गरिमा समृद्धि योजनाले लाभांश नदिने
काठमाडौं । गरिमा विकास बैंक प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत सञ्चालित बन्दमुखी योजना गरिमा समृद्धि योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण नगर्ने भएको छ । योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण स्वीकृत गरेको छ । बैठकले योजनाका इकाइधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले योजनाको आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरण स्वीकृत गरेको हो ।
रिलायबल समृद्धि योजनाले ८.४२ प्रतिशत नगद लाभांश दिने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापकको साउन २८ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित कोषबाट इकाइधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार करसहितको उक्त लाभांश रकम १० करोड १० लाख ५२ हजार ६३१ रुपैयाँ ५८ पैसा बराबर हुनेछ । लाभांश वितरण प्रयोजनका लागि भदौ १० गते एक दिन इकाइधनी दर्ता किताब (बुक क्लोज) गर्ने निर्णय भएको छ । जसअनुसार भदौ ९ गतेसम्म कायम रहेका इकाइधनीले प्रस्तावित नगद लाभांश पाउनेछन् ।
राष्ट्रिय वाणिज्य बैंकको नाफा ४.५५ अर्ब, लाभांश क्षमता ६.८९ प्रतिशत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा ६०.६८ प्रतिशत बढेर ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १७.८५ प्रतिशत बढेर ११ अर्ब ९६ करोड ६१ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १० अर्ब १५ करोड ३९ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६३ करोड ४२ लाख ४२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५ अर्ब ५ करोड ६६ लाख ५७ हजार रुपैयाँ र सञ्चालन नाफा ६ अर्ब ४७ करोड ५३ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकले खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५० करोड ८४ लाख १९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १३ अर्ब १८ करोड ५५ लाख ८७ हजार रुपैयाँ र सञ्चालन नाफा ३ अर्ब ९४ करोड २० लाख २४ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता ६.८९ प्रतिशत रहेको छ । १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३९ अर्ब ३७ करोड ३५ लाख २२ हजार रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको निक्षेप संकलन ३७.११ प्रतिशत बढेर ६खर्ब ८६ अर्ब १३ करोड ५६लाख रुपैयाँ र कर्जा लगानी १३.५९ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब ८ करोड ३४ लाख रुपैयाँ प्रवाह गरेको छ । अघिल्लो वर्षको असारसम्म बैंकले ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९२ अर्ब ३३ करोड ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो । अघिल्लो वर्ष १०.२७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष बढेर २९.१४ रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ३.७९ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।