन्तव्य पनि बन्यो वृन्दावन उद्यान
बागमती । हेटौँडा उपमहानगरपालिका–१२ स्थित वनस्पति अनुसन्धान केन्द्र मकवानपुरअन्तर्गतको वृन्दावन वनस्पति उद्यान आन्तरिक तथा बाह्य पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागअन्तर्गत लोपोन्मुख वनस्पतिको खोज, अनुसन्धान र संरक्षण गर्दै आएको वनस्पति अनुसन्धान केन्द्रद्वारा संरक्षित वृन्दावन वनस्पति उद्यानमा अध्ययन, भ्रमण र अवलोकनका लागि पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । पर्यावरणीय सुन्दरता, चराचुरुङ्गीको धुन, आनन्ददायी वातावरणका कारण पछिल्लो समय सो उद्यानमा अध्ययन, अवलोकन र भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हेटौँडा–१२ पदमपोखरी निवासी सुमन लामाले बताए । 'पहिलापहिला यहाँ वन विज्ञानसम्बन्धी अध्ययन गर्ने विद्यार्थीमात्र आउँथे', लामाले भने, 'तर अहिले विद्यार्थीसँगै घुम्ने र सुन्दर बगैँचाको अवलोकन गर्ने पर्यटकसमेत आउन थालेका छन् ।' वनस्पति उद्यानभित्रको वनस्पति र रङ्गीचङ्गी फूलसँगै चराचुरुङ्गीको स्वरले पर्यटकलाई लोभ्याइरहेको लामाको कथन छ । 'अहिले दैनिक ५० देखि १०० जनासम्म पर्यटक वनस्पति उद्यानभित्र घुम्ने गरेका छन्', वनस्पति अनुसन्धान केन्द्रका कर्मचारी जयराम दाहालले भने, 'शनिबार र सार्वजनिक बिदाको दिन भने २०० देखि ३०० सम्म पर्यटक आउने गर्दछन् । अध्ययनसँगै वनस्पतिभित्र घुमफिर गर्ने, टिकटक बनाउने र फोटो खिच्नेहरूको बढी आकर्षण देखिन्छ', उनले भने । वनस्पतिभित्र आउने पर्यटकहरूका लागि टिकटको व्यवस्थापन गरिएको छ । वनस्पति क्षेत्रमा अध्ययन र अवलोकन गर्न आउने नेपाली विद्यार्थीका लागि रु १० र बाह्य देशका विद्यार्थीका लागि रु ५० निर्धारण गरिएको छ । प्रमुख पौडेलका अनुसार वनस्पतिभित्र घुम्न आउने आन्तरिक पर्यटकका लागि रु २५, सार्क राष्ट्रका पर्यटकका लागि रु १०० र अन्य मुलुकका पर्यटकका लागि रु २५० तोकिएको छ । केही समयअघिसम्म उद्यान वन विज्ञान (फरेस्टी), वनस्पति विज्ञान (बोटानी), फार्मेसी र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मा अध्ययन गर्ने विद्यार्थी शैक्षिक भ्रमण अध्ययनका लागि आकर्षणको केन्द्र बनेको सो केन्द्र अहिले हरेक किसिमका पर्यटकको आकर्षण बढेको छ । उद्यानभित्र गत २०७८ सालदेखि सेरेमोनियल प्लान्टेसन प्लटको अवधारणा विकास गरिएको छ । वनस्पतिभित्र घुम्न आउनेलाई लोभ्याउन उद्यानभित्र नयाँ ढाँचाको ‘थिमेटिक गार्डेन’ बनाउन करिब एक हेक्टरभन्दा बढी जग्गामा सम्मानित वृक्षरोपण गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख हरिराज पौडेलले बताए । 'वनस्पति उद्यानभित्र खाली रहेको जग्गामा रुद्राक्ष, सीता, अशोक, पिपल, छतिवन, चिउरी, अमला, बर, समी, कपुर, कटहर, बेल, राजवृक्ष, कमद, निम, अर्जुन, आँप, जमुना, श्रीखण्ड, चाप, तेजपात, अङ्गस्ती, दार, दर्रो, इमली, सुगन्ध कोकिलालगायत बिरुवा रोपेका छौँ', प्रमुख पौडेलले भने, 'उद्यानमा ६५० भन्दा बढी प्रजातिका वनस्पतिको वंशाणु स्रोत संरक्षित छन् ।' जिल्लाभित्रका एवं चुरे क्षेत्रका विभिन्न स्थानबाट वनस्पति सर्वेक्षण, सङ्कलन गरी पहिचान गर्ने र वनस्पतिको हर्वरियम नमूना संरक्षित गर्ने कार्य हामीले गर्दै आएका छौँ, प्रमुख पौडेलको भनाइ छ । वनस्पति अनुसन्धान केन्द्र हेटौँडाअन्तर्गत तीनवटा वनस्पति उद्यान छन् । जसमध्ये हेटौँडास्थित वृन्दावन वनस्पति उद्यानमा ४१५ प्रजाति, टिस्टुङ वनस्पति उद्यानमा २०५ र पर्वतीय उद्यान दामनमा २०८ प्रजातिका वनस्पति संरक्षण गरिएको प्रमुख पौडेलले बताए । वनस्पति अध्ययन केन्द्रले विभिन्न आदिवासी तथा जनजातिले प्रयोग गर्दै आइरहेको वनस्पतिको अभिलेखीकरण गर्ने, वनस्पति प्रयोग र संरक्षणबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका साथै बिरुवा उत्पादन गरी वितरण गर्ने, विभिन्न सामग्री प्रकाशन गरी वितरण गर्ने, नयाँ वनस्पतिको खोज र अनुसन्धान गर्ने, पर्यापर्यटन अभिवृद्धि गर्नेलगायत कार्य गर्दै आएको प्रमुख पौडेलले बताए । उनका अनुसार वनस्पति अनुसन्धान केन्द्रले वनस्पति सम्पदाको विस्तृत सर्वेक्षण, सङ्कलन तथा पहिचान गर्ने, वनस्पतिको वंशाणु स्रोत संरक्षण गर्ने, जडीबुटीसम्बन्धी अध्ययन, अनुसन्धान गरी खेती प्रविधि विकास गर्ने, सुगन्धित तेलयुक्त वनस्पतिको तेल प्रतिशत परीक्षण गर्ने, प्राविधिक दृष्टिले फाइदाजनक जडीबुटीको सूचना प्रवाह गर्ने, परम्परागत वनस्पति उपयोगसम्बन्धी अध्ययन, अनुसन्धान गरी वनस्पति तथा जैविक स्रोतको उपयोगसम्बन्धी ज्ञानलाई अभिलेखीकरण गर्ने र जडीबुटीको बिरुवा उत्पादन तथा वितरण गर्ने दायित्व पूरा गर्दै आएको छ । अहिले आफूहरू जडीबुटीको गुणस्तरीय बिरुवा उत्पादन गर्ने, जडीबुटीखेती प्रविधि विकास गरी प्राविधिक सीप हस्तान्तरण गर्ने, जडीबुटी प्रजातिका बासस्थान संरक्षण तथा व्यवस्थापन गर्ने कार्यमा जुटेको प्रमुख पौडेलको कथन छ । दुर्लभ, लोपोन्मुख तथा सङ्कटापूर्ण अवस्थामा रहेका महत्त्वपूर्ण जडीबुटीसम्बन्धी समसामयिक अध्ययन, अनुसन्धान गरी स्थानीय जनसमुदायलाई जडीबुटीखेतीतर्फ आकर्षित गर्ने योजना बनाएर अघि बढ्को प्रमुख पौडेलले बताए । रासस
एआईले रोजगारी घट्ने होइन, नयाँ अवसर बढ्छन्: डा. दाहाल
काठमाडौं । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभाव विश्वव्यापी रूपमा विस्तार भइरहेको छ । एआईको बुहआयामिक प्रयोगबाट वैश्विक रूपान्तरणको युग सुरु भइसकेको जानकारहरू बताउँछन् । एआईको विस्तारसँगै यसको उपयोग र प्रभावबारे चासो बढिरहेका बेला सूचना प्रविधि र एआईको क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनमा काम गर्दै आएका वैज्ञानिक डा. परशुराम दाहालले एआईले विकास र नवप्रवर्तनको नयाँ युग सुरुआत गरिरहेको बताए । एआईलाई मानिसजस्तै सोच्न, सिक्न र निर्णय गर्न सक्ने कम्प्युटर प्रणालीका रूपमा व्याख्या गर्दै यसले स्वास्थ्य, शिक्षा, कृषि र व्यवसायलगायत दैनिक जीवन सहज बनाइरहेको उनको भनाइ छ । दाहालका अनुसार विश्वमा एआईको विकास स्वचालन, डेटा विश्लेषण र निर्णय प्रक्रियालाई अझ प्रभावकारी बनाउने दिशातर्फ उन्मुख छ । दीर्घकालमा यसले उत्पादन बढाउनुका साथै नयाँ अवसर सिर्जना गर्ने डा दाहालको विश्वास छ । ‘एआईले केही परम्परागत रोजगारी घटाउन सक्छ, तर नयाँ सीप र प्रविधिमा आधारित अवसरहरू पनि उत्तिकै सिर्जना हुन्छन् । भविष्यमा एआई अत्यन्त उपयोगी हुनसक्ने अवस्था बन्दैछ । उत्पादन, कृषिको आधुनिकीकरण, स्वास्थ्य सेवा सुधार, विपद् व्यवस्थापन, शिक्षालगायतको क्षेत्रमा यसको प्रयोगको सम्भावना धेरै छ,’ उनले भने । डा. दाहालले एआईका लागि डेटा सबैभन्दा आधारभूत स्रोत भएको बताए । उनले नेपालमा गुणस्तरीय, विश्वसनीय र व्यवस्थित डेटाको अभाव ठूलो चुनौतीका रूपमा रहेको औँल्याए । डेटा सङ्कलन, सुरक्षित भण्डारण र प्रभावकारी प्रयोगका लागि आवश्यक नीति, प्रविधि र संस्थागत संरचना विकास नभए एआईको सम्भावना पूर्ण रूपमा उपयोग हुन नसक्ने उनको भनाइ छ । ‘व्यवस्थित डेटाको उपलब्धता, पूर्वाधारको कमी, दक्ष जनशक्तिको अभाव र स्पष्ट नीतिगत ढाँचाको अभाव एआईको लागि हालको मुख्य चुनौती हो,’ डा. दाहालले भने । सरकारले सूचना प्रविधि र एआईको विकासमा दीर्घकालीन रणनीति, लगानी वृद्धि, अनुसन्धान प्रवर्द्धन तथा डेटा सुरक्षासम्बन्धी स्पष्ट नीति ल्याउनुपर्नेमा उनले जोड दिए । साथै, एआईको प्रयोगसँगै व्यक्तिको डेटा गोपनीयता, गलत सूचना र नैतिकताका विषयमा सचेत रहनुपर्ने आवश्यकता औंल्याए । विदेशमा बसेर अध्ययन र अनुसन्धानका क्षेत्रमा योगदान पुर्याउँदै आएको वैज्ञानिक दाहालले युवापुस्तालाई लक्षित गर्दै नयाँ सीप सिक्न, जिज्ञासा बढाउन र प्रविधिलाई सकारात्मक रूपमा उपयोग गर्न आग्रह गरे ।
अब ब्रिजकोर्सका कक्षा सञ्चालन गर्न नपाइने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार आगामी १ वैशाखदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको हो । मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिन्छ ।’