भार्गव विकास बैंकको ८५ हजार कित्ता सेयर लिलामीमा

काठमाडौं । भार्गव विकास बैंक लिमिटेडको संस्थापक र साधारण तर्फको गरी ८५ हजार २३१ कित्ता सेयरको लिलामी विक्री हुने भएको छ । बैंकले हकप्रद सेयरका लागि आवेदन खुला गर्दा विक्री नभएको यो सेयर शिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेकाे हाे । बैंकले संस्थापक समूहतर्फको ३२ हजार ४६६ र सर्वसाधारण समूह तर्फको ५२ हजार ७६५ कित्ता सेयर विक्री गर्न सूचना जारी गरेको छ । यो बैंकको सेयर खरिद गर्न न्युनतम १ सय रुपैयाँमा यही जेठ २६ गतेबाट असार २ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि उल्लेख छ । याे सेयरको विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।

बुटवल पावरले किन बढायो एफपीओको मूल्य?

काठमाडौं । बुटवल पावर कम्पनीले जारी गर्न लागेको एफपीओको मूल्य बढाएको छ । कम्पनीले धितोपत्र बोर्डबाट जारी गरिएको नयाँ निर्देशिका(धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४) बमोजिम जारी गर्न लागेको एफपीओको मूल्य बढाएको हो । कम्पनीले ४० लाख ८१ हजार कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु(एफपिओ)) निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ४१८ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ५१८ रुपैयाँमा एफपिओ निष्कासन गर्न लागेको हो । जुन रकम अघिल्लो निर्णय अनुसार ४८ रुपैयाँ बढी हो । यस अघि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको सेयरमा ३७० प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४७० रुपैयाँमा एफपिओ निष्कासन गर्ने निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड रुपैयाँ रहको छ । सो मात्राको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ८१ करोड ४६ लाख ८० हजार रुपैयाँ पुग्ने छ । मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६७७ रुपैयाँ रहेको छ ।

युनाईटेड फाइनान्सलाई २० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले यूनाईटेड फाइनान्सलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले ५ः१ अर्थात् २० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो । बोर्डको अनुमति अनुसार कम्पनीले १३ लाख ४५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १३ करोड ५४ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।