सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं, २१ असार । सुर्या लाइफ इन्स्योरेन्सले ४ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रक्रियाको लागि आउँदो असार २८ गते इन्स्योरेन्सको सेयर कारोबार बन्द हुने भएको छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी करिब ५० करोड रुपैयाँ रहेको छ । बजारमा उक्त इन्स्योरेन्सको सेयर करिब १२ सय भन्दा बढी रुपैयाँमा किनबेच भइरहेको छ ।
साढे ११ करोडको हकप्रद सेयर जारी गर्दै युनाइटेड फाइनान्स
काठमाडौं, १३ असार । युनाइटेड फाइनान्स लिमिटेडले साढे ११ करोड मुल्य बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चार कित्ता साधारण सेयर बराबर एक कित्ताको अनुपातमा एक सय रुपैंया मुल्य अंकित ११ लाख ५९ हजार ८ सय ३६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यो हकप्रद सेयर असार ३० गतेबाट निष्काशन आरम्भ हुनेछ भने भदौ १ गते निष्काशन बन्द हुनेछ । ४६ करोड ३९ लाख चुक्ता पुँजी रहेको युनाइटेड फाइनान्सले पुँजी वृद्धिको योजना अनुसार हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरको निष्काशकमा नविल इन्भेष्टमेन्ट बैंकिङलाई तोकिएको छ । युनाइटेड फाइनान्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ७ करोड नाफा कमाएको थियो । कम्पनीको प्रति सेयर नेटवर्थ १४० रुपैंयाँ २१ पैसा रहेको छ भने प्रति सेयर आम्दानी २१ रुपैंयाँ ३८ पैसा रहेको छ ।
दिब्यश्वरी हाइड्रो पावरको ३ करोड ९६ लाखको सेयरका लागि आवेदन खुल्यो
काठमाडौं, ६ असार । दिव्यश्वरी हाइड्रो पावर लिमिटेडको तीन करोड ९६ लाख रुपैंयाँ बराबरको साधारण सेयरका लागि आवेदन खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैंयाँ मुल्य अंकित तीन करोड ९६ लाख रुपैंयाँ बराबरको सेयर निष्काशन गरेको हो । सो मात्रामा साधारण सेयर निष्काशन गर्ने सम्बन्धी कम्पनीको प्रस्तावलाई नेपाल धितो पत्र बोर्डले जेठ ३२ गते स्विकृति दिएको थियो । दिब्यश्वरीले असार १३ गतेदेखि २७ गतेसम्मका लागि सेयर आवेदन खुल्ला गरेको हो । एस क्यापिटल मार्फत सेयरको आवेदन दिन सकिनेछ । दिब्यश्वरीले संखुवासभा जिल्लामा ४ मेगावाटको सबखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले केहि समय पहिले मात्रै आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गरेको थियो ।