कतिमा भयो हाथवे र माण्डू हाइड्रोको पहिलो कारोबार ?

काठमाडौं । बुधबारदेखि दोश्रो बजारमा हाथवे इन्भेष्टमेन्ट नेपाल र माण्डू हाइड्रोपावरको पहिलो कारोबार भएको छ । मंगलबार नेप्सेमा सूचीकृत भएसँगै दुबै कम्पनीको आजदेखि दोश्रो बजारको यात्रा शुरु भएको हो । नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा हाथवेको पहिलो कारोबार प्रतिकित्ता २८५.२० रुपैयाँमा र माण्डु हाइड्रोको प्रतिकित्ता ३७३.२० रुपैयाँमा भएको छ । स्पेशल प्रि सेसनमा भएको उक्त कारोबारमा दुबै कम्पनीको सेयर नेप्सेले ताकिदिएको रेञ्ज भित्र भएको छ । नेप्सेले हाथवेको पहिलो सेयर कारोबारको लागि ओपनिङ रेञ्ज न्यूनतम ९५.०९ रुपैयाँदेखि अधिकतम २८५.२७ रुपैयाँसम्म तोकिदिएको थियो । जसको नेप्से सिम्बोल भने एचएटीएचवाई रहेको छ । त्यस्तै, एमएएनडीयू सिम्बोल नम्बर तोकिएको माण्डु हाइड्रोको पहिलो कारोबारको लागि न्यूनतम १२४.४२ र अधिकतम ३७३.२६ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको थियो ।

२८० रुपैयाँमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ५ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमामा राखेको छ । कम्पनीको संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । बिक्रीमा राखिएको उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । कम्पनीको सेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । कात्तिक २ गतेसम्म बोलपत्र पेस गर्ने सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ता तुलाधरले ऋण नतिरेपछि लक्ष्मी सनराइज बैंकले राख्यो डेढ लाख कित्ता सेयर लिलामीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक (साविक सनराइज बैंक)ले सेयर कर्जा वापतको रकम चुक्ता नगरेपछि लगानीकर्ता वा ऋणी केशव तुलाधरको डेढ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले पटक पटक कर्जा चुक्ता गर्न ताकेता गरेपनि तुलाधरले आनाकानी गरेपछि धितो वापतको सेयर बिक्री गर्ने जनाएको छ । बैंकले लगानीकर्ता तुलाधरलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न समय तोकेको छ । यदि उक्त समयभित्र साँवा, ब्याज, पेनाल ब्याज र अन्य दस्तुर चुक्ता नगरे धितोमा राखिएको सेयर लिलामीमा बिक्री गर्ने बैंकले जनाएको छ । सृजना तुलाधर जमानीकर्ता रही केशव तुलारले आफ्नो विभिन्न कम्पनीको १ लाख ३७ हजार ९२६ कित्ता सेयर धितो राखेर कर्जा लिएका थिए । बैंकका अनुसार ऋणी तुलाधरले ३ कम्पनीको संस्थापक र १६ कम्पनीको संस्थापक सेयर धितो राखेका थिए । बैंकका अनुसार साधारण सेयरतर्फ सेन्ट्रल फाइनान्सको २ हजार ८०४ कित्ता, छ्याङ्दी हाइड्रोपावरको ३ हजार ४५० कित्ता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ७८१ कित्ता, ग्लोबल आइएमई बैंकको ७८२ कित्ता, कुमारी बैंकको १ हजार ८२९ कित्ता र मिथिला लघुवित्तको १ हजार २८७ कित्ता सेयर रहेको छ । त्यस्तै, मल्टीपर्पस फाइनान्सको ६ हजार ७८० कित्ता, नेको इन्स्योरेन्सको २ हजार ३३९ कित्ताँ, नेपाल बैंकको २ हजार ६६५ कित्ता, नेपाल लाइफको २ हजार ६२२ कित्ता, प्राइम बैंकको २४९ कित्ता, रिलायन्स लाइफको २ हजार ६८५ कित्ता, साना किसान विकास लघुवित्तको १९६ कित्ता, सानिमा बैंकको ५३९ कित्ता, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ३ हजार १४१ कित्ता र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ हजार १९२ कित्ता सेयर लिलामी गर्ने बैंकले जनाएको छ । त्यस्तै, संस्थपाक सेयरतर्फ गुडविल फाइनान्सको ६८ हजार १७८ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २७ हजार ६९ कित्ता र नेपाल लाइफ इन्स्योरन्सको ८ हजार ७१८ कित्ता सेयर बिक्री गर्ने बैंकको भनाइ छ ।