पाल्पा सिमेन्टको २ लाख ८१ हजार कित्ता सेयरको लकइन अवधि सकिँदै
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लकइन अवधि सकिँदैछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँट गरेको २ लाख ८१ हजार २५० कित्ता साधारण सेयरको लकइन अवधि भदौ २८ देखि सकिने जनाएको छ । कम्पनीको जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । त्यसमध्ये उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र खानी रहेको क्षेत्र पाल्पाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात् १८ लाख ७५ हजार कित्ता सेयर छुट्याइएको थियो । बाँकी १५ प्रतिशत अर्थात् ५६ लाख २५ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १० प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको थियो । त्यस्तै, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ८१ हजार २५० कित्ता सेयर छुट्याइएको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषका योजनालाई बाँडफाँट गरिएको सेयर सार्वजनिक निष्कासन गरी बाँडफाँट भएको मितिले ६ महिनासम्म लकइन राख्नुपर्ने व्यवस्था रहेको जनाएको छ । सोहीअनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको सेयरको लकइन अवधि भदाै २८ गते समाप्त हुने कम्पनीले जानकारी गराएको छ ।
लक्ष्मी लघुवित्तको नाफामा १२६ प्रतिशत उछाल, लाभांश क्षमता २०.१६ प्रतिशत
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२÷८३ मा खुद नाफा १२६.३९ प्रतिशत बढेर १० करोड ६८ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा लघुवित्तले ४ करोड ७२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवमा लघुवित्त संस्थाले ५० करोड ६५ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ४८ करोड १ लाख ३३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा लघुवित्तले ५ करोड ६५ लाख ४४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५६ करोड ५८ लाख ६६ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १५ करोड २४ लाख ४ हजार रुपैयाँ सञ्चालन नाफा रहेको छ । अघिल्लो वर्ष लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी, ५२ करोड ८७ लाख ५९ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र ३ करोड २४ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । लघुवित्तको वितरणयोग्य नाफा ८ करोड ९० लाख ३७ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको लाभांश क्षमता २०.१६ प्रतिशत पुगेको छ । ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ३७ करोड १० लाख १ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १०.४५ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) गत वर्ष बढेर ११.९४ प्रतिशत पुगेको लघुवित्तले जनाएको छ । गत असारसम्म लघुवित्तको निक्षेप २ अर्ब ८५ करोड ६८ लाख रुपैयाँ तथा सापटी ३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ र कर्जा लगानी ६ अर्ब ७ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष निक्षेप २ अर्ब ६० करोड ६० लाख रुपैयाँ तथा सापटी २ अर्ब ५६ करोड ९० लाख रुपैयाँ र कर्जा लगानी ५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ थियो । अघिल्लो वर्ष १०.६९ रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २४.२० रुपैयाँ पुगेको छ । यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ २०४.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८.०१ गुणा रहेको छ ।
नेप्सेमा झिनो सुधार, ४ अर्ब ११ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा पुगेको छ । मंगलबार बजारमा कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार अवधिमा ९५ लाख ३४ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् । कुल ३४० कम्पनीको सेयर कारोबार भएकोमा १३३ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १२२ कम्पनीको सेयर मूल्य घट्दा २० कम्पनीको मूल्य स्थिर रहेको छ । कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर (एसओएचएल) शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनी (आरआईडीआई) को ३३ करोड ६७ लाख रुपैयाँ, न्यादी हाइड्रोपावरको १७ करोड ८६ लाख रुपैयाँ र खानीखोला हाइड्रोपावरको १३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार युनाइटेड हाइड्रोपावर लिमिटेड (यूएलएचसी) का लगानीकर्ता सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर ४३६.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आरबीबीडी २०८८ को सेयर मूल्य ५.९२ प्रतिशत, एलयूकेको ५.२७ प्रतिशत, हिमस्टारको ३.७४ प्रतिशत र यूएचईडब्ल्यूएको ३.६० प्रतिशतले बढेको छ । मंगलबार नेप्सेमा ठूलो उतारचढाव देखिएन । परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ । दिनभर कुल ५२ हजार ३३ वटा कारोबार भएका छन् ।