माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतो बाहिरिँदै

काठमाडौं । माछापुच्छ्रे बैंकका सबैभन्दा ठूला सेयरधनी हुन्, सुरेन्द्र महतो । वार्षिक प्रतिवेदन अनुसार बैंकमा महतोको सेयर स्वामित्व १०.९५ प्रतिशत अर्थात् १ अर्ब १२ करोड ३२ लाख ४९ हजार रुपैयाँ रहेको छ । तर, महतोले आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण सेयर बिक्री गरेर बैंकबाट बाहिरिने निर्णय गरे । बैंकको संस्थापक समेत रहेका महतोले आफ्नो स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका हुन् । महतोको उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बोलपत्र पेश गर्नु पर्नेछ । यदि उक्त समयमा आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । इच्छुक सेयरधनीहरुले सेयर बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा बोलपत्र पेश गर्नु पर्नेछ ।

पाँच तारा सहकारीले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं दिने घोषणा गरेको छ । सस्थाको १६ औं साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयर सदस्यहरुलाई नगद दिने घोषणा गरेको हो । संस्थाको गत आर्थिक वर्षको असार मसान्तसम्म ८ करोड ११ लाख रुपैयाँ शेयरपुँजी, ५ करोड ८६ लाख रुपैँया साधारण जगेडा कोष र ५२ करोड ५३ लाख ७९ हजार रुपैयाँ बचत संकलन गरी ६५ करोड ५६ लाख २३ हजार ऋण लगानी गरेको छ । संस्थाले गत आ.व.मा खुद नाफा १ करोड २२ लाख २५ हजार गरेको छ । सभाले शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोषबाट समेत गरी सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । संस्थामा २११४ सदस्य आवद्ध रहेका छन् । संस्थामा आवद्ध कुल सदस्यमध्ये १५२० जनाले मासिक बचत गर्दै आएका छन् ।

व्यवसाय खस्किएपछि सूचीकृत कम्पनीको लाभांश दर घट्यो

काठमाडौं । पछिल्लो तथ्याङ्क अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये ११ वटा बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । हालसम्म ६ वटा वाणिज्य बैंक, २ वटा लघुवित्त वित्त, एक/एक वटा विकास बैंक, जलविद्युत कम्पनी र होटल सेक्टरका कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । वाणिज्य बैंकहरुमध्ये सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र मछापुच्छ्रे बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यस्तै, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ओरियन्टेल होटल, सानिमा माई हाइड्रोपावर, आरएसडिसी लघुवित्त र युनिक नेपाल लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । तर, घोषणा गरेका अधिकांश कम्पनीहरुको लाभांश दर भने अघिल्लो वर्षको तुलनामा घटेको छ । ११ वटा कम्पनीमध्ये ६ वटा कम्पनीको लाभांश दर घटेको हो । गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको सिद्धार्थ बैंकको लाभांश दर सबैभन्दा उच्च घटेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको लाभांश दर ६८ प्रतिशत घटेर ४.२१ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको हो । जबकी बैंकले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा सेयरधनीहरुलाई १३.१६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, तीन वर्षपछि घोषणा गरेको ओरियन्टल होटलको लाभांश दर ६६.६६ प्रतिशत गत वर्षको नाफाबाट ५.२६ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सिटिजन्स बैंकको पनि अघिल्लो वर्षको तुलनामा ३५.६६ प्रतिशत लाभांश दर घटेर ५.७९ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश हालसम्म कै कम हो । जबकी बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, विकास बैंकहरुमा सबैभन्दा पहिला घोषणा गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश दर २१.०७ प्रतिशत घटेर ११ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी बैंकले अघिल्लो वर्ष १४ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आरएसडिसी लघुवित्तको लाभांश दर १७.७० प्रतिशत घटेर ९.१ प्रतिशत मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी अघिल्लो वर्ष लघुवित्तले ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, एभरेष्ट बैंकको अघिल्लो वर्षको तुलनामा लाभांश दर ०.७२ प्रतिशत घटेर २०.५३ प्रतिशत मात्रै बाँड्ने भएको छ । अघिल्लो वर्ष बैंकले २०.६८ प्रतिशत लाभांश वितरण गरेको थयो । तीन कम्पनीको बढ्यो लाभांश वितरण गर्ने प्रस्ताव गरेका कम्पनीहरुमध्ये तीन कम्पनीको लाभांश दर भने बढेको देखिन्छ । जसमध्ये सानिमा माई हाइड्रोपावरको ९०.४७ प्रतिशत लाभांश दर वृद्धि भई ११ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ५.५२ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । यस्तै, तीन वर्षपछि लाभांश घोषणा गरेको एनआईसी एशिया बैंकको लाभांश दर ५२.६ प्रतिशत बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत मात्रै लाभांश वितरण गरेको बैंकले गत वर्ष भने बम्फर ३१ प्रतिशत प्रस्ताव गरेको छ । यस्तै, निरन्तर सेयरधनीहरुलाई मख्ख बनाउँदै आएको सानिमा बैंकको लाभांश दर ३३.८७ प्रतिशत वृद्धि भएर १५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । जबकी अघिल्लो वर्ष बैंकले १०.९८ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । माछापुच्छ्रे बैंकले भने अधिल्लो वर्ष जति नै गत वर्ष लाभांश वितरण गरेको हो । बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गरेको हो । अघिल्लो वर्ष पनि सोही दरमा लाभांश वितरण गरेको थियो । युनिक नेपाल लघुवित्तले यस वर्षदेखि सेयरधनीहरुलाई लभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले २० प्रतिशत लाभांश बाँड्ने जनाएको छ । एक लगानीकर्ताले आर्थिक मन्दीका कारण कम्पनीहरुको व्यवसाय खस्किएपछि लाभांश दर पनि घट्न पुगेको बताए । साथै, बैंकको ब्याजदर बढेका कारण कम्पनीहरुले कमाएको नाफा सबै प्रोभिजन राख्नमा ठिक्क हुने भएकाले लाभांश घटेको उनको भनाइ छ । ‘आर्थिक मन्दीले कम्पनीहरुले धेरै नाफा गर्न सकिरहेका छैनन्, उच्च ब्याजदर हुँदा कम्पनीहरुको नाफा ब्याज तिर्नमा ठिक्क भइरहेको छ, बैंकहरुलाई प्रोभिजन राख्दैमा ठिक्क छ, त्यसकारण लाभांश दर घटेको हो,’ उनले भने । उनका अनुसार विगतका वर्षहरुमा बुलिस ट्रेण्ड भएकाले लाभांश दर पनि राम्रो थियो । तर, राष्ट्र बैंकको कडाइका कारण कम्पनीहरुको व्यवसाय घटेको उनले बताए । कम्पनीहरुको लाभांश दर घटेपछि सेयर बजारप्रति लगानीकर्ताहरुको वितृष्णा जागेको उनको भनाइ छ । ‘सबै क्षेत्र प्यानिक भएपछि सेयर बजार मात्रै सुकिलो हुँदैन, अहिले सेयर बजार धेरै घटिसकेको छ, कम्पनीहरुको लाभांश दर घटेपछि सेयर बजारप्रति लगानीकर्ताहरुको वितृष्णा जागेको छ,’ उनले भने, ‘सेयर बजारले उत्साहित गर्न सकिरहेको छैन, जुन बेला सरकार गतिशिल र अर्थतन्त्र चलायमान हुन्छ, त्यसपछि लगानीकर्ताहरुको मनोबल बढ्दै जान्छ, अहिले अन्यौलता नै कायम छ ।’