हिमालयन बैंकको ६४ लाख कित्ता हकप्रद सेयर आउँदै, धितोपत्र बोर्डले दियो निष्काशन अनुमति
काठमाडौं, १४ असोज । हिमालयन बैंकले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । बैंकले ७ कित्ता बराबर एक कित्ताको अनुपातमा ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले असोज १२ गते हिमालयन बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । हिमालयन बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा एक अर्ब ९१ करोड नाफा कमाएको थियो । चार अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ ।
सेयर बजारमा सामान्य अंकको सुधार, ८१ करोडको करोबार, ३ कम्पनीको सेयर मूल्य १० प्रतिशले बृद्धि
काठमाडौं, १३ असोज । बुधबार घटेको सेयर बजार बिहीबार भने सामान्य अंकले सुधार भएको छ । बिहीबार नेप्से परिसूचक ४ दशमलब २८ अंकले बढेर १७५३ अंकमा पुगेको छ । सो दिन १४२ कम्पनीको ९२ लाख ६९ हजार कित्ता सेयर ८१ करोड २४ लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ । बिहीबार बैंक अफ काठमाडौं लुम्बिनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । सो दिन कारोबार भएका ८ समूह मध्ये ३ समूहको परिसूचक उकालो लागेका छन् भने अन्य समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक, बैंकिङ् र होटल समूहको परिसूचक क्रमशः १८, १२ र ६ अंकले बढेका हुन् । बीमा र विकास बैंकको क्रमशः १९ र १८ अंकले घटेका छन् भने अन्य बाँकी समूहको सूचक सामान्य २ अंकले घटेको छ । बिहीबार नेपाल बङ्गलादेश बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको ४ करोड र एभरेष्ट बैंक, शिखर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंकको प्रति कम्पनी करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
२ अर्ब ९६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, ९ लाख कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं, १३ असोज । बिहीबार मात्र २ अर्ब ९६ लाख ६२ हजार ०६१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिटिजन बैंकको १ करोड ६८ लाख कित्ता सेयर र प्रभु बैंकको ६४ लाख १७ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, स्टान्डार्ड चाटर्ड बैंकको ५६ लाख ४२ हजार कित्ता सेयर र रिलायन्स फाइनान्सको ७ लाख ४२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन फेवा विकास बैंकको ९ लाख ४६ हजार ६७७ कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब फेवा विकास बैंकको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।